आर्थिक अवस्थाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

Read Time = 2 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नवप्रवर्तन उद्यम प्रोत्साहनलगायतका विषयमा छलफल भएको छ । सिएनआई अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको हो ।

उसले मुलुकको पछिल्लो आर्थिक अवस्था र सुधार्न चालिनुपर्ने कदम, बजेटको सफल कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । त्यस्तै लगानीयोग्य रकम अभाव र समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत् सम्बोधन गर्नुपर्ने विषय, विदेशी विनिमय सञ्चिति, लगानी प्रवद्र्धन गर्न तत्काल एवं दीर्घकालीनरूपमा लिइनुपर्ने नीति, विश्वव्यापीरूपमा देखिएको इन्धन संकट र त्यसले देशको अर्थतन्त्रमा पारेको असरका बारेमा पनि छलफल भएको सिएनआईले जनाएको छ ।

सिएनआई अध्यक्ष अग्रवालले तरलता अभावका कारण नयाँ उद्योग, लगानी विस्तार हुन नसकिरहेको अवस्था एवं तरलता समस्या समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत् सम्बोधन गरिनुपर्ने विषयबारे ध्यानाकर्षण गराउनुका साथै आगामी भदौ २३ र २४ गते हुने पूर्वाधार सम्मेलनलगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री देउवाले सिएनआईले उठाएका विषयलाई गम्भीररूपमा लिँदै सकारात्मक सम्बोधन गर्ने आश्वासन दिनुभएको सिएनआईले जनाएको छ । सो अवसरमा सिएनआईका पूर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डे, महानिर्देशक दिपकराज जोशी, परिसंघ युवा उद्यमी मञ्चका पूर्वअध्यक्ष च्याङ अग्रवाललगायतको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?