स्थानीय तहको निर्वाचन २०७९ मा घोराही उपमहानगरपालिकामा प्रमुखको जिम्मेवारी फेरि नरुलाल चौधरीलाई आएको छ । कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार हेमराज शर्मालाई पराजित गरी भारी मतले चौधरी दोस्रो कार्यकालका लागि नगर प्रमुखमा अनुमोदन हुनुभयो । घोराही उपमहानगरपालिकालाई समृद्धितर्फ लैजानका लागि फेरि उहाँ कटिबद्ध भएर लागिरहनुभएको छ । त्यसका लागि नीति तथा कार्यक्रमसँगै आगामी आर्थिक वर्षका लागि बजेटसमेत अनुमोदन भइसकेको छ । आगामी कार्यकालका लागि घोराही उपमहानगरपालिकाका प्राथमिकताका सन्दर्भमा हिमालय टाइम्स दाङ संवाददाता विवेक खड्काले घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीसँग गरेको कुराकानीको सारसंक्षेपः
तपाईंका मुख्य कुन–कुन विकासे एजेन्डाले फेरि विजयी बनायो जस्तो लाग्छ ?
जनताको मप्रतिको विश्वास, नरुलाल चौधरीले राम्रो गर्छ र फेरि पनि एक कार्यकाल विजयी बनायौँ भने अधुरा कामहरूलाई सम्पन्न गर्न सक्छ भन्ने नै होला । म पारदर्शी छु, इमानदार भएर जनताको सेवा गरेको छु । नगरलाई पाँच वर्षको अवधिमा चिनाउने दर्जनौँ कामहरू गरेको छु । नगरलाई अझ समृृद्ध र सुन्दर बनाउन एक कार्यकाल मेरो नेतृत्व मतदाताहरूले चाहनुभयो भन्ने लाग्छ । सडक पूर्वाधार, सिँचाइ, फोहोरको दिगो व्यवस्थापन, स्वास्थ्य शिक्षामा आमूल परिवर्तन गरेका छौँ । अघिल्लो कार्यकालमा गरेका कामहरूको संरक्षण, प्रवद्र्धन गर्दै कृषि, उद्यम, रोजगार, पर्यटन क्षेत्रहरूमा पनि परिवर्तन गरेर नगरवासीको आयआर्जनमा परिवर्तन ल्याउने योजना छ । समग्रमा नगरवासीले हामीले गरेका कामको राम्रोसँग मूल्यांकन गर्नुभएको छ । नगरवासीको अपेक्षाअनुसार सबै क्षेत्रमा काम गर्न नसकेका हौँला तर बिगार्ने र गलत ग¥यो भन्ने काम गरेका छैनौँ । हामीले इमानदार, पारदर्शी र जनताको सेवक भएर पाँच वर्ष बितायौँ र फेरि पनि मेरो उम्मेदवारीलाई जनताले अनुमोदन गर्नुभयो भन्ने लागेको छ ।
अघिल्लो कार्यकालका अधुरा कार्यक्रमलाई निरन्तरता दिँंदै हुनुहुन्छ वा यो कार्यकालमा तपाईंका खास–खास नयाँ योजनाहरू छन् ?
