गाउँपालिका केन्द्रमै खानेपानीको हाहाकार

हिमालय टाइम्स
Read Time = 4 mins

मुगु । मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाको पालिका केन्द्रमै खानेपानीको समस्या छ । गाउँपालिकाको वडा नम्बर ६ का बासिन्दालाई अहिले पनि खानेपानीका लागि हाहाकार बेहोर्नुपरेको हो । सोरु गाउँपालिकाको सोरुकोट पालिका केन्द्रका दलित र गैरदलितका करिब ५० भन्दा बढी घरधुरीका बासिन्दाहरूले वर्षौंदेखि पानीका लागि गतिलोसँग प्यास मेटाउन पाएका छैनन् ।

सोरुकोटमा गाउँपालिका केन्द्र भएको ६ वर्ष पुगिसकेको छ । सत्ता फेरिए पनि सोरुकोटवासीले आफ्नो अवस्था नफेरिएको गुनासो गरेका छन् । निर्वाचनका बेला नेताहरूले खानेपानीलाई चुनावी नारा बनाउने गरेका छन् । अहिलेसम्म पनि गाउँपालिकाको केन्द्र सोरुकोटमा आवश्यकताअनुसारको खानेपानी उपभोग गर्न नपाएको सोरुकोटमा पसल व्यवसाय गर्दै आउनुभएकी कविता शाहीले बताउनुभयो ।

सोही टोलकी कमली मल्ल घर नजिकैको धारापानीले वस्तुभाउलाई खान त परै जाओस् आफूहरूका लागि करिब एक घण्टा लगाएर खानेपानी उपभोग गरिरहेको उहाँ सुनाउनुहुन्छ । ‘करिब ५० भन्दा बढी घरधुरीले उपभोग गर्दै आइरहेको एउटा धारो छ । त्यही पनि पानी कहिले चुहिन्छ भनेर पर्खाइमा बस्ने गरेका छौँ । धारामा पानी नआए हामीहरूलाई बिहानबेलुका छाक टार्न पनि समस्या हुन्छ,’ उहाँले भन्नुभयो ।

धारोमा पानी नआए एक घण्टा समय लगाएर सोरुकोट गाउँको तलपट्टि जडेपानी, धुपी गाउँ गएर पानी बोक्नुपर्ने समस्या रहेको मल्लको भनाइ छ । डोकोमा गाग्री बोकेर पानी ल्याउने, उनीहरूको लुगा धुने, नुहाउने थलो पनि त्यही एक धारामात्रै रहेको छ । सोरुकोटमा पानी पनि बिहान ६ बजेदेखि ८ बजेसम्म आउँछ भने साँझ त्यही ५ बजेबाट एक–दुई घण्टा आउँछ ।

सोरुकोट गाउँमा तीनवटा धारा छन् । तर, पानी झर्दैन । एक गाग्री पानी लिन धारामा घण्टौं कुर्नुपर्छ । त्यसमा पनि पालो कतिबेला आउँछ भन्ने निश्चित नै हुँदैन । नेताहरूले चुनावका बेला बाटो निर्माण, खानेपानीलगायत योजनाका कुरा गरेर जनता फकाउनेमात्र काम गरेको स्थानीय बताउँछन् ।

पालिकाका अध्यक्ष धर्मबहादुर शाहीका अनुसार समग्र सोरुवासीको मुहार फेर्नका लागि बृहत् खानेपानी आयोजना भइरहेको उहाँले बताउनुभयो । यो आयोजनाले यहाँका स्थानीयले सहजैरूपमा खानेपानी उपभोग गर्न पाउने अध्यक्ष शाहीको भनाइ छ । टेन्डर प्रक्रिया पनि अगाडि बढेको उहाँ बताउनुहुन्छ । सोरुकोटमा खानेपानीको हाहाकार भएपछि विशेष गरेर महिलालाई सास्ती हुने गरेको छ ।

सोरुकोटमा पानीको हाहाकार हुँदा महिनावारी भएका बेला महिलालाई सरसफाइदेखि लिएर लत्ताकपडा धुन पनि सास्ती हुने गरेको हो । महिनावारी भएका बेला समय–समयमा सरसफाइ गरिरहनुपर्छ भनेर चिकित्सकहरूले बताए पनि पानी अभावले सरसफाइमा समस्या हुने गरेको मल्लको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?