लोकनारायण सुवेदी
चिन्तन, चरित्र र व्यवहारका साथ अविचलितरूपमा क्रान्तिको मूलबाटोमा लागिरहने र कस्तै कठिन परिस्थितिमा पनि त्यसबाट दायाँबायाँ नगर्ने क्रान्तिकारी नेताहरू विरलै पाइन्छन् । कमरेड पुष्पलाल त्यस्तै उच्च कोटिका नेता हुनुहुन्थ्यो । यस अर्थमा कमरेड पुष्पलाल नेपाली राजनीतिक आकाशका एक चम्किरहने ‘लाल तारा’ हुुनुहुन्थ्यो र हुनुहुन्छ ।
वास्तवमा हामीले यथार्थपरकरूपमा हेर्न र केलाउन सक्यौँ भने नेपालको समकालीन राजनीतिमा पुष्पलालको दृष्टिकोण, विचार, नीति, निष्ठा र समर्पण नेपाली जनताको मुक्ति र समुन्नतिका निमित्त केन्द्रित रहेको प्रष्टै देखिन्छ । उहाँले ग्रहण गरेको माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा आजका चालु नेताहरूको जस्तो सस्तो नेतागिरी छाँट्न, निक्कै जानेको छु भन्ने आडम्बर देखाउन र पण्डित्याइँ प्रदर्शन गर्नका निमित्त पटक्कै थिएन, बरु नेपाली समाजको अग्रगामी आमूल सामाजिक परिवर्तनका निमित्त थियो भन्ने कुरा उहाँको अथक र अविश्रान्त संघर्षले एकदमै प्रष्ट देखाउँदछ ।
सिद्धान्त सिद्धान्तका निमित्त होइन, यसलाई जनता र राष्ट्रको जीवनमा अग्रगामी परिवर्तन ल्याउने शक्तिशाली हतियारको रूपमा कमरेड पुष्पलालले ग्रहण गर्नुभएको थियो र तदनुकूल आफ्नो राजनीतिक यात्रालाई अविच्छिन्नरूपमा अघि बढाउनुभएको थियो । उहाँको जीवनभरको कर्मले यही कुरा दर्शाएको छ ।
वास्तवमा पुष्पलालले संयुक्त जनआन्दोलनको जुन नीति अख्तियार गर्नुभएको त्यो आपूmले अंगीकार गरेको माक्र्सवादी लेनिनवादी सिद्धान्तलाई व्यवहारमा उतार्ने, जनतालाई जगाउने र परिवर्तनको बाटोमा अग्रसर गराउने एउटा अमोघ अस्त्र थियो र हो । वस्तुतः त्यो ठोस र सही नीतिको आधार तत्कालीन वस्तुस्थितिका आधारमा वर्गीय विश्लेषणको निचोड नै थियो । त्यसैले त उहाँ हमेसा पार्टी प्रशिक्षण र कक्षाहरूमा भन्ने गर्नुहुन्थ्यो, ‘राजनीति जालझेल होइन, वास्तविक वस्तुस्थितिका आधारमा वर्गीय विश्लेषणको निचोड हो’ ।
यसरी एकदमै प्रष्टरूपमा उहाँले अघि सारेको संयुक्त जनआन्दोलनको नीति केवल एउटा कोरा नीतिमात्र थिएन, त्यो परिवर्तनको प्रभावकारी औजार थियो । जसले समाजमा राजनीतिक, आर्थिक, समाजिक र सांस्कृतिक परिवर्तन ल्याउन सबै परिवर्तनकामी शक्तिहरूलाई एक ठाउँमा खडा गर्ने रसायनको काम गर्दथ्यो । वस्तुतः उहाँले अघि सारेको यो नीति माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई व्यवहारमा उतार्ने कार्यनीतिकै महत्वपूर्ण कडी, अंश र आधार थियो । जुन बाटो नहिँडीकन समाजलाई अग्रगति दिनै सकिँदैनथ्यो । यो यथार्थ कुरा नेपालमा अहिलेसम्म सचेतरूपमा चलेका संयुक्त जनआन्दोलनहरूले प्रष्टसँग औँल्याएका छन् ।
कमरेड पुष्पलालको क्रान्तिकारी जीवन सबैका लागि एउटा प्रेरणास्पद र विश्वासिलो जीवन त छँदै थियो नै त्यसभन्दा बढी आमूल सामाजिक परिवर्तनको दिशामा अत्यन्तै हुटहुटिएर केन्द्रित भएको र त्यस प्रयोजनका लागि आजीवन सक्रिय रहेको अनुकरणीय प्रेरणापुञ्ज बनेको जीवन थियो ।