अघिल्लो कार्यकालमा हामीले नगरको विकास र समृद्धिका लागि विभिन्न कार्यक्रम तथा योजनाहरू अघि सारेका हौँ । त्यसको दिगोपनासँगै नयाँ कामको सुरुवात गरेर नमुना नगर बनाउने उद्देश्य लिएर हामी अघि बढेका छौँ । अबको पाँच वर्षमा हामीले थप दर्जनौँ नयाँ काम जो नगरवासीको दैनिकी र सरोकारसँग जोडिने गरी अघि बढाउने योजनामा छौँ । हामीले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउने र अभिभावकको विश्वास जित्ने गरी नमुना विद्यालय बनाउने कामको थालनी गरेका छौँ । गाउँ र शहर जोड्ने सडकहरूलाई बहुवर्षीय ठेक्का, टेन्डरमार्फत् कालोपत्रे गर्ने कार्यक्रमको थालनी गरेका छौँ । कृषिलाई व्यावसायीकरण गर्दै रोजगारी सिर्जना गर्न बिउमा ८० प्रतिशत अनुदानको व्यवस्था गरेका छौँ । रोजगार, उद्यम र व्यवसाय सञ्चालनका लागि तालिम केन्द्रको स्थापना गर्छौँ । सबै वडाका बस्तीलाई बाह्रैमास सवारीका साधन चल्न सक्ने गरी सडकको मर्मतसम्भार र स्तर वृद्धि गर्छौँ । नगरस्तरीय १५ बेडको अस्पताल निर्माण गर्छौँ । मातृशिशु स्वास्थ्य सुरक्षा कार्यक्रमलाई अझ प्रभावकारी बनाउँछौँ । नगरभित्रका नागरिकको मोतियाबिन्दुको निःशुल्क अप्रेसन गर्ने, सबै बिरामीलाई निःशुल्क रगत, सुत्केरीलाई खुत्रुके कार्यक्रम, ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य जाँच तथा उपचार कार्यक्रमलाई निरन्तरता दिन्छौँ । समग्रमा भन्दा नयाँ योजनामा शिक्षामा परिवर्तन, गुणस्तरीय सडक निर्माण, स्वास्थ्य सेवालाई थप विस्तार, कृषिलाई आधुनिकीकरण, व्यावसायीकरण गर्ने, बिउमा अनुदान, कृषि उपकरणमा अनुदान दिएर नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउने र रोजगारी सिर्जना गर्ने कार्यक्रम रहेका छन् ।
घोराही उपमहानगरपालिकालाई बाहिरबाट हेर्दा तालतलैयाले बढी परिचित बनायो अनि सामुदायिक सिँचाइ एवं वातावरणमा पनि यसको राम्रो प्रभाव देखियो, आगामी दिनमा कृत्रिम पोखरीलाई फेरि थप गर्ने योजनामा हुनुहुन्छ ? बनेका तालतलैयालाई तारबार गरी सुरक्षित व्यवस्थापनको योजना के छ ?
आगामी दिनमा पनि कृत्रिम जलाशय बनाउने योजना राखेका छौँ । पानीबिना कृषिमात्रै होइन, मानवीय जीवनसमेत संकटमा देखिएकाले पानीको स्रोत बढाउने योजनालाई हामीले यस वर्ष पनि निरन्तरता दिएका छौँ । अहिले हाम्रो नगरमा नयाँपुराना गरी झण्डै ४५ बढी जालशय रहेका छन् । अहिले ती जलाशयबाट सिँचाइ, पानीको स्रोत वृद्धि, माछा पालन, पर्यटन प्रवद्र्धन, वातावरण हरियाली प्रवद्र्धन भएको छ । सिँचाइका कारण अहिले किसानले मौसमी र बेमौसमी कृषि उत्पादन बढाउनुभएको छ । यसकारण पनि जलाशयको महŒवलाई हामीले बुझेका छौँ । हेर्नुस्, तालमा तारबार गर्ने कुरा के हो भने सकभर हामीले दिमागमै यो चिज खतरा छ, यसले मानिसको ज्यान लिन्छ, यहाँ पस्नुहुँदैन भनेर बुझ्नुपर्छ । जति तालतलैयामा मानिसको डुबेर मृत्यु भएको छ त्यो सबै पौडी खेल्न जाँदा र नुहाउन जाँदा भएको छ तर ती तालहरू पौडी खेल्न, नुहाउन, लुगा धुनका लागि बनाइएको होइन भन्ने बुझ्ने गरी हामीले बोर्डहरू लेखेका छौँ । तैपनि हामीले यस वर्ष त्यस्ता जोखिम क्षेत्रका तालको वरिपरि तारबार गर्ने गरी बजेट विनियोजन गरेका छौँ । सकेसम्म सुरक्षित नै गर्छौँ ।
तपाईंको पालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम तथा बजेटमा भौतिक विकासलाई अत्यधिक प्राथमिकतामा राख्यो, मानव संसाधनको विकासमा नीति तथा कार्यक्रम र बजेटले अलि कमजोर सम्बोधन गर्यो कि ? जस्तो कि लैंगिक हिंसा, बालश्रम, बेसहारा बालबालिका, छाडा चौपायाको व्यवस्थापन, सडक मानवमुक्त अभियानका सन्दर्भमा अलि खुलेको देखिएन नि ?
त्यसो होइन, हामीले समग्र विकासका इन्डिकेटरलाई राम्ररी पहिचान गरिसकेका छौँ । भौतिक विकास र मानव विकासलाई सँगसँगै लैजाने हाम्रो योजना हो । सबै क्षेत्रलाई उत्तिकै प्राथमिकता दिएका छौँ । आर्थिक विकास, पूर्वाधार विकास र सामाजिक विकास उत्तिकै महत्वपूर्ण पक्ष हुन् । उद्यम, व्यवसाय र रोजगारका लागि विशेष ध्यान दिएका छौँ । यसैगरी पूर्वाधारतर्फ सडक, भवनलाई पनि आवश्यकताका आधारमा प्राथमिकता दिएका छौँ । सामाजिक विषय पनि तपाईंले भने जस्तै निकै महत्वपूर्ण विषय हो । जबसम्म समाजको विकास हुँदैन तबसम्म अन्य क्षेत्रको विकासको कुनै अर्थ हुँदैन । बजेट कार्यक्रमहरू आवश्यकतामा आधारित छन् । हामीले लैंगिक हिंसा नियन्त्रित नगर बनाउने गरी कार्यक्रमहरू अघि बढाएका छौँ । बालमैत्री नगर अघिल्लो कार्यकालमा घोषणा गरेका छौँ । बेसहारा बालबालिकालाई भोलानाथ योगीज्यूले सञ्चालन गर्नुभएको आश्रममा राखेर बस्ने, खाने र पढ्ने व्यवस्था गरेका छौँ । छाडा पशुचौपायालाई वडा नं. २ को चाक्लीघाटमा व्यवस्थापन गर्न सफल भएका छौँ । सडक मानवमुक्त घोषणा गरिसकेका छौँ । अहिले त्यस्ता बेवारिसे मानिस हाम्रो नगरमा हुनुहँुदैन । केही त्यस्ता व्यक्तिहरू उपचार गरेर परिवारमा पुनःस्थापित भइसक्नुभएको छ । तपाईंले जे–जे गर्नुभएन कि भनेर प्रश्न उठाउनुभयो त्यो काम हामीले यसअघिकै कार्यकालमा व्यवस्थापन गरिसकेका छौँ ।
फोहोर व्यवस्थापनमा तपाईंको पालिकाले एउटा नयाँ अभ्यास थालेको थियो, प्रांगारिक मल उत्पादनदेखि बायोग्याँस बनाएर जनताका घरमा पु¥याउने तर अझै जनताको चुलोमा ग्याँस बलेन नि ?
फोहोर व्यवस्थापनका लागि दिगो योजनाअनुरूप हामी अघि बढेका छौँ । अहिले गल्ने फोहोरबाट ग्याँस, मल उत्पादन भइरहेको छ भने नगल्ने फोहोरलाई उपभोक्ताबाट खरिद गरेर बिक्री गर्ने योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ । अब हामी नगरको फोहोरलाई पैसामा बदल्ने काममा सफल भएका छौँ । शून्य ल्यान्डफिल साइड बनाउने हाम्रो योजना हो । सबै नगरवासीलाई हामीले भनेका छौँ कि अब फोहोर होइन पैसा हो । यसबारे अभियान थालेर यसको पुनः प्रयोगबारे पनि नगरवासीलाई जानकार बनाउनेछौँ । मल तथा ग्याँस पनि उत्पादन भइरहेको छ तर पाइपलाइन विस्तारमा केही ढिलाइ भएको छ । पाइप गाडेर वडा नं. १६ र १० मा ग्याँस पाइपबाट वितरण गर्ने योजना छिट्टै पूरा हुनेछ भन्ने विश्वास छ ।
अन्त्यमा, आगामी कार्यकालमा तपाईंले नगरवासीबाट पनि केही अपेक्षा राख्नुभएको छ कि ?
अघिल्लो कार्यकालमा पनि सबै नगरवासी र सरोकारवालाले भरपुर सहयोग गर्नुभयो र अबको कार्यकालमा पनि मैले सबै क्षेत्रसँगको सहकार्य र सहयोगको अपेक्षा गरेको छु । विशेष गरी टोल विकास संस्थाहरू हाम्रा जग भएकाले त्यस तहका व्यक्तिलाई योजना बुझाउन सक्यौँ भने हाम्रा कार्यहरू सफल र दिगो हुन्छन् । सबै कामहरूमा जनताको साथ लिएर अघि बढ्ने र सबै योजनाहरू जनताका हुन् भनेर बुझाउन सक्यौँ भने हामी सफल हुनेछौँ । आमनगरवासीको सफलता नै नगरको सफलता हो भनेर पनि भन्न चाहन्छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच