काठमाडौं र धरानमा साइरनरुपी उदाएका युवाहरुको भाषा बुझ्न जरुरी छ : सभामुख सापकोटा

Read Time = 4 mins

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले युवाहरुको आवाजलाई अहिले सिंगो राष्ट्रले बुलन्द गरिरहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले यस्तो बताउनुभएको हो ।
उहाँले अहिले राष्ट्रमा काठमाडौं र धरान लगायतका स्थानमा युवाहरुको आवाजरुपी संकेतको रुप देखापरेको बताउनु भयो ।

सभामुख सापकोटाले युवाहरुको आवाज बुलन्द गर्ने छिटपुट संकेत देखा परेपनि साइरनरुपी यी संकेतको भाषा बुझ्न आवश्यक रहेको बताउनु भयो । उहाँले पर्याप्त फलफूल, तरकारी, खाद्यान्न उत्पादन गर्ने नेपालजस्तो उर्वरभूमिमा २ खर्ब ५० करोडको खाद्यवस्तु आयात हुनु दुःखद् भएको बताउनु भयो ।

सभामुख सापकोटाले खरानीसमेत नेपालमा आयात हुन्छ भन्ने सुन्दा अचम्मित भएको बताउनु भयो ।

सभामुख सापकोटाले भन्नुभयो, ‘हामी कति विडम्वनापूर्ण स्थितिमा बाचिरहेका छौँ भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठूलो मात्रामा उत्पादन गर्नसक्छौँ तर गुन्द्रुकसमेत अन्तबाट आयात गर्छौं । जनै लाउँछौँ तर नलगाउने चीनबाट पठाइदिन्छन्, राखी त्यस्तै । खरानीसमेत नेपालमा आयात हुन्छ । यो सुनेर आफैं अचम्मित छु । २ खर्ब ५० करोडको हामी खाद्यवस्तुहरु आयात गर्छौं । यो भन्दा लज्जा र चिन्ताजनक स्थिति के हुन्छ । युवाहरुको आवाजलाई अहिले सिंगो राष्ट्रले धेरै राम्रोसँग बुलन्द गरिरहेको छ । अहिले त छिटपुट संकेतहरु मात्रै देखा परेका छन्, काठमाडौं, धरान लगायतका ठाउँहरुमा । यो संकेत मात्रै हो, साइरन हो यो । साइरनको भाषा हामीले बुझ्नुपर्छ ।’
सभामुख सापकोटाले विश्वभर अराजकता र एक प्रकारको अन्तरबिरोध मडारिन थालेको बताउनु भयो । उहाँले संसारको ध्यान व्यापार, हतियारको होडबाजी र सैन्य क्षेत्रमा नै केन्द्रित भइरहेको बताउनु भयो ।

उहाँले नेपालमा पनि राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । सभामुख सापकोटाले जलवायु परिवर्तनका असर र प्रभावहरु एकपछि अर्को गरेर गम्भीर रुपमा देखापरिरहेको उल्लेख गर्दै यसलार्य समाधान गर्ने दिशमा अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तन्का अकल्पनीय घटना भइरहेको बताउनु भयो ।

सभामुख सापकोटाले जलवायु परिवर्तनको शिक्षालाई राम्रोसँग अध्ययन गर्न नसके र यसका असर, प्रभावका बारेमा विश्लेषण गर्ने र बच्नेतिर ध्यान दिन नसके ठूलो दुर्घटना हुने बताउनु भयो । उहाँले नेपालले अहिले हरित क्रन्तितिर नै ध्यान दिनुपर्ने आवश्यक्ता रहेको भन्दै पर्यावरण र वातावरण संरक्षणमा ध्यान दिन अति जरुरी भएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?