काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतकका बाबजुद ट्वान्टी-२० शृंखलाको दोस्रो खेलमा वेष्ट इण्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा जितका लागि १६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १५० रनमा समेटिएको थियो । यससँगै पाँच खेलको सिरिजमा एक-एकको बराबरी भएको छ ।
नेपाललाई जितका लागि अन्तिम ओभरमा १७ रनको आवश्यकता थियो । पहिलो बल डट खेल्नुभएका रोहितले दोस्रो बलमा चौका प्रहार गर्नुभयो । तेस्रो बलमा दुई रन लिन खोज्दा आकाश चन्द आउट भएपछि नेपाललाई जितका लागि तीन बलमा १२ रनको आवश्यकता थियो । चौथो बलमा ब्याटिङका लागि क्रिजमा आउनुभएका सागर ढकालले एक रन लिँदै रोहितलाई स्ट्राइक दिनुभएको थियो । तर, पाँचाँै बलमा रोहितले रन जोड्न सक्नुभएन । अन्तिम बल पनि डट भएपछि नेपाल १० रनले पराजित भएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले अविजित ७१ रन बनाउनुभयो । रोहितले ७१ रन बनाए पनि टिमको हार टार्न सक्नुभएन । उहाँले ४८ बलमा ६ चौका र दुई छक्का प्रहार गर्नुभएको थियो ।
गुलशन झाले २६ रन जोड्नुभयो । उहाँले ११ बलमा तीन चौका र दुई छक्कासहित २६ रन बनाउनुभएको थियो । लोकेश बमले १७ र आरिफ शेखले १२ रन बनाउनुभयो । यसबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङमा वेष्ट इण्डिज ‘ए’ का ओवेड म्याकवे, गुडाकेश मोतीले दुई-दुई विकेट लिनुभयो । ओसानी थोमस र रोस्टन चेसले एक एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १६० रन बनाएको थियो । वेष्ट इण्डिजका एन्ड्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाउनुभयो । उहाँले ३६ बलमा तीन चौका प्रहार गर्नुभयो । कप्तान रोस्टन चेजले २३, ओपनर जोन्सन चाल्र्सले ११ र केसी कार्टीले १० रन थप्नुभयो । नवौँ नम्बरमा ब्याटिङका लागि आउनुभएका बुडाकेस मोटीले आठ बलमा दुई चौका र चार छक्कासहित अविजित ३३ रन बनाएपछि वेष्ट इण्डिजले १५० रन कटाएको हो ।
बलिङमा नेपालका सागर ढकाल र कुशल भुर्तेलले दुई-दुई विकेट लिनुभयो । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट झार्नुभयो ।
नेपाली टिममा आइतबार लोकेश बम, सोमपाल कामी, आरिफ सेख, सागर ढकाल, आकाश चन्दले प्लेइङ–११ मा मौका पाउनुभएको थियो । उहाँहरूले विवेक यादव, कमलसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी र अभिनाश बोहराको स्थानमा मौका पाउनुभएको हो ।
पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । शनिबारको पहिलो खेलमा नेपालले २०५ रनको लक्ष्य दुई बलअगाडि नै भेट्टाउँदा चार विकेटको जित हासिल गरेको थियो । जसमा कप्तान रोहित पौडेलले ५४ बलमा ११२ रनको महत्वपूर्ण इनिङ खेल्नुभएको थियो ।
दुई टोलीबीच तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ । नेपालले वेष्ट इण्डिज ‘ए’ सँग आगामी जुनमा आयोजना हुने आइसिसी टी-२० विश्वकप तयारीका लागि सिरिज खेलेको हो ।
प्रेसर अझै राम्रोसँग म्यानेज गर्नुपर्छ : प्रशिक्षक मोन्टी
नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले आफ्नो टोलीले अझ राम्रोसँग प्रेसरलाई म्यानेज गर्नुपर्ने बताउनुभएको छ । वेस्ट इण्डिज ‘ए’ सँगको दोस्रो ट्वान्टी-२० क्रिकेटमा आईतवार हार व्यहोरेपछि प्रशिक्षक मोन्टीले सो धारणा व्यक्त गर्नुभएको हो । बलिङमा साझेदारी राम्रो रहेको उल्लेख गर्दै प्रशिक्षक मोन्टीले सागर ढकाल र कुशल भुर्तेलको बलिङ सुखद् रहेको बताउनु भयो । प्रशिक्षक मोन्टीले राम्रो शुरुवात गरे पनि लोकेश बमको क्रयाम्पपछि मोमेन्टन चेन्ज भएको प्रतिक्रिया दिनुभयो । पावर प्लेमा छिटै विकेट पतन हुँदा दबाबमा परेको उहाँको भनाइ थियो । तर, त्यो दबाब नेपालले अझै राम्रोसँग म्यानेज गर्नसक्ने प्रशिक्षक मोन्टीको बुझाइ छ ।
प्रशिक्षक मोन्टीले ट्वान्टी-२० मा यस्तो अवस्था आउने बताउनु भयो । तर, यहाँबाट सिक्नुपर्ने उहाँको भनाइ छ । प्लेइङ एलाभेनमा सबैलाई आफ्नो भूमिका राम्रोसँग दिइएको हुने तर त्यसअनुसार हुन नसकेको प्रशिक्षक मोन्टीको भनाइ छ । उहाँले आइतबारको खेलमा ब्याटिङ साझेदारीमा कमी देखिएको पनि बताउनु भयो । यद्यपि, रोहितले राम्रो खेलेको उहाँको प्रतिक्रिया थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच