मेरो नियुक्तिमा फिफा र एएफसीलाई कुनै समस्या छैन : थापा

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाका छोरा गौरव थापाले एन्फामा आफ्नो सम्भावित नियुक्तिका विषयमा स्पष्ट पार्नुभएको छ । फिफाले १० वर्ष फुटबलमा प्रतिबन्ध लगाएका गणेशका छोरा गौरवलाई एन्फाले सिइओ वा उपमहासचिवमा नियुक्त गर्न लागेको समाचार बाहिरिएको थियो । उक्त समाचार बाहिरिएपछि एन्फा सदस्यहरू नियुक्त गर्न हुने वा नहुने पक्षमा उभिएका छन् ।

गत साउन २ गतेका लागि तोकिएको एन्फाको कार्यसमिति बैठक अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ भएपछि सरेको थियो । लगत्तै साउन ५ गते बैठक सुरु भए पनि एजेन्डामा प्रवेश नगरी सकिएको थियो । उक्त बैठकमा थापालाई एन्फामा भिœयाउने चर्चा चलेपछि त्यसबारे स्पष्ट पार्न सदस्यहरूले भनेका थिए ।

गौरवले यसअघि पनि एन्फामा काम गरिसक्नुभएको छ । उहाँले फिफा, एएफसी, ओलम्पिकलगायत विभिन्न स्थानमा काम गर्नुभएको छ । उहाँले आफ्नो व्यक्तिगत फाइदाको घेरामा रुमलिरहेका केही स्वार्थी मानिसहरूले लगातार गलत सूचनाहरूमार्फत् अफवाह फैलाइरहेकाले दुःखका साथ आफ्ना भनाइहरू स्पष्ट पारिरहेको उल्लेख गर्नुभएको छ ।

‘पछिल्ला दिनहरूमा यदि मलाई एन्फामा नियुक्त गरिएमा फिफा र एएफसीले अस्विकार गर्छ भन्ने जस्ता नकारात्मक, भ्रामक र प्रायोजित खबरहरू नियमितरूपमा प्रवाह गरिरहेकोमा मेरो ध्यानाकर्षण भएको छ,’ उहाँले उल्लेख गर्नुभएको छ, ‘यो सफेद झुट र प्रायोजितरूपमा चलाइएको प्रोपोगन्डामात्र हो, वर्तमान अध्यक्ष र महासचिवले गत महिना फिफा र एएफसीमा पटक-पटक सम्पर्क गरेर यो विषयमा स्पष्टता खोजेको मेरो जानकारीमा छ । मेरो नियुक्तिमा फिफा र एएफसीलाई कुनै समस्या नरहेको प्रष्ट पारिसकेको छ ।’

गौरवले महासचिवलाई आफ्नो विषयमा फोन, म्यासेज र प्रत्यक्ष भेटघाटको बेला पनि आफ्नो नियुक्तिले कुनै फरक नपर्ने विषय स्पष्ट पारिसकेको उल्लेख गर्नुभएको छ । उहाँले महासचिव साफको बैठकका लागि बंगलादेश जाँदा एएफसीका केही अधिकारीहरूसँग भेट भएको र त्यहाँ उहाँलाई यो विषयले कुनै फरक नपार्ने स्पष्ट जानकारी गराइएको समेत उल्लेख गर्नुभएको छ ।

गौरवले २०१३ देखि २०१८ को बीचमा पटक-पटक एन्फामा काम गरिसकेको पछिल्लोपटक २०१७ मा नरेन्द्र श्रेष्ठ अध्यक्ष हुँदा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखका रूपमा काम गरेको, फिफा र एएफसीको म्याच कमिस्नरको काम गरेको, एएफसी फुटबल एडमिनिस्ट्रेसन सर्टिफिकेट कोर्स पूरा गरेकाले आफू सिनियर पदका लागि योग्य रहेको जिकिर गर्नुभएको छ ।

कर्माछिरिङ शेर्पाले २०१८ मा चुनाव जित्दा पनि आफू एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख पदमै रहेको स्मरण गर्दै गौरवले निर्वाचनबाट आएको नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई असहज हुन सक्ने ठानेर चुनावको भोलिपल्टै आफूले राजीनामा गरेको उल्लेख गर्नुभएको छ । ‘मैले एन्फामा काम गरेको समयमा कुनै समस्या आएको थियो वा उनीहरूले अहिले प्रस्तुत गरिरहेको दुर्भावनापूर्ण एजेन्डामा बल पुग्ने कुनै घटना भएको थियो ? यस्ता अनर्गल र हावादारी कुरा गरेर कसैको व्यक्तित्वमाथि धावा बोल्न खोज्दा उनीहरूले यस्ता प्रश्नको उत्तर दिन सक्नुपर्छ,’ गौरवले प्रश्न गर्दै भन्नुभएको छ, ‘अहिले केही स्वार्थी मानिसहरूले स्थापित गर्न खोजेको भाष्यमा न कुनै तर्क छ, न सत्यता नै, फिफा र एएफसीलाई अमान्य हुने गरी मैले एन्फामा कुनै पनि भूमिका चाहेको छैन । मैले कहिल्यै पनि एन्फामा कुनै पदका लागि कसैलाई अनुरोध वा दबाब दिएको छैन । बरु वर्तमान अध्यक्ष र महासचिवले नै उहाँहरूलाई सहयोग गर्न भनेर मेरो नाम प्रस्ताव गर्नुभएको हो ।’

गौरवले वर्तमान अध्यक्ष, महासचिव र कार्यसमितिका पदाधिकारी र सदस्यहरूसँग आफ्नो विषयमा छलफल भएको उल्लेख गर्दै उहाँहरूले प्रत्येक पटक बजारमा प्रचार गरिएजस्तो कुनै समस्या नरहेको बताउँदै आउनुभएको बताउनुभएको छ । ‘नेपाली फुटबलको विनाश चाहने एउटा समूहले संगठितरूपमा गरिरहेको षड्यन्त्र दुर्भाग्यपूर्ण छ, अझ त्यसमा मेरो नामसमेत जोडिनु झनै आश्चर्यजनक र दुखद छ, म फेरि पनि प्रष्ट पार्न चाहन्छु कि यस्तो फोहोरी राजनीतिमा मेरो हिजो पनि कुनै संलग्नता थिएन, अहिले पनि छैन,’ गौरवले उल्लेख गर्नुभएको छ, ‘म फुटबलको एउटा व्यावसायिक व्यक्ति हुँ र नेपाली फुटबलका लागि आवश्यक पर्दा आफ्नो क्षमताअनुसार योगदान गर्न कहिल्यै पछि पर्ने छैन ।’

फिफा, एएफसी र एन्फामा कुनै समस्या नभए पनि केही स्वार्थी मानिसहरूले निश्चित मिडियालाई गलत सूचना दिएर विवाद सिर्जना गर्दै नेपाली फुटबललाई अप्ठ्यारोमा पार्ने काम गरिरहेको गौरवको जिकिर छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?