कविता : तिम्रै सम्झनामा

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ सर्वानन्दा सरस्वती

आफ्नै छायासित पनि तर्सिदा
गड्याङ्ग असिनापानी बर्सिदा
वागमतीले धेरै आमाहरूको अस्तुलाई
उच्चगतिले स्पर्शका साथ अल्पिदा
आमा ! म तिम्रै सम्झनामा थुप्रै याद सँगालेर
धर्धरी खसेका आँसुहरूसँगै
ज्योतिको मार्ग खोजिरहेकी छु ।

आर्यघाटका ती पार्थिव शरीरका धुवाँको मुस्लो
बत्सलेश्वरीको परिक्रमा गर्दै शिवजीको गजुरमा
नपाउँदै पुग्न अल्पिएको त्यो हावामा हे आमा !

म तिम्रै त्यो सजीव सिंगारिएको मृदुल रूपी ममता
काखमा बास खोज्न, हो म आमा !

आफैँलाई शून्य बनाउँदै
सदाका लागि आँसुलाई बिदा गर्न खोजिरहेछु ।

आयुभर घडीमा कर्मका
भावहावा रूपी भई फैलन तिमी
ऊर्जा बनेर फेरि जगतजननी भएर
आऊ है हे आमा !

जहाँ जहाँ मरुभूमि र आँधीहुरीका चट्याङ्ले
बनाएका घाउँहरूमा
बस्ती बस्ती पुगेर दुःखलाई साथ लिई
जडिबुटी बन्न म सकूँ ।

तिम्रै सम्झनामा हर दिन हर वर्ष
सरस्वतीका पुजारीलाई सम्मान गर्दै
अस्तित्वको पहिचान राख्न सक्ने
मार्ग खोजिरहेकी छु ।

मेलम्ची २, सिन्धुपाल्चोक ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?