यसप्रकार पुष्पलालको यो नीति एकैचोटि वर्गीय मोर्चा र राजनीतिक मोर्चालाई एकै दिशातिर अभिमुख गराउने र हिँडाउने सारभूत माध्यम पनि थियो । जुन कुराको पुष्टि नेपालको २०१७ अघि २००८ सालतिर जातीय जनतान्त्रिक मोर्चा (त्यसबेला ‘राष्ट्रिय’ शब्दलाई ‘जातीय’ भनेर अभिव्यक्त गरिन्थ्यो) र २०१७ पछिका महत्वपूर्ण र मुख्य ऐतिहासिक आन्दोलनहरू- २०३६ सालको संयुक्त विद्यार्थी आन्दोलन, २०४६ सालको संयुक्त जनआन्दोलन र २०६२/०६३ सालको व्यापक संयुक्त जनआन्दोलनहरूले एकपछि अर्को पुनर्पुष्टि गरिसकेका छन् र गरिरहेका छन् ।
त्यसैले, यी वस्तुगत यथार्थहरूले कमरेड पुष्पलालको ‘नेता होइन, नीति प्रधान’ हुन्छ भन्ने निचोडलाई पनि सत्य साबित गरेको छ । उहाँ व्यक्तिवादका विरुद्ध हुनुहुन्थ्यो र हमेसा पुष्पलाल भन्ने गर्नुहुन्थ्यो कि नेताहरू त मञ्चमा आउँछन्, जान्छन् तर सही नीति हमेसा कायम रहन्छ । उहाँले यस्तो निचोड निकालेर नीतिको कुरा गर्दा वर्गीय नीतिको कुरा गरेको हुन्थ्यो कुनै निरपेक्ष नीतिको कुरा होइन । उदाहरण दिँदै उहाँ भन्ने गर्नुहुन्थ्यो- वेदव्यास छैनन् तर वेद छ । बुद्ध छैनन् तर बुद्धको विचार छ, रुसो छैनन् तर उनको ‘सामाजिक सम्झौताको सिद्धान्त’ छ ।
त्यसरी नै माक्र्सवादका प्रणेता- माक्र्स र एंगेल्स छैनन् तर अजेय माक्र्सवाद आज हामीसँग छ । नेताहरूको योगदान र भूमिकाको अवश्य महत्व छ र हुन्छ । उनीहरू हमेसा कायम रहन सक्तैनन् तर उनीहरूको विचार कायम रहन्छ । त्यसकारण, कुनै नेताको पछि होइन सही विचारको पछि लाग, सही विचारले नै सही नेता जन्माउँदछ भन्ने उहाँको हमेसा जोड हुन्थ्यो ।
हुन पनि कमरेड पुष्पलालको एकमात्र ध्याउन्न देश र जनताको हितमा सही नीति प्रतिपादन गर्नु र त्यसलाई व्यवहारमा खरो उतार्नु रहेको थियो । यसैका लागि नेपाली जनआन्दोलनका सबल र दुर्बल पक्ष केलाउन र सहीलाई अझ समृृद्ध तुल्याउन तथा गलतलाई घटाउन र हटाउन उहाँले ‘नेपाली जनआन्दोलन : एक समीक्षा’ अत्यन्तै महत्वपूर्ण र पठनीय कृति लेख्नुभयो । जुन नेपाली जनआन्दोलनको विकास र यसको भविष्यलाई बुझ्न चाहने जोकसैका लागि पनि महत्वपूर्ण सन्दर्भ सामग्री रहेको छ ।
यसै सन्दर्भमा उहाँले नेपालको राष्ट्रियता र जनवादको पनि एउटा नवीन र जनमुखी परिभाषा दिँदै भन्नुभएको छ, ‘लाखौंलाख झोपडीहरूको एकता नेपालको आजको सन्दर्भमा राष्ट्रियता हो भने ती झोपडीहरूको हकहित जनवाद’ हो । ती झोपडीहरूमा को बस्छन् एकदमै प्रष्ट छ– शोषित पीडित श्रमजीवी जनता । वस्तुतः यो नेपाललाई सचेत र उन्नत किसिमले राजनीतिक एकीकरण गर्ने र सुदृढ बनाउने कुरा हो र थियो भन्ने प्रष्टसँग बुझ्न सकिन्छ ।
यस कुराले नेपाली जनता नै वास्तविक परिवर्तनका संवाहक हुन् र उनीहरूको सचेत, संगठित र सक्रिय भूमिकाबिना आमूल सामाजिक परिवर्तनको कुनै अर्थ छैन, हुँदैन, राष्ट्रियता र जनवादको समस्या पनि हल हुँदैन भन्ने अर्थपूर्ण शिक्षा पनि दिन्छ । यसरी कमरेड पुष्पलालले जनचेतना निर्माणलाई ठूलो महत्व दिनुभयो र जनताका दैनिक जीवनका सवाललाई लिएर तलैदेखि उठेको आन्दोलनमा जोड दिनुभयो । त्यसैले उहाँ कुराले भन्दा कामले जनतालाई बढी चाँडो र सही किसिमले सचेत र सक्रिय तुल्याउँदछ भन्ने कुरामा बढी विश्वस्त हुनुुहुन्थ्यो । यस अर्थमा उहाँ जनतालाई जगाउन, उठाउन र अघि बढाउन दत्तचित्त हुनुहुन्थ्यो भन्ने प्रष्ट हुन्छ ।
तर, पुष्पलाल केवल एउटा सिद्धान्तवादी निष्ठावान व्यक्तित्वमात्र हुनुहुन्नथ्यो । उहाँ त सिद्धान्तलाई व्यवहारमा खरो उतार्ने र त्यस आधारमा संगठनलाई क्रियाशील र सबल बनाउने कार्यमा निरन्तर दत्तचित्त भएर लाग्ने व्यक्तित्व हुनुहुन्थ्यो । त्यसैले उहाँले ‘तीन ‘स’ को सिद्धान्त’ अर्थात् ‘संघर्ष, संगठन र सिद्धान्त’ लाई एकअर्काका परिपूरकका रूपमा निरन्तर क्रियाशील तुल्याइरहनुभयो ।
उहाँ हमेसा पार्टी क्लासहरूमा भन्ने गर्नुहुन्थ्यो कि सिद्धान्तबिनाको संगठन र संघर्ष अन्धो हुन्छ र संगठनबिनाको सिद्धान्त र संघर्ष पनि लंगडो हुन्छ । त्यसैगरी सिद्धान्त र संगठनबिना त संघर्षले सही दिशा र गति पाउनै सक्तैन । त्यसैले यी तीन ‘स’ को आ-आफ्नै ठूलो महत्व छ र ती एकअर्काका परिपूरक हुन् । एकबिना अर्कोको अस्तित्वको कुनै अर्थ हुँदैन, रहँदैन भन्ने उहाँको एकदमै प्रष्ट धारणा थियो ।
यस सन्दर्भमा सिद्धान्तको कुरा गरिरहँदा कमरेड पुष्पलालले माक्र्सवाद-लेनिनवाद र माओ विचारधारालाई एउटा जडसूत्रवादी रटना जपनाका रूपमा नलिएर त्यो सैद्धान्तिक विचारधारालाई एउटा गतिशील र मार्गदर्शन गर्ने प्रकाशस्तम्भका रूपमा बुझाउनुभयो र व्यवहारलाई अर्थात् परिवर्तनलाई बाटो देखाउने औजारका रूपमा बुझ्न, बुझाउन अथक प्रयत्न गर्नुभयो र जोड दिनुभयो । विचारधारात्मक संघर्षको कुरा गर्दा उहाँ हरहमेसा ‘वादे वादे, विवादे च जायते तत्व बोध’ भन्ने संस्कृत वाक्यलाई दोहो¥याउने गर्नुहुन्थ्यो र कुनै पनि विषयमा तर्क-प्रतितर्कले नै सही निष्कर्षमा पुग्न मद्दत पुग्ने द्वन्द्वात्मक नियम प्रयुक्त गर्नुहुन्थ्यो ।
वास्तवमा पुष्पलालले संयुक्त जनआन्दोलनको जुन नीति अख्तियार गर्नुभएको त्यो आफूले अंगीकार गरेको माक्र्सवादी लेनिनवादी सिद्धान्तलाई व्यवहारमा उतार्ने, जनतालाई जगाउने र परिवर्तनको बाटोमा अग्रसर गराउने एउटा अमोघ अस्त्र थियो र हो ।
प्रकृति र समाजका अधिशासित नियमको बारम्बार उहाँ उल्लेख गर्ने गर्नुहुन्थ्यो । जुन माक्र्सवादको आधारभूत कुरा हो । पुष्पलालको एउटा अर्को सबैभन्दा महत्वपूर्ण पक्ष उहाँको निरन्तर अध्ययनशीलता हो । समकालीन नेपाली राजनीतिमा तुलनात्मकरूपमा उहाँजत्तिको नेपाली समाजको गहिरो अध्ययन अरू कमैले मात्र गरेका थिए होलान् । उहाँको अध्ययनको मूल विषय नै नेपाली जनताको गाँस, बास, कपासको समस्या थियो । जनताले आफ्नो आजीविकाको समस्या कसरी हल गरिरहेका छन् र उनीहरू विकासको कुन चरणबाट गुज्रिरहेका छन् भन्ने कुरामै उहाँको सम्पूर्ण राजनीतिक अध्ययन केन्द्रित थियो र हुन्थ्यो ।
त्यसैले उहाँले नेपालका एक विशिष्ट इतिहासकार महेशचन्द्र रेग्मी जस्ता र अन्य यस्तै महत्वका नेपाली समाजको तत्कालीन स्थिति जान्न र समाजमा परिवर्तन खोज्न महत्वपूर्ण र सहायक हुने उपयोगी किताबहरू पढ्न र सामूहिक छलफल गरेर निष्कर्ष निकाल्न जोड दिनुहुन्थ्यो । नेपाली धरातलीय यथार्थका आधारमा माक्र्सवाद लेनिनवाद र माओ विचारधारालाई प्रयुक्त के कसरी सकिन्छ यही नै उहाँको अध्ययनको मूल विषय हुन्थ्यो र विद्यमान यथास्थितिलाई फेरेर समाजलाई अग्रगति प्रदान गर्ने दिशाबोध गर्नु उहाँको अध्ययनको प्रयोजन थियो ।
त्यसैले अलिकति समय पायो कि उहाँ कहिले कलकत्ताको ‘नेसनल लाइब्रेरी’ मा गम्भीर अध्ययनमा लागेको पाइनुहुन्थ्यो कि दिल्लीको ‘सप्रू हाउस’ या वनारसकै स्थानीय पुस्तकालय जहाँ विश्व र नेपालका लागि पनि पठनीय पुस्तक र पाठ्यसामग्री पाइने गर्दथे । समय पायो कि उहाँ ती ठाउँहरूमा गएर अध्ययनरत रहने गर्नुहुन्थ्यो । उहाँले नेपालमा पनि कार्यकर्ताहरूलाई मदन स्मारक पुस्तकालय पाटनढोका र राष्ट्रिय पुस्तकालय तथा विश्वविद्यालयका पुस्तकालयहरू र ब्रिटिस, भारतीय र अमेरिकी पुस्तकालयहरूमा गएर अध्ययन गर्न सुझाव दिनुहुन्थ्यो ।
जसले नेपालको इतिहास, संस्कृति र भूगोल पढेको र बुझेको हुँदैन, नेपाली जनताको आजीविका कसरी चलेको छ त्यसको गहिरो अध्ययन गरेको हुँदैन उसले नेपालको आमूल अर्थ-राजनीतिक परिवर्तनमा कसरी योगदान दिन सक्तछ र ? भन्ने गम्भीर प्रश्न उठाउँदै सबै कार्यकर्ताहरूलाई अध्ययन गर्न प्रेरित गर्नुहुन्थ्यो । खासगरी उहाँले नेपालमा किसान वर्गको समस्या हल नगरी नेपालको राष्ट्रिय मुख्य मुद्दा नै हल हुँदैन भन्ने कुरामा ध्यान केन्द्रित गर्दै नेपाली समाजका समस्या हल गर्न संघर्ष, संगठन र सिद्धान्तका कुराहरूको गहिरो अध्ययन, चिन्तन र मनन गर्न विशेष जोड दिनुहुन्थ्यो ।
समग्रमा कमरेड पुष्पलालको क्रान्तिकारी जीवन सबैका लागि एउटा प्रेरणास्पद र विश्वासिलो जीवन त छँदै थियो नै त्यसभन्दा बढी आमूल सामाजिक परिवर्तनको दिशामा अत्यन्तै हुटहुटिएर केन्द्रित भएको र त्यस प्रयोजनका लागि आजीवन सक्रिय रहेको अनुकरणीय प्रेरणापुञ्ज बनेको जीवन थियो । त्यसैले नै उहाँका अनुयायीले भन्दा पनि आज उहाँको छिचरो र अनर्गल किसिमले विरोध गर्ने तथाकथित कम्युनिष्ट नामधारीहरूले नै उनको मूर्ति र फोटो पूजाआजा गरेर आफूलाई पुष्पलालको असली उत्तराधिकारी भएको भ्रम छर्ने गरिरहेका छन् ।
त्यो हिजो २००८ सालदेखि २०३५ सम्म पनि स्वार्थवस गरिएको विरोध र प्रताडना थियो भने आजको पूजा पनि स्वार्थवस गरिएको यथार्थ खुलस्त भइसकेको र भइरहेको छ । कमरेड पुष्पलालको अविश्रान्त क्रान्तिकारी जीवनको सारतत्वलाई समाप्त पारेर आवरणको पूजाआजा गर्ने अवसरवादी र विसर्जनवादीहरूको बिगबिगीलाई नचिरेसम्म नेपालको कम्युनिष्ट आन्दोलनले भ्रमबाट मुक्ति पाउन सक्ने छैन । अनि नेपाल र नेपाली जनताका समस्या पनि हल हुने छैनन् बरु अझ जटिल भएर जानेछन् । यो कुरा आजको बिग्रँदो स्थितिले पनि प्रष्ट देखाइरहेको छ । यिनै स्मरणीय कुराका साथ कमरेड पुष्पलालको ४४औँ स्मृतिमा उहाँप्रति उच्च सम्मान ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच