अभिषेक र राजुलाई स्पोर्ट्स हब ब्याडमिन्टन उपाधि

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । तीनचुलीका अभिषेक गुरुङ र राजु थापा स्पोर्ट्स हब नेपाल प्रालिको आयोजनामा भएको प्रथम स्पोर्ट्स हब खुला ब्याडमिन्टन प्रतियोगिताको शीर्ष २० बाहेकको पुरुष युगलको उपाधि उचाल्न सफल हुनुभएको छ ।

निकै नै रोचक भएको फाइनल खेलमा अभिषेक र राजुको जोडीले नेपाल पुलिसका गौरव दाहाल र अनिश श्रेष्ठको जोडीलाई १९-२१, २१-११, २१-७ ले पराजित गर्दै उपाधि उचालेकोे हो । तेस्रो स्थानमा सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडी तथा सूर्यदर्शनका लक्ष्मण मल्ल ठकुरी र राम मल्ल ठकुरीको जोडी रहेको छ ।

कपनको लाखेपोखरीस्थित आयोजककै आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको शीर्ष २० बाहेकका महिला एकलतर्फको खेलमा कञ्चनपुरकी विष्णा बिष्टले जित निकाल्नुभयो । उहाँले सुर्खेतकी अग्रिमा भण्डारीलाई २१-११, २१-१० को सोझो सेटमा पराजित गर्दै उपाधि उचाल्नुभएको हो । तेस्रो स्थानमा बेलटार ब्याडमिन्टन एकेडेमीकी अञ्जना राई र सर्लाहीकी निकिता लामा तेस्रो स्थानमा रहनुभयो ।

यू-१७ ब्वाइजतर्फ सेनाका डेभिड थापा