मुलुक समृद्धिका पाँच आधार

Read Time = 16 mins

✍️ गणेश सुवेदी

भाषा, कला, साहित्य, गीतसंगीत, भेषभूषा, रहनसहन, चालचलन, रीतिरिवाज, मेला, जात्रा, पर्वलगायतका धार्मिक तथा सांस्कृतिक विविध आयामले शृंगारित नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुआयामिक मुलुक हो । मुलुककै मौलिक पहिचानका रूपमा रहेका यस्ता मौलिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा राज्यको पहिलो नजर हुनुपर्दछ, तबमात्र मुलुक समृद्धिको यात्रामा अघि बढ्न सक्दछ । हाम्रो मौलिक संस्कृति नै हाम्रो पहिचान हो र विश्वबाट लगभग विलुप्त हुन लागेको मानवीय सभ्यता र संस्कार हाम्रोजस्तो मुलुकमा हुनु नै हाम्रो लागि सौभाग्यको विषय हो ।

समय एकदम छिटोछिटो कुदिरहेको छ र मानवीय मनहरू साँघुरिँदै गएका छन् । आफू केन्द्रित गतिविधिमा मानिसको अत्याधिक चासो र सक्रियता छ । ‘आफैँमात्र खाँउ, आफूमात्र बाँचौँ’ भन्ने संस्कारको विकास भएको छ । ‘तातै खाऊँ, जली मरौँ’ भन्ने उक्तितर्फ अघि बढेको विश्वको अवस्था हेर्दा हामी अझै पनि ‘वसुधैव कुटुम्बकम्’ तथा ‘अतिथि देवो भवः’ लगायत मूलमन्त्रको आदर्शमा बाँचिरहेका छौँ अर्थात् ‘बाँचौँ र बचाँऔं’ नै हाम्रा आदर्श र जीवन दृष्टिकोण हुन् ।

नेपाल सभ्यतामात्रै होइन प्राकृतिक स्रोतसाधनले पनि सम्पन्न छ । भौगोलिक विविधता तथा वीरता र धीरताका कारण पनि नेपालको बहुआयामिक परिचय स्थापित भएको छ । प्राकृतिक सुन्दरता, जैविक विविधता, जल, जमिन, जंगल र जडिबुटीको प्रचुरता हाम्रो बहुमूल्य पहिचान हो । यसको जगमा उभिएका हामी यसैलाई आधार बनाएर अगाडि जान सकिरहेका छैनौं । व्यावसायिक रूपमा केही व्यवसायीहरूले यसको महत्वबोध गर्दै व्यावसायिकता अँगाले पनि समग्रतामा यसले गति लिन सकेको छैन । दीर्घकालीन गुरुयोजना र यसको सम्भाव्यताको विश्लेषण केवल कागजी रूपमा मात्र भएको छ । यथार्थमा यसले गति लिन सकेको छैन ।

नेपाल सभ्यता मात्रै होइन प्राकृतिक स्रोतसाधनले पनि सम्पन्न छ । भौगोलिक विविधता तथा वीरता र धीरताका कारण पनि नेपालको बहुआयामिक परिचय स्थापित भएको छ । प्राकृतिक सुन्दरता, जैविक विविधता, जल, जमिन, जंगल र जडिबुटीको प्रचुरता हाम्रो बहुमूल्य पहिचान हो ।

रेमिटेन्सबाट चलेको मुलुकको रूपमा अहिले हाम्रो परिचय स्थापित छ । बेरोजगार नेपाली युवाहरूले वैदेशिक रोजगारी गर्दै कमाएको र घरमा पठाएको पैसा नै मुलुकको पहिलो आर्थिक आधारस्तम्भ हो । प्रचुर कृषि उत्पादनको राम्रो सम्भावना भएको मुलुकले खाद्यवस्तु आयातलाई विस्थापन गर्न नसक्नु योभन्दा ठूलो दुर्भाग्य अरू के हुनसक्छ र ? आफ्नो खेतबारी बाँझो राखेर बजारबाट खरिद गरेर वस्तु भित्र्याउने संस्कार हामीमा विकास भइसकेको छ । यस विषयमा न त राज्य गम्भीर छ न त हामी नै ।

हामी आम्दानीको अधिकांश प्रतिशत आयातका लागि बाहिरी मुलुकमा पठाउने गर्दछौँ चाहे त्यो सौन्दर्य प्रशाधनमा होस् या खाद्यवस्तुमा । तेलजन्य वस्तुसँगै लत्ताकपडा, मानवीय जीवनमा अत्याधिक आवश्यक वस्तु वा पदार्थ हामी आयात गर्दछौँ । दुःख गरी कमाएको अथवा ऋणस्वरूप लिएको रकम हामीले बाहिरी मुलुकमा पठाउनु नै हाम्रो दुर्भाग्य हो । दुःखले आर्जन गरेको पैसा नेपालीकै हातमा नपुग्नु नै हामी आर्थिक रूपमा कमजोर हुँदैछौँ है भन्ने संकेत हो । यसले विस्तारै देशलाई टाट पल्टिने अवस्थामा पुर्‍याउँछ ।

मुलुकभित्र र बाहिर अहिले श्रीलंकाको चर्चा चलिरहेको छ । श्रीलंकाको दूरावस्था पनि यही कारण भएको हो । मुलुक आफ्नो उत्पादनमा आत्मनिर्भर हुन सकेन । पर्यटनलाई मात्र पहिलो आर्थिक आधार बनाएर जाँदा कोभिडको कारण पर्यटन उद्योग ठप्प भयो । पर्यटकहरूको आवागमन बन्द भयो । जसले गर्दा देश नै टाट पल्टिने अवस्थामा पुग्यो । यस कुरालाई दृष्टिगत गर्दै सचेत भएर अगाडि वढ्नु नै विकासोन्मुख मुलुकको बुद्धिमानी हो ।

नेपाल सानो तथा सुन्दर देश त्यसमा पनि प्रचुर सम्भावनाको खानी । यसलाई विश्वमा नै नमुना तथा आकर्षक मुलुकको रूपमा विकास गर्न सक्ने प्रचुर बलिया आधारहरू छन् । तीमध्ये पाँचवटा क्षेत्रलाई मात्रै पनि विशेष आधार बनाएर अघि बढ्ने हो भने मुलुक संसारकै धनी देश बन्न सक्दछ ।

१. खनिज पदार्थको उत्खनन् तथा व्यावसायिक प्रवद्र्धन :
नेपालको भौगोलिक विविधता यहाँको प्रमुख आर्थिक आधार स्तम्भ हो । तीमध्ये जमिनमुनि रहेका खनिज पदार्थहरूको उत्खनन् र व्यावसायिक प्रवद्र्धन गर्न सके अरू केही दुःख गर्नु पर्दैन । बालुवा चालेर सुन टिप्ने, कोदालो खन्दा कोइलालगायत खनिज पदार्थ भेटिने देश हो नेपाल । सुनखानी, तामाखानी, फलामखानी र कोइलाखानी जस्ता आर्थिक उपार्जनका ठूलाठूला स्रोतहरू प्रशस्तै छन् नेपालमा । जमिनमुनि वैकल्पिक ऊर्जाका स्रोतहरू ग्यास तथा तेलखानी रहेका छन् । जमिनमा थुप्रिएर रहेको खनिज तथा तेलजन्य पदार्थहरू उत्खनन् गरी व्यावसायिक प्रवद्र्धन गरी मुलुकलाई समृद्धिको मार्गमा लान सकिन्छ तर यसतर्फ राज्यको ध्यान कहिल्यै जान सकेन । त्यसैले अबका दिनमा राज्य सञ्चालकहरूले यसतर्फ सचेत भएर लाग्न जरुरी देखिन्छ ।

२. कृषिमा आधुनिकीकरण र व्यवस्थित बजारीकरण :
कृषिप्रधान देशको परिचयमा हामीहरू सदियौंदेखि बाँचिरहेका छौँ । हामीसँग प्रशस्त उब्जाउ जमिन पनि छ तर व्यावसायिक रूपमा हामी अघि बढ्न नसक्दा निर्वाहमुखी उत्पादनमा अल्झिएका छौँ । कृषि उत्पादनमा अत्याधिक सफल मुलुक इजरायल अहिले विश्वभर कृषि क्रान्तिमा फड्को मार्ने पहिलो मुलुकको रूपमा चिनिन्छ । जहाँ करिब २ देखि ३ प्रतिशत जनतामात्र व्यावसायिक उत्पादनमा सक्रिय छन् । त्यति थोरै प्रतिशत जनता कृषिमा आबद्ध हुने इजरायल खाद्यवस्तुमा आत्मनिर्भर भई कृषिवस्तु निर्यात गर्दै आएको छ । तर, जहाँका ६० प्रतिशत जनता कृषि उत्पादनमा सक्रिय छन्, त्यस मुलुकले खाद्यवस्तुमा आत्मनिर्भर हुन नसक्नु कस्तो लज्जास्पद विषय होला ?

सरकारले कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण तथा बजारीकरणको नारा दिएर अघि बढिरहेको छ । विभिन्न वस्तु उत्पादनमा आर्थिक अनुदान पनि उपलब्ध गराउँदै आइरहेको छ तर आयात प्रतिस्थापन गर्न सकिरहेको छैन । त्यही इजरायलको उत्पादन हामी आयात गर्न बाध्य छौँ । यसर्थ कृषिमा अनुदानमात्रै होइन उत्पादनमा जनतालाई अग्रसर बनाउँदै त्यसको विविधीकरण र बजारीकरणका लागि राज्य नै अगाडि सर्नु पर्दछ । त्यसै गरी पशुपंक्षीपालन, मत्स्यपालन, मौरीपालनतर्फ हावापानी र अवस्था सुहाउँदो व्यावसायिक सम्भाव्यताको खोजी गरी त्यसतर्फ पनि अग्रसर गराउने खालका कार्यक्रमहरू सञ्चालन गरिनु पर्दछ । यसका साथै शीत भण्डार गृह तथा दूध संकलन केन्द्र निर्माण गरेर जनतालाई थप उत्पादनका लागि अभिप्रेरित गर्नु पर्दछ ।

३. विद्युतीय ऊर्जामार्फत तेलजन्य पदार्थ विस्थापन :
तेलजन्य पदार्थ खरिदमा मात्रै मुलुकको खर्बाैं रकम विदेशिने गरेको छ । अबको समय बनेको विद्युतीय ऊर्जालगायत वैकल्पिक ऊर्जाको समय हो । विद्युत उत्पादनमा वृद्धि गरी विद्युतीय ऊर्जामा आधारित मेसिनरी तथा सवारीसाधन सञ्चालनतर्फ राज्य अग्रसर हुनु पर्दछ अनिमात्र तेलजन्य पदार्थ खरिदमा बाहिरिने खर्बाैं बराबरको राष्ट्रिय ढुकुटीलाई नेपालमै रोक्न सकिन्छ ।

४. संस्कृति संरक्षण तथा प्रवद्र्धन :
मुलुकको मौलिक सम्पदाको रूपमा रहेका संस्कृतिका विविध आयामहरूको संरक्षण तथा प्रवद्र्धनमार्फत पनि राज्यले प्रशस्तै मुनाफा आर्जन गर्न सक्दछ । यहाँको भाषा, कला, साहित्य, गीतसंगीत, भेषभूषा, रहनसहन, चालचलन, रीतिरिवाज, मेला, जात्रा, पर्व, संस्कार, संस्कृति जस्ता मौलिक सम्पदाको अध्ययन तथा दृष्यावलोकन गर्न हजारौं विदेशी पर्यटकहरू नेपाल आउने गर्दछन् । परसंस्कृति ग्रहणको साटो आफ्नो संस्कृतिको रूपमा रहेका भाषा, भेषभूषालगायत यहाँको बहुआयामिकतालाई प्रवद्र्धन गर्नु नागरिकको पनि दायित्व हो । यसतर्फ राज्य र नागरिक समाज मिलेर समान धारणा बनाई यसको प्रवद्र्धन गर्नका लागि अघि बढ्नुपर्दछ ।

५. पर्यटन प्रवद्र्धन :
आन्तरिक तथा बाहृय पर्यटकहरूका लागि आकर्षक गन्तव्यको रूपमा परिचित बनाएर पर्यटनमार्फत मुलुकले राम्रो आर्थिक लाभ लिन सक्दछ । नेपाल सगरमाथाको देश, गौतम बुद्धको देश तथा राजा जनक, सीता र भृकुटीको देश र धार्मिक आस्थाको केन्द्र पशुपतिनाथ तथा मुक्तिनाथको देश । धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, साहसिक पर्यटन, जैविक तथा प्राकृतिक स्रोतसाधनमा आधारित पर्यटनलगायत जुनसुकै पर्यटकीय सम्पदाहरूको रूपमा पनि सम्पन्न मुलुक नेपालले पर्यटन प्रवद्र्धनमार्फत मनग्य आर्थिक उपार्जन गर्नसक्ने सम्भावना रहेका छन् । विश्वका दुर्लभ एकसिंगे गैँडा, पाटेबाघ, कृष्णसार, डाँफेलगायत विविध वन्यजन्तु तथा चराचुरुंगीसमेत रहेको नेपाल जता फर्केर हेरे पनि र जहाँ टेके पनि सुन्दर, शान्त तथा आकर्षक नै छ ।

आन्तरिक तथा बाहृय पर्यटकहरूका लागि आकर्षक गन्तव्यको रूपमा परिचित बनाएर पर्यटनमार्फत मुलुकले राम्रो आर्थिक लाभ लिन सक्दछ । नेपाल सगरमाथाको देश, गौतम बुद्धको देश तथा राजा जनक, सीता र भृकुटीको देश अनि धार्मिक आस्थाको केन्द्र पशुपतिनाथ तथा मुक्तिनाथको देश हो ।

सरकारले भिजिट नेपाल नामक कार्यक्रमका साथै पर्यटन प्रवद्र्धनका लागि विभिन्न खालका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । जसले पर्यटकहरूलाई नेपालमा आकर्षण गर्नका लागि ठूलो भूमिका खेल्दै आएको भए तापनि धेरैभन्दा धेरै पर्यटक भित्र्याउन भने यो अपर्याप्त नै छ । त्यसमा पनि कोभिडका कारण सुस्ताएको पर्यटन क्षेत्रलाई गति दिएर आर्थिक समुन्नति आर्जनतर्फ सरकार अब जतिसक्दो चाडो सक्रिय हुन जरुरी छ ।

आर्थिक समुन्नतिका आधारस्तम्भ निर्माण गरी सरकार दीर्घकालीन रणनीतिअनुरूप अघि बढ्न सके मात्र मुलुकले आर्थिक संकटमा जानु पर्दैन । रेमिटेन्स, अनुदान (सशर्त वा निःशर्त) तथा वित्तीय ऋणमा मात्रैभर पर्दा मुलुक जुनसुकै समयमा पनि संकटमा पर्न सक्छ । त्यसैले मुलुकलाई समुन्नत राख्ने एउटै उपाय हो, पुँजीलाई सकेसम्म बाहिरिन नदिनु र आन्तरिक रूपमा आर्थिक उपार्जन गरिरहनु । यसका लागि आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनतर्फ सदैव अग्रसर रहिरहनु पर्दछ । वस्तु खरिद गर्ने बाहनामा पुँजी बाहिरिने अवस्थाको अन्त्यतर्फ सरकार सचेत रहँदै पुँजीको खपत मुलुकमै हुने व्यवस्था भयो भने मुलुक समुन्नतिको यात्रामा अघि बढ्दछ ।

तसर्थ मुलुकको समृद्धिका यी पाँच आधारलाई प्राथमिकिकीकरण गरी अघि बढ्नेतर्फ सरकारको ध्यान जानु अत्यन्त जरुरी छ । जसले मुलुकलाई आत्मनिर्भर बनाई आर्थिक उन्नतितर्फ लाने मात्र नभई मुलुकमा शान्ति र स्थिरता कायम राखी नेतृत्वमा समेत विश्वास पैदा गर्दछ । (सुवेदी नेपाल सांस्कृतिक संघको केन्द्रीय महामन्त्री हुनुहुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 Comment
  1. बेरोजगार नेपाली युवाहरूले वैदेशिक रोजगारी गर्दै कमाएको र घरमा पठाएको पैसा नै मुलुकको पहिलो आर्थिक आधारस्तम्भ हो । प्रचुर कृषि उत्पादनको राम्रो सम्भावना भएको मुलुकले खाद्यवस्तु आयातलाई विस्थापन गर्न नसक्नु योभन्दा ठूलो दुर्भाग्य अरू के हुनसक्छ र रु आफ्नो खेतबारी बाँझो राखेर बजारबाट खरिद गरेर वस्तु भित्र्याउने संस्कार हामीमा विकास भइसकेको छ । यस विषयमा न त राज्य गम्भीर छ न त हामी नै ।

  2. नेपाल सभ्यता मात्रै होइन प्राकृतिक स्रोतसाधनले पनि सम्पन्न छ । भौगोलिक विविधता तथा वीरता र धीरताका कारण पनि नेपालको बहुआयामिक परिचय स्थापित भएको छ । प्राकृतिक सुन्दरता, जैविक विविधता, जल, जमिन, जंगल र जडिबुटीको प्रचुरता हाम्रो बहुमूल्य पहिचान हो ।

  3. आन्तरिक तथा बाहृय पर्यटकहरूका लागि आकर्षक गन्तव्यको रूपमा परिचित बनाएर पर्यटनमार्फत मुलुकले राम्रो आर्थिक लाभ लिन सक्दछ । नेपाल सगरमाथाको देश, गौतम बुद्धको देश तथा राजा जनक, सीता र भृकुटीको देश अनि धार्मिक आस्थाको केन्द्र पशुपतिनाथ तथा मुक्तिनाथको देश हो ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?