छानिएनन् प्रमुख पदमा महिला

Read Time = 7 mins

-विवेक खड्का

दाङ । स्थानीय तह निर्वाचन २०७९ मा दाङका पालिका प्रमुख पदमा महिला निर्वाचित हुन सकेनन् । १० पालिका रहेको जिल्लामा पालिका प्रमुख पदमा पुरुषको हावी देखिएको छ । जिल्लाका १० पालिकाको प्रमुख पदमा दशजना महिला प्रतिस्पर्धामा रहे पनि सबै जनाले हार बेहोरेका छन् ।

प्रमुख पदमा ठूला दलभन्दा साना र स्वतन्त्रबाट प्रतिस्पर्धामा रहेका थिए । तर, ठूला दलको दबदबा र गठबन्धनको प्रभावका कारण महिला प्रमुख पदमा आउन सकेनन् । नेपाली कांग्रेसले राप्ती गाउँपालिकामा महिलालाई अध्यक्षको उम्मेदवार बनायो, तर मतदाताले उनलाई रुचाएनन् । अन्य ठूला दलले महिलालाई प्रमुख पद दिएन, साना दलले दिए तर जिताउन सकेनन् ।

यसअघि २०७४ सालको निर्वाचनमा पनि जिल्लामा पालिकाको प्रमुख पदमा महिला चुनिएका थिएनन् । २०७९ को निर्वाचनमा पनि प्रमुखमा महिलाको प्रतिनिधित्व हुन सकेन । ठूला राजनीतिक दलले प्रमुख पदमा महिलालाई टिकट दिन नसक्नु र महिलाप्रतिको विश्वास मतदातामा बढ्न नसक्दा प्रमुख पदमा महिला आउन नसकेको देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट घोराही उपमहानगरपालिकाको मेयर पदमा प्रतिस्पर्धामा आउनुभएकी सरीता देवकोटाले ठूला दलको दबदबाका कारण साना दलबाट प्रमुख पदको प्रतिस्पर्धामा रहेकालाई अगाडि आउन कठिन भएको बताउनुभयो । ‘ठूला पार्टीले प्रमुख पदमा महिलालाई टिकट दिँदैनन्, साना पार्टीले टिकट दिए पनि ठूला पार्टीका बीचमा प्रतिस्पर्धा गर्न कठिन हुने गर्दछ’ उहाँले भन्नुभयो– ‘महिलाप्रतिको दृष्टिकोण पनि परिवर्तन हुनु अर्को प्रमुख कारण हो ।’

उहाँले महिला प्रमुख पदमा आउन नसक्नुको कारण आर्थिक पनि प्रमुख रहेको बताउनुभयो । ‘चुनावको अन्तिम अस्त्र भनेको पैसा रहेछ, तर राप्रपाले चुनावमा रकम खर्च गर्ने कुरा हुँदैन ।’ उहाँले भन्नुभयो, ‘चुनावमा पैसा खर्च गर्नु भनेको त चुनाव जितिसकेपछि भ्रष्टाचार गर्नु हो भन्ने हामीले बुझेका छौँ ।’ चुनावमा कसैलाई पैसा बाँड्ने, मासु र रक्सी खुवाउने नगर्नु नै चुनावमा पराजित हुने अर्को कारण रहेको उहाँको भनाइ छ ।

‘चुनावमा पैसाको खोलो बगाउने, त्यो पनि मासु र रक्सीमा तब पो निर्वाचित जितिँदो रहेछ ।’ उहाँले भन्नुभयो, ‘हामीले चुनावमा खर्च गर्न नसकेकै कारण पराजित भएका हौँ पनि भन्न सकिन्छ ।’ दाङका पालिकामा उपप्रमुख पदमा नौजना महिलाले जित हासिल गरेका छन् । दश पालिकामध्ये बंगलाचुलीबाहेक नौ पालिकामा उपप्रमुख, उपाध्यक्षमा महिला आएका छन् ।

जिल्लामा पालिकाको उपप्रमुख पदमा ४६ जना प्रतिस्पर्धामा रहेका थिए । जसमा ३७ जना महिलाले उपप्रमुख पदमा हार बेहोरेका छन् । यस्तै कुनै पनि वडामा महिला निर्वाचित हुन सकेननन् । एक सय वडा रहेको दाङमा स्थानीय तह निर्वाचन २०७९ मा जिल्लामा वडा अध्यक्षका लागि १९ जना प्रतिस्पर्धामा रहेका थिए ।

तर, कुनै पनि वडामा वडा अध्यक्ष पदमा महिला निर्वाचित नभएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । एक सय वटा वडामा सबै वडा अध्यक्ष पदमा पुरुष नै निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा पनि जिल्लामा वडा अध्यक्ष पदमा महिलाको सहभागिता शून्य रहेको थियो ।

जिल्ला प्रमुख, उपप्रमुखसहित वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा ८७२ जना महिला प्रतिस्पर्धामा उत्रिएका थिए । तर उपप्रमुख, महिला सदस्य, दलित महिला सदस्यमा मात्रै महिला निर्वाचित भएका छन् । ती पदमा विकल्पमा पुरुष उम्मेदवार नहुँदा महिलाहरू निर्वाचित भएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

प्रमुख पदमा राजनीतिक दलहरूले पुरुषहरूलाई प्राथमिकतामा राख्दा मुख्य पदमा महिलाको उपस्थिति बढ्न नसकेको राजनीतिक विश्लेषक सुशील गौतमले बताउनुभयो । ‘महिलाहरू प्रमुख पदमा नआउनुका थुप्रै कारणहरू छन्, मुख्य कुरा त प्रमुख दलहरूले प्रमुख पदमा महिलालाई स्थान दिने गरेका छैनन् ।’ उहाँले भन्नुभयो, ‘अर्को कुरा परम्परागत सोचका कारण महिलाहरू राजनीतिमा ढिलो आउन, महिलालाई महिला पुरुष दुवै मतदाताले विश्वास गर्न नसक्नु, राजनीतिक दल पुरुष सत्तावादी सोचका कारण महिलालाई अगाडि ल्याउन नसक्नुले प्रमुख पदमा महिलाको उपस्थिति कम देखिने गरेको छ ।’

दाङमा दलित महिला सदस्यमा ३५५, महिला सदस्यमा ३९५ जना र खुल्ला सदस्यमा ४७ जना महिला प्रतिस्पर्धामा रहेका थिए । ति मध्ये दलित महिला सदस्य र महिला सदस्यमा अधिकांश महिला निर्वाचित भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?