गौतमबुद्ध विमानस्थलमा राष्ट्रिय ध्वजावाहक वाइडबडी जहाज

Read Time = 8 mins

दीपक घिमिरे/हिटा
भैरहवा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालको दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजावाहक जहाज अवतरण गरेको छ । विमानस्थलमा वाइडबडी ए-३३० जहाज बिहीबार अवतरण गरेको हो । विमानमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पर्यटन सचिव महेश्वर न्यौपाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारी प्राधिकरणका प्रतिनिधि, पत्रकारसहित पूर्ण क्षमतामा विमान आएको हो । विमानमा २७४ सिट क्षमता रहेको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले गौतमबुद्ध विमानस्थलमा ‘अप्रेशनल पर्फमेन्स टेष्ट फ्लाइट’ गरेको हो । दिउँसो ३ बजे आउने भनिएको जहाज साँझ पौने ६ बजे मात्रै विमानस्थलमा अवतरण गरेको थियो ।

गौतमबुद्ध विमानस्थल राष्ट्रिय गौरवको आयोजना सम्पन्न भएर पूर्ण कार्यान्वयनमा आएको पहिलो आयोजना हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान-अवतरण गर्नेछन् । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरुमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरबाहीले अवरोध भएको थियो । पछिल्लोपटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएको हो ।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ । अब दोस्रो चरणको टर्मिनल भवनको काम पनि छिट्टै अघि बढाइने विमानस्थलले जनाएको छ । कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने प्राधिकरणले बताएको छ ।

बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने तयारी गरेको छ । टिआइएसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २४सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

विमानस्थलको नयाँ धावनमार्ग अघिल्लो हप्तादेखि सञ्चालनमा आइसकेको छ । पुरानो धावन मार्गलाई ट्याक्सी पार्किङको रूपमा प्रयोग गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत वैशाख ८ देखि आन्तरिक रूपमा सञ्चालनमा आइसकेको हो । यद्यपि, यो विमानस्थलमा आगामी जेठ २ बुद्धपूर्णिमाका दिनदेखि नियमित तथा व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ ।

कुवेती जहाज कम्पनी जजिरा एयरवेजले आउँदो जेठ २ देखि हप्ताको तीन दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति लिएको छ । उसले सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ । यस्तै, अन्य वायुसेवा कम्पनीहरूले पनि चासो देखाइरहेको विमानस्थल प्राधिकरणले जनाएको छ ।

१८ घण्टा उडानतर्फ पाँच कम्पनीको असहमति
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पुर्‍याएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रात्रिकालीन उडान गर्न मिल्ने गरी चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई दैनिक १८ घण्टा सञ्चालनको अनुमति दिएको हो ।

हालसम्म १२ घण्टा मात्र सञ्चालन हुँदै आएका यी विमानस्थलमा बिहान ६ देखि राति १२ बजे गरी १८ घण्टासम्म सञ्चालन हुने भएका छन् । विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका विमानस्थल रातिसम्म सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने भएको छ ।

तर, पाँचवटा एयरलाइन्सहरूले भने साँझ आठ बजेपछिका सम्पूर्ण उडान स्थगत गर्ने भएका छन् । बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स र गुण एयरलाइन्सले उडान स्थगन गर्ने भएका हुन् । विविध प्राविधिक कारणले गर्दा हाललाई आठ बजे पछिका नियमित तर्फका उडानहरू गर्न सक्ने अवस्था नरहेको भन्दै वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गरेको छ ।

अन्य पूर्वाधार र सम्भावनासम्बन्धी विस्तृत छलफल गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समयसमेत माग गरिएको अवस्थामा प्राधिकरणले बुधबार जारी गरेको ‘स्लट’सम्बन्धी नयाँ व्यवस्था अनुरूपको तालिका संलग्न गर्न सदस्य वायुसेवा कम्पनीहरूले नसक्ने भन्दै संघले उडाउन स्थगनको निर्णय गरेको हो ।

संघले गत वैशाख ३ गतेकै स्लटसम्बन्धी व्यवस्था हाललाई लागू गर्न माग गरेको छ । मागेजस्तो अनुमति प्राप्त नभएमा संघका सदस्य वायुसेवा कम्पनीहरूले सम्पूर्ण उडानहरू स्थगन गरिने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?