नागरिकता विधेयकमा केही गम्भीर प्रश्नहरु छन्, राष्ट्रिय सहमति आवश्यक छ : पूर्वप्रधानमन्त्री खनाल

Read Time = 3 mins

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकता सम्बन्धी विधेयक राष्ट्रिय सहमति गरेर पारित गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले सरकारले ल्याएको विधेयकमा केही गम्भिर प्रश्नहरु रहेको भन्दै राष्ट्रिय सहमती हुनु अत्यावश्यक रहेको बताउनु भयो ।

उहाँले ऐन बनाउँदा कुनै कमजोरी हुनु नहुने पनि बताउनु भयो । उहाँले नागरिकता सम्बन्धी विधेयकमा प्रतिपक्ष दलको असहमती रहेको उल्लेख गर्दै विवादको बीचमा पारित हुने खतरा रहेको बताउनु भयो । पूर्वप्रधानमन्त्री खनालले सो विधेयक पारित भएमा देशमा दुई खालको जनमत बन्ने खतरा रहेको औँल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘नागरिकताको सम्बन्धमा हामीले ऐन बनाउँदा कुनैपनि ढंगले लुज काम गर्नु हुँदैन । हामीले लुज कुराहरु ग-यौँ भने हाम्रो देशको सामाजिक संरचना क्रमिक रुपले बद्लिने, नकारात्मक ढंगले बद्लिने खतराहरु हुन्छन् । यो कुरालाई ध्यानमा राखेर नेपालका राजनीतिज्ञहरुले, नेपालका पार्टीहरुले गम्भिरतापूर्वक ध्यान दिनुपर्छ । अहिले जुन प्रकारले नागरिकता विधेयक आएको छ । यसमा केही गम्भिर प्रश्नहरु छन् । यस्ता कुराहरुमा राष्ट्रिय सहमती हुनु अत्यावश्यक छ । राष्ट्रिय सहमती भएको मैले देखिनँ । प्रतिपक्षले असहमती राखिरहेको छ । सरकार पास गर्नका लागि तयारी गरिरहेको छ । यो सहमतीको विधेयक हुने देखिन । यो विवादको बीचमा पास हुने खतरा छ । यसरी विधेयक पास भयो भने यसले सर्लक्कै देशमा दुई खालको जनमत बन्ने खतरा छ । नागरिकता जस्तो सवाल राष्ट्रिय सहमतीको सवाल हो । यो खालि बहुमतको सवाल होइन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?