-डम्मर बुढा मगर
बागलुङ । आधुनिकताले गर्दा ग्रामीण क्षेत्रका मौलिक संस्कार, संस्कृति र प्रविधि लोपोन्मुख अवस्थामा पुगेका छन् । एक दशकअगाडिसम्म बागलुङको ग्रामीण क्षेत्रमा पानीघट्टको प्रयोग अत्यधिक थियो । अहिले पानीघट्ट भेट्याउनै गाह्रो भइसकेको छ । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत् सञ्चालन हुने मिल पुगेपछि पानीघट्टको प्रयोग घट्दै गएपछि लोप हुँदै गएको छ ।
गाउँलेहरूले पिसानी (अन्न पिस्ने काम) का लागि घट्ट भरपर्दो माध्यमका रूपमा प्रयोग गर्दै आइरहेकोमा पछिल्लो समय मिल नै यसको उचित विकल्प बनेको छ । खासगरी पानीघट्ट खोला तथा नदी किनारमा बनाइने गरिन्थ्यो । खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठूलो पाइपमार्फत् फिर्केसम्म झर्ने गरी बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गथ्र्यो ।
अहिले यो प्रचलन हराइसकेको छ । यस्ता पानीघट्टहरू ठाडो खोलाहरूमा पनि बनाइने गरेको पाइन्छ । अहिले यदाकदा पहिलेका घट्टहरू जीर्ण अवस्थामा देखिन्छन् । अहिलेसम्म पनि मिलको पहुँच नपुगेको ठाउँमा यसको प्रयोग हुने गरेको छ । तर, बागलुङका अधिकांश ठाउँमा मिल नै सञ्चालनमा आएका छन् । यसले मानिसहरूलाई सजिलो बनाइदिएको छ ।
ताराखोला गाउँपालिका–२ सिले गाउँका स्थानीयहरूले केही वर्षअगाडिसम्म पानीघट्टमै आटोपिठो पिसेर उपभोग गर्ने गर्थे । तर, अहिले गाउँमा दुई÷तीन ठाउँमा मिल सञ्चालनमा आएपछि घट्ट प्रयोगविहीन बनेको छ । प्रयोगविहीन बनेको घट्ट जीर्ण बनेको छ भने त्यसका पार्टपुर्जा पनि कामै नलाग्ने गरी बिग्रिएका छन् । मिलको बढ्दो प्रयोग हुन थालेपछि पानीघट्ट प्रयोग हुन छोडेको स्थानीय तमबहादुर घर्तीको भनाइ छ ।
उहाँले पहिले–पहिले पानीघट्टमा आटोपिठो पिस्ने गाउँलेहरूको घुइँचो लाग्ने गरेको भन्दै अहिले सबै मिलमै कुटानीपिसानीका लागि जाने गरेको बताउनुभयो । घर्तीले पहिले घट्टको विकल्पमा अरू माध्यम नभएको सुनाउँदै अहिले धेरै प्रविधिहरू भित्रिएको बताउनुभयो । ‘पहिले त पानीघट्टबाहेक अरू केही थिएन, कि घरमै जाँतोमा आटोपिठो पिस्नुपथ्र्यो, कि घण्टौँ लगाएर टाढाको मिलमा जानुपथ्र्यो, अहिलेको जस्तो गाउँमै मिलको सुविधा थिएन,’ घर्तीले भन्नुभयो, ‘अहिले त पानीघट्टको प्रयोग कममात्रामा हुन्छ, गाउँमै मिल बने, घट्टले भन्दा मिलले छिटो पिस्छ, त्यसले गर्दा मान्छेहरू जता छिटो हुन्छ उतै जान्छन्, पहिले चलेका घट्टहरू अहिले पुरानो भएर भत्किन थालिसके ।’
घट्टको प्रयोग घटेपछि घट्ट सञ्चालकहरू पनि मर्कामा परेका छन् । घट्टमा मकै, कोदो, गहुँ, फापर पिस्न आउनेहरूबाट एक/दुई माना उठाउने गर्थे । त्यहीबाट घट्ट सञ्चालकहरूले आफ्नो परिवार चलाउने गरेका थिए । अहिले गाउँलेहरू कुटानीपिसानीका लागि मिलमा जान थालेपछि घट्ट ठप्प भएको सञ्चालक नरबहादुर घर्तीले बताउनुभयो । उहाँले गाउँमा मिल सञ्चालनमा नआउँदा घट्टमा अन्न पिस्न आउनेहरूको घुइँचो लाग्ने गरेको भन्दै पछिल्लो समय घट्ट ठप्पै भएको बताउनुभयो ।
‘पहिलो मेरो घट्टमा गाउँले सबै आउने गर्थे, मकै, गहुँ, कोदो पिस्न आउनेको लाइन हुन्थ्यो, पालो कुरेर भए पनि पिसेर जान्थे, अहिले खाली भएर पनि कोही आउँदैनन्, मान्छे नै आउन छोडेपछि घट्ट अहिले जीर्ण बनेको छ, मर्मतसम्भार पनि गरेको छैन,’ उहाँले भन्नुभयो, ‘यहीबाटै परिवार पालेको थिएँ, अहिले सबै मिलमा जान्छन्, कोही आउँदैनन्, त्यसले गर्दा अब अरू नै पेसा गर्नुपर्ने अवस्था आएको छ ।’
घर्तीको जस्तै बागलुङ ग्रामीण क्षेत्रमा घट्ट चलाउनेहरूको व्यथा पनि उस्तै हो । अहिले गाउँका टोल–टोलमा विद्युतीय मिल छन् । त्यसले गर्दा उनीहरू समस्या परेका छन् । पानी र बिजुलीबाट चल्ने मिलका कारण विस्थापित भएका घट्ट सञ्चालकहरूले अहिले अरू व्यवसाय अंगाल्नुको विकल्प छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच