सितोरियो कराँतेमा गोपालीको उदाहरणीय सफलता

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । काठमाडौं उपत्यकाको छिमेकी नगर चित्लाङ मकवानपुर जिल्ला थाहा १०, नेपालकै सुन्दर अनि पर्यटकीय नगरी प्रचुर पर्यटकीय स्थल हो । त्यसै सुन्दर नगरीमा जन्मिनुभएका युवा प्रतिभा हुनुहुन्छ रामदास गोपाली । परिवारका सात सन्तानमध्ये पाँचौँ सन्तानका रूपमा फागुन ३ गतेका दिन यस धर्तीमा पाइला टेक्नुभएका उहाँ नेपाली खेलकुद जगत्मा कहिल्यै नथाक्ने सिपाहीका रूपमा स्थापित हुनुभएको छ ।

उहाँले प्राथमिक तह चित्लाङमा रहेको चम्पाकेश्वर निम्न माध्यमिक विद्यालयमा पूरा गर्नुभयो भने माध्यमिक तह चित्लाङकै स्वच्छन्द भैरव माध्यमिक विद्यालयबाट पूरा गर्नुभएको हो । माध्यमिक तहको शिक्षापश्चात् उहाँ उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आउनुभयो । सानैदेखि खेलकुद भनेपछि हुरुक्कै हुने गोपाली अरू सम्पूर्ण खेललाई थाँती राखेर मार्सल आर्ट विधाको सितोरियो कराँतेतर्फ आकर्षित हुनुभयो र सुरु गर्नुभयो प्रारम्भिक प्रशिक्षण । बिहान शहरका अधिकांश मानिसहरू मस्त निन्द्रामा हुन्थे तर आफ्नो इच्छा पूरा गर्न र समयको पाबन्दीलाई ख्याल गर्दै गोपाली हुरिबतास र कुनै बाधाको प्रवाह नगरी आफ्नो प्रशिक्षणलाई निरन्तरता दिँदै बिहान ५ बजेदेखि आफ्नो कार्यमा व्यस्त हुनुहुन्थ्योे ।

तिनै संघर्षका सिपाही आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक तथा खेलाडीका साथै एक कुशल प्रशिक्षकसमेत बन्न सफल हुनुभएको छ । गोपाली हिजोआज हुने प्रायजसो राष्ट्रिय प्रतियोगितामा व्यस्त रहनुहुन्छ । उहाँ आफ्नो विषयमा केही कुरा गर्नासाथ निकै उत्साहित भएर सुन्नुहुन्छ अनि संयमित भएर उत्तर दिनुहुन्छ । उहाँलाई बाँकी जीवनका सपनाहरूका बारेमा प्रश्न गर्दा भन्नुहुन्छ, ‘जबसम्म शरीरले साथ दिन्छ कराँतेमै समर्पित हुन्छु ।’

उहाँले जापान, कोरिया, थाइल्यान्डजस्ता देशहरूमा आफ्नो प्रतिभा प्रदर्शन गरिसक्नुभएको छ । उहाँले २०१८ मा जापानमा भएको मैत्रीपूर्ण वल्र्ड कोसिकाई कराँतेमा विभिन्न देशका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक हात पार्न सफल हुनुभएको थियो । त्यसो त गोपाली आफ्ना साथीभाइ तथा छिमेकीहरूमा निकै लोकप्रिय र सहयोगीका रूपमा पनि चिनिनुहुन्छ । उहाँलाई चिन्ने साथीभाइ भन्छन्, ‘सहनशील तथा मिलनसार छन् गोपाली । झट्ट हेर्दा रिसाहा जस्तो देखिए तापनि अति नै मिलनसार, कसैको कुभलो नचिताउने, जनावरप्रति अति नै उदारवादी र निकै माया गर्छन् प्राणीहरूलाई ।’

सितोरियो कराँतेका दोस्रो डान बन्न सफल खेलाडी तथा राष्ट्रिय निर्णायकसाथै प्रशिक्षक गोपाली मकवानपुर जिल्लाका मात्र नभई सिंगो नेपालकै नाम उच्च राख्न सफल हुनुहुन्छ । उहाँ खेलकुदको माध्यमबाट देशको नाम उच्च राख्न सदैव लागिरहने प्रण गर्नुहुन्छ । हाल उहाँ प्रशिक्षकका साथै राष्ट्रिय निर्णायकका रूपमा चिनिनुहुन्छ । जीवनमा संघर्ष गर्नुपर्छ, प्रतिफलको आशा हैन, संघर्ष गर्दै जाँदा सफलता एक दिन अवश्य प्राप्त हुने कुरामा विश्वस्त हुनुहुन्छ उहाँ । र, त भन्नुहुन्छ, ‘समय एक चुनौती हो किनकि समयलाई सही सदुपयोग गर्न सकिएन भने सफलता प्राप्त गर्न सहज हुँदैन । किनकि समयले कहिल्यै पर्खिदैन र समय कहिल्यै फर्किँदैन ।’ मौका भनेको जीवनमा एकपटक आउने कुरा उहाँले राम्रोसँग बुझ्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?