नवौं राष्ट्रिय खेलकुद : ६ सय पदकको छिनोफानोे, विभागीय टिमको अग्रता कायमै

हिमालय टाइम्स
Read Time = 29 mins

यज्ञराज जोशी/हिटा
पोखर । गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता कायमै राखेको छ । मंगलबारसम्म ६१९ पदकको छिनोफानो भएको छ । जसमा आर्मीले ७४ स्वर्ण, ५१ रजत र ३५ कास्य पदकसहित कुल १६० पदक पाएको छ ।

विभागीय टिम नेपाल पुलिस क्लब दोस्रो स्थानमा छ । पुलिसले ३० स्वर्ण, २४ रजत र ३७ कास्य पदकसहित ९१ पदक जितेको छ । सशस्त्र प्रहरी बलको एपिएफ क्लब तेस्रो भएको छ । एपिएफले २७ स्वर्ण, ३१ रजत र ४४ कास्य पदकसहित कुल १०२ पदक हात पारेको छ ।

यसैगरी बागमती प्रदेशले १५ स्वर्ण, २३ रजत र २६ कास्यसहित कुल ६४ पदक जित्दा गण्डकी प्रदेशले १२ स्वर्ण, १२ रजत र २९ कास्य पदकसहित ५३ पदक प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशले सात स्वर्ण, तीन रजत, १६ कास्यसहित २६ पदक पाउँदा एनआरएनएले ६ स्वर्ण, ६ रजत र चार कास्यसहित १६ पदक, मधेश प्रदेशले पाँच स्वर्ण, पाँच रजत र १४ कास्य पदकसहित २४ पदक, प्रदेश १ ले तीन स्वर्ण, १४ रजत र ३० कास्यसहित ४७ पदक जितेको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशले दुई स्वर्ण, १२ रजत र १७ कास्यसहित ३१ र कर्णाली प्रदेशले एक स्वर्ण, एक रजत, तीन कास्य पदकसहित पाँच पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

कुस्तीमा एपिएफलाई चार स्वर्ण
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भएको कुस्ती प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले चार स्वर्ण पदक जितेको छ । कुस्तीमा महिला र पुरुष दुवैतर्फ १०-० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । पुरुषतर्फको खेलमा एपिएफले चार स्वर्ण पदक जित्दा मधेश प्रदेशले तीन स्वर्ण, विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी र लुम्बिनी प्रदेशले एक-एक स्वर्ण पदक जितेका छन् । विभागीय टिम एपिएफका लागि ५७ केजी तौल समूहमा कुन्दन शाह, ६५ केजी तौल समूहमा सुजित यादव, ७० केजी तौल समूहमा उमेशकुमार ठाकुर र ६९ केजी तौल समूहमा बलिराम यादवले स्वर्ण पदक जित्नुभयो ।

कुस्तीमा मधेश प्रदेशका लागि ६१ केजी तौल समूहमा अमरेशकुमार यादव, ८६ केजी तौल समूहमा लालबहादुर यादव र १२५ केजी तौल समूहमा राज यादवले स्वर्ण जित्दा विभागीय टिम नेपाली सेनाका लागि ७४ केजी तौल समूहमा सुरेश चुनार र ९७ केजी तौल समूहमा नेपाल प्रहरीका सुमिर शाहले स्वर्ण पदक हात पार्नुभयो । त्यस्तै, लुम्बिनी प्रदेशका लागि ९२ केजी तौल समूहमा रमेश गोतामेले स्वर्ण पदक हात पार्नुभयो ।

कुस्तीको महिलातर्फको स्वर्ण पदक विभागीय टोली नेपाली सेना र सुदूरपश्चिम प्रदेशले मात्र जितेका छन् । नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले समान पाँच-पाँच स्वर्ण पदक जितेका छन् । विभागीय टिम नेपाली सेनाका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जित्नुभयो ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशका लागि ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिषा सिंह, ५५ केजी तौल समूहमा संगीता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले स्वर्ण पदक जित्नुभयो ।
कुस्ती खेल कावासोती–१६ मा रहेको थारु राष्ट्रिय संग्रहालयको हलमा सञ्चालन भएको थियो । सात प्रदेश, तीन विभागीय टिम, सशस्त्र, आर्मी, पुलिस गरी कुस्तीमा १० वटा टिमको सहभागिता रहेको थियो ।

पौडीमा आर्मी च्याम्पियन
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, नौ रजत र सात कास्यसहित ३६ पदक जित्दै टिम च्याम्पियन बनेको हो । एनआरएनए नौ स्वर्ण, ६ रजत र एक कास्यसहित १६ पदकसहित दोस्रो र एपिएफ तीन स्वर्ण, चार रजत र ६ कास्यसहित १३ पदकसहित तेस्रो भयो ।

अन्तिम दिन आर्मीले चार स्वर्ण पदक जितेको छ । महिला ४०० मिटरको फ्रिस्टाइलमा आर्मीकी दुवाना लामाले स्वर्ण जित्नुभएको छ । उहाँले चार मिनेट ४३.९२ सेकेन्डमा दूरी पूरा गर्नुभयो । पुलिसकी मिगन गुरुङले ५ मिनेट ४.३८ सेकेन्डमा दूरी पार गर्दै रजत पदक जित्नुभयो । त्यसैगरी बागमती प्रदेशकी टिसा महर्जनले ५ मिनेट ७.३६ सेकेन्डमा पूरा गर्दै कास्य पदक जित्नुभयो ।

त्यसैगरी पुरुष ४०० मिटर आइएममा एनआरएनएका आशिष सापकोटाले स्वर्ण जित्नुभयो । उहाँले चार मिनेट ३५.३६ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ कीर्तिमानसमेत राख्नुभयो । प्रदेश १ का प्रारम्भ भण्डारीले पाँच मिनेट १२.०९ सेकेन्डमा पूरा गर्दै रजत पदक जित्नुभयो भने एपिएफका सुरेनबहादुर सिंहले पाँच मिनेट १२.१५ सेकेन्डमा पूरा गर्दै कास्य पदकमा चित्त बुझाउनुभयो ।

त्यसैगरी महिला एक सय मिटर बेष्टस्ट्रोकमा आर्मीकी दुवाना लामाले एक मिनेट १६.६३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्नुभयो । उहाँले यो विधामा पनि नयाँ कीर्तिमान कायम गर्नुभयो । आर्मीकै उपस्ति महर्जनले एक मिनेट २२.३९ सेकेन्डमा पूरा गर्दै रजत पदक जित्नुभयो । नेपाल पुलिसकी अदिप्सा वैद्यले एक मिनेट २२.६७ सेकेन्डमा पूरा गर्दै कास्य पदक जित्नुभयो ।

मंगलबार नै भएको पुरुष १०० मिटर बेष्टस्ट्रोकमा प्रदेश १ का विकासले स्वर्ण जित्नुभएको छ । उहाँले एक मिनेट ७.९३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानी स्वर्ण जित्नुभयो । त्यसैगरी आर्मीका नासिर हुसेनले १ मिनेट ८.४६ सेकेन्डमा पूरा गर्दै रजत पदक जित्नुभयो भने एनआरएनएका आशिष सापकोटाले एक मिनेट ८.८० सेकेन्डमा पूरा गर्दै कास्य पदक जित्नुभयो ।

अर्को पुरुष २०० मिटर बटरफ्लाइमा एनआरएनएका आशिष सापकोटाले २ मिनेट ९.४५ सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्नुभयो । उहाँले यो विधामा नयाँ कीर्तिमानसमेत कायम गर्नुभएको छ । आर्मीका अनुभव सुब्बाले २ मिनेट २६.६० सेकेन्डमा पूरा गर्दै रजत पदक जित्नुभएको छ भने एपिएफका सुरेन्द्रबहादुर सिंहले २ मिनेट २७.४५ सेकेन्डमा पूरा गर्दै कास्य पदकमा चित्त बुझाउनुभयो ।

अर्को खेल महिला ५० मिटर फ्रिस्टाइलमा एनआरएनएका आस्ले सापकोटा डंगोलले स्वर्ण पदक जित्नुभयो । उहाँले २७.८९ सेकेन्डमा दूरी पूरा गर्नुभयो । आर्मीकी गौरिका सिंहले २८.२९ सेकेन्डमा दूरी पूरा गर्दै रजत पदक जित्नुभयो भने २८.७९ सेकेन्डमा दूरी पूरा गर्दै आर्र्मीकै अनुसुया तण्डुकारले कास्य पदक प्राप्त गर्नुभयो ।

पुरुष ५० मिटर पुरुष फ्रिस्टाइलमा आर्मीका अलेकजेण्डर शाहले २३.८७ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जित्नुभएको छ । त्यसैगरी पुलिसका शांखबहादुर रघुवंशीले २४.५३ सेकेन्डमा दूरी पूरा गर्दै रजत र एपिएफका तेन्जिङ नाम्दी गुरुङले २५.८२ सेकेन्डमा पूरा गर्दै कास्य पदक जित्नुभयो । ४०० मिटर फ्रिस्टाइल रिलेमा आर्मीले स्वर्ण, प्रहरीले रजत र बागमती प्रदेशले कास्य पदक प्राप्त गरेका छन् ।

पौडी प्रतियोगितामा आर्मीकी दुवाना लामाले नौ स्वर्ण, एक रजतसहित १० पदक जित्नुभएको छ भने आर्मीकी नाजिर याया हुसेनले सात स्वर्ण, दुई रजत र एक कास्यसहित १० पदक जित्नुभएको छ । एनआरएनएका आस्ले सापकोटा डंगोलले ६ स्वर्ण, दुई रजतसहित आठ पदक र आर्मीकी गौरिका सिंहले पाँच स्वर्ण, एक रजतसहित ६ पदक जित्नुभएको छ । पौडी प्रतियोगितामा ५० स्वर्ण, ५० रजत र ५० कास्य पदकका लागि खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।

साइक्लिङ
गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबार भएको साइक्लिङको इन्डिभिज्युल टाइम ट्र्याल विधामा महिलातर्फ नेपाल आर्मीले र पुरुषतर्फ एपिएफले एक-एक स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । पोखराको याम्दी–हेम्जा सडक खण्डमा भएको महिला इन्डिभिज्युल टाइम ट्र्याल विधातर्फको फाइनल खेलमा २० किलोमिटरको दूरी ३८ मिनेट ३१ सेकेन्ड ४१० मिलिसेकेन्डमा पूरा गर्दै नेपाल आर्मीकी उषा खनालले स्वर्ण पदक जित्न सफल हुनुभएको छ ।

त्यस्तै, उक्त दूरी ४२ मिनेट २० सेकेन्ड ८८६ मिलिसेकेन्डमा पूरा गर्दै एपिएफकी हुमी बुढामगरले रजत पदक जित्नुभएको छ । त्यसैगरी ४२ मिनेट ५५ सेकेन्ड ९६२ मिलिसेकेन्डमा दूरी पुरा गर्दै नेपाल आर्मीकै मञ्जुकुमारी खड्काले कास्य जित्न सफल हुनुभयो ।

पुरुषतर्फको इन्डिभिज्युल टाइम ट्र्याल साइक्लिङमा एपिएफले स्वर्ण र कास्य, नेपाल आर्मीले रजत पदक जित्न सफल भएका छन् । २० किलोमिटरको दूरी ३४ मिनेट ०४ सेकेन्ड ३०९ मिलिसेकेन्डमा पूरा गर्दै एपिएफका सुरज रानामगरले स्वर्ण पदक जित्न सफल हुनुभयो ।
त्यस्तै, नेपाल आर्मीका हिमाल टमाटाले उक्त दूरी ३६ मिनेट ४५ सेकेन्ड ४१९ मिलिसेकेन्डमा पूरा गर्दै रजत पदक जित्नुभयो । त्यसैगरी ३६ मिनेट ५० सेकेन्ड ४४६ मिलिसेकेन्डमा दूरी पूरा गर्दै एपिएफकै लक्ष्मण मल्लले कास्य पदक जित्नुभयो ।

सात प्रदेश र तीन विभागीय गरी दश टिमको सहभागिता रहेको साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री र इन्डिभिज्युल टाइम ट्र्याल विधा सकिएको छ । बुधबार रोड रेस मास स्टार्ट विधा पोखराको हेम्जामा हुनेछ । साइक्लिङमा विभिन्न चार विधामा पुरुष र महिला गरी आठ–आठ स्वर्ण, रजत र कास्यका लागि खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

पुरुष हक्की
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष हक्कीको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ‘क’ मा रहेको आर्मी १२ अंकका साथ समूह विजेता र गण्डकी प्रदेश सात अंकका साथ उपविजेता हँुदै सेमिफाइनल प्रवेश गरेको हो । समूह चरणमा आर्मीले चार खेल खेलेकोमा चारवटैमा जित निकालेको थियो ।

समूह ‘ख’ बाट नेपाल पुलिस विजेता र कर्णाली प्रदेश उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । समूह चरणमा नेपाल पुलिसले खेलेको तीनवटै खेलमा जित निकाल्यो भने कर्णालीले तीन खेलमा दुई खेल जित्दै ६ अंक जोडेको हो । बुधबार हुने पहिलो सेमिफाइनलमा कर्णाली प्रदेशले आर्मीको सामना गर्नेछ । दोस्रो खेलमा गण्डकी प्रदेशले नेपाल पुलिससँग खेल्नेछ ।

मंगलबार भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश १ लाई १-० गोल अन्तरले पराजित गर्दै १२ अंक जोडेको हो । आर्मीका लागि ५७ औं मिनेटमा रोशन चौधरीले गोल गर्नुभएको हो । दोस्रो खेलमा कर्णाली प्रदेशले बागमती प्रदेशलाई १-० गोलले हराउँदै सेमिफाइनल पुगेको हो । निकै महत्वपूर्ण खेलमा कर्णालीलाई सेमिफाइनल पु¥याउन खेलको २६ औं मिनेटमा निरञ्जन रोकायाले गोल गर्नुभएको हो ।

सुटिङ
राष्ट्रिय खेलको सुटिङ प्रतियोगिताअन्तर्गत पुरुष टिम एयर पेस्तोलमा आर्मी पहिलो, बागमती दोस्रो र प्रहरी तेस्रो भएका छन् । सो स्पर्धाको महिलामा आर्मीले स्वर्ण, गण्डकीले रजत र बागमतीले कास्य जिते । मिक्स टिम पेस्तोलमा लुम्बिनी पहिलो, गण्डकी दोस्रो र बागमती तेस्रो भयो । मिक्स टिम राइफलमा आर्मी पहिलो, बागमती दोस्रो र प्रहरी तेस्रो स्थानमा रहेको छ ।

पुरुष टिम इभेन्टको एयर राइफलमा आर्मी प्रथम, बागमती द्वितीय र सुदूरपश्चिम तृतीय भयो । उक्त स्पर्धाको महिलामा आर्मी, प्रहरी र बागमतीले क्रमशः शीर्ष तीन स्थान हात पारे । व्यक्तिगत स्पर्धाको फाइनल बुधबार हुनेछ ।

पुरुष बास्केटबल
गण्डकी प्रदेशको पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष बास्केटबलमा आर्मी, एपिएफ, बागमती र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालामा मंगलबार सम्पन्न ‘थ्री अन थ्री’ बास्केटबल प्रतियोगिताअन्तर्गत समूह ‘ए’ तर्फको पहिलो खेलमा आर्मीले पुलिसलाई २१-२० स्कोरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । मंगलबार नै सम्पन्न दोस्रो खेलमा प्रदेश १ ले मधेशलाई २१-०५ स्कोरले हराएको छ ।

समूह चरणको अंकतालिकामा आर्मी आठ अंकका साथ विजेता बनेको छ भने एपिएफले सात अंक जोड्दै उपविजेता बनेको छ ।
त्यस्तै, समूह ‘बी’ तर्फको पहिलो खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १४-१० स्कोरले हराएको छ । अंकतालिकामा उपविजेता हुँदै सात अंकका साथ बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्यस्तै, दोस्रो खेलमा कर्णालीले लुम्बिनीलाई १९–१० स्कोरले हराएको छ । समूह ‘बी’ अन्तर्गत अंकतालिकामा आठ अंकका साथ गण्डकी विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने बागमतीले सात अंक जोडेको छ । बुधबार बिहान सेमिफाइनलको पहिलो खेल विभागीय टोली एपिएफ र बागमती प्रदेशबीच हुँदैछ भने दोस्रो खेल गण्डकी र आर्मीबीच हुँदैछ । प्रतियोगितामा १० समूह सहभागी छन् भने गत २८ गतेदेखि खेलहरू जारी छन् ।

आर्चरी
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखराको आर्चरी मैदानमा भएको प्रतिस्पर्धामा स्ट्याण्डर्ड पुरुष टिम इभेन्टमा गण्डकीले स्वर्ण जितेको छ । गण्डकीका दुर्गा घर्ती मगर, खड्ग घर्ती, रज्नु पुन र कृष्ण भण्डारीको टिमले सुदूरपश्चिम प्रदेशलाई पछि पार्दै स्वर्ण जितेका हुन् । सुदूरले रजत र नेपाल पुलिसले कास्य पदक प्राप्त गर्‍यो ।

महिलातर्फ सोही विधामा नेपाली सेनाले स्वर्ण हात पार्‍यो । सेनाका शरद बिक, सारु तामाङ, खड्गकुमारी थापा मगर र तुलसी थापा सम्मिलित टिमले सेनालाई स्वर्ण दिलायो । प्रदेश १ ले रजत र गण्डकी प्रदेशले कास्य पायो ।

स्ट्याण्डर्ड मिक्स टिममा पनि सेनाले स्वर्ण जित्यो । सेनाका प्रदिप सुनुवार र शारदा विकको जोडीले सेनाका लागि आर्चरीमा अर्को स्वर्ण जितेका हुन् । यस विधामा गण्डकीले रजत जित्दा एपिएफले कास्य पायो ।

रिकर्भ पुरुष टिमतर्फ गण्डकीले नेपाल पुलिसलाई पराजित गर्दै स्वर्ण हात पा¥यो । एपिएफले कास्य पदक प्राप्त ग¥यो । यसैगरी कम्पाउण्ड पुरुष टिममा गण्डकीले जित निकाल्दै स्वर्ण पदक प्राप्त गर्‍यो । एपिएफले रजत प्राप्त गर्दा सेनाले रजत पदक प्राप्त ग¥यो ।

बास्केटबल
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत तनहुँमा भएको महिला ३ बाइ ३ बास्केटबल प्रतियोगितामा नेपाली सेनाको टोली फाइनल प्रवेश गर्न सफल भएको छ । नेपाली सेनाले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । निर्धारित समयसम्म स्कोर बराबर भएपछि थप गरिएको समयमा शिवांगी लिम्बू र जेनिषा श्रेष्ठले स्कोर गर्दै सेनालाई सेमिफाइनलको यात्र तय गराउनुभयो । निर्धारित समयसम्म सेना र गण्डकीले समान ६-६ अंकको स्कोर गरेका थिए ।

सफ्ट टेनिस
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा जारी सफ्ट टेनिस डबल्सतर्फको दुई स्वर्ण विभागीय टोली नेपाल प्रहरी र एपिएफले बाँडेका छन् । पुरुष युगलतर्फ नेपाल पुलिसका नरबहादुर लुंगेली र कमल भण्डारीको जोडीले प्रदेश नं. १ का युकेश योञ्जन र आशिष बोहराको जोडीलाई ५–३ को सेटले पराजित गर्दै स्वर्ण जितेको हो । बागमती प्रदेशका प्रदीप खत्री र बृजेश पाण्डेको जोडी तथा गण्डकी प्रदेशका शक्ति शर्मा र धर्म लामिछानेको जोडी संयुक्तरूपमा तेस्रो भयो ।

यस्तै, महिलातर्फ एपिएफले स्वर्ण जित्यो । एपिएफका भगवती बिक र समृद्धि महर्जनको जोडीले एपिएफलाई स्वर्ण दिलाएका हुन् । सो जोडीले लुम्बिनी प्रदेशका ऋतिका चौधरी र विमला पन्थीको जोडीलाई ५-० को सोझो सेटले पराजित गर्दै स्वर्ण हासिल गरेको हो । प्रदेश १ की श्रेया योञ्जन र श्रेया राईको जोडी र नेपाल प्रहरीका विष्णा भण्डारी र सिसम चन्दको जोडीले संयुक्त रूपमा तेस्रो हँुदै कास्य पदक प्राप्त गरेको हो ।

म्याराथन
एथलेटिक्स म्याराथन दौडमा गण्डकी प्रदेशका खेलाडी अनिश थापामगरले स्वर्ण पदक जित्नुभयो । अनिशले म्याराथन ४२.१९५ किलोमिटर २ घण्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्नुभएको हो । म्याराथन प्रतियोगितामा १८ जना सहभागी थिए ।
त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत पदक जित्नुभयो । उहाँले २ घण्टा २३ मिनेट १४ सेकेन्डमा दूरी पूरा गर्नुभयो । सशस्त्र प्रहरी बल एपिएफका सन्तोषविक्रम विष्टले २ घण्टा ३० मिनेट ५४ सेकेन्डमा दूरी पूरा गर्दै कास्य पदक जित्नुभयो । राष्ट्रिय खेलकुदको इतिहासमा म्याराथनमा गण्डकीले स्वर्ण पदक जितेको यो पहिलो रेकर्ड हो ।

महिलातर्फ एपिएफकी बृन्द्राधन श्रेष्ठले स्वर्ण हात पार्नुभयो । उहाँले उक्त दूरी २ घण्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्णमा आफ्नो नाम अंकित गर्नुभयो । दोस्रो स्थानमा रहनुभएकी आर्मीकी विश्व बुढा मगरले ३ घण्टा ०० मिनट ३५ सेकेन्ड र पुलिसकी रेखा बिष्टले तीन घण्टा एक मिनेट ३५ सेकेन्डमा दूरी पुरा गर्दै कास्य पदक जित्नुभयो ।

रग्बीमा आर्मी, एपिएफ र लुम्बिनी फाइनलमा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत लेखनाथस्थित भण्डारढिक खेलमैदानमा भएको रग्बीको सेमिफाइनल चरणका खेलहरू सम्पन्न भएका छन् । पुरुषतर्फको सेमिफाइनलमा विभागीय टिम नेपाल आर्मीलाई ५–० अंकले पराजित गर्दै लुम्बिनी प्रदेश फाइनलमा प्रवेश गरेको छ भने गण्डकी प्रदेशलाई १७–७ को फराकिलो अन्तरले पराजित गर्दै सशस्त्र प्रहरीको विभागीय टिम एपिएफले फाइनलको यात्रा तय गरेको छ ।

यस्तै, महिलातर्फको खेलमा आर्मीले मधेश प्रदेशलाई १७-५ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ भने एपिएफले सुदूरपश्चिम प्रदेशलाई १०–० अंकको अन्तरले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको छ । प्रतियोगिताको तेस्रो स्थानका लागि पुरुषतर्फ आर्मी र गण्डकी प्रदेश भिड्नेछन् भने महिलातर्फ मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्नेछन् ।

आर्मी र लुम्बिनी प्रदेशबीचको खेल चलिरहँदा आर्मीका खेलाडीले हाई ट्याकल गरेपछि एल्लो कार्ड पाएका थिए । एल्लो कार्डको विषयमा भएको विवादका कारण दिउँसो केहीबेर खेल अवरुद्धसमेत भएको थियो । अफिसियलहरूसँगको छलफलपछि खेल पुनः सञ्चालन भएको थियो । फाइनल चरणका खेलहरू बुधबार हुनेछन् ।

सेपाकताक्रो
पूर्वी नवलपरासीको कावासोतीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सेपाकताक्रोमा बागमतीले स्वर्ण पदक हात पारेको छ । सेपाकताक्रोको क्वार्ड विधाअन्तर्गतको पुरुषतर्फ बागमतीले गण्डकीलाई २-० को सोझो सेटमा हराउँदै स्वर्ण जितेको हो ।
बागमतीका लागि सुजन थिङ, राजन नेपाली, जिम्मी कपाली, रविन भट्टराई, संगीन थापामगर र क्षितिजकुमार धामीको समूहले स्वर्ण दिलाएको हो । गण्डकीका लागि युवारास गुरुङ, अर्जुन राना, विजय महतो, विपिन थनेत, पद्मबहादुर ठाडा मगर र निरन गुरुङको समूहले रजत पदक दिलायो । गण्डकीले रजततर्फ चित्त बुझाउँदा कास्य पदक भने प्रदेश १ ले जितेको छ ।

महिला र पुरुषको फरक–फरक तीनवटा विधामा छवटा स्वर्ण पदकका लागि जारी प्रतियोगितामा डबलतर्फ महिला र पुरुषको दुवै तथा रेगु महिलातर्फको एक गरी विभागीय टोली नेपाली सेनाले तीनवटा स्वर्ण पदक जितेको छ । सेपाकताक्रो रेगु पुरुष र क्वार्ड महिलातर्फको फाइनल बुधबार हुनेछ ।

महिला र पुरुषको फरक-फरक तीनवटा विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं. १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका छन् । गएको असोज २८ गतेदेखि पूर्वी नवलपरासीको कावासोतीमा रहेको योंगस्टार क्लबको कभर्डहलमा जारी प्रतियोगिताको समापन बुधबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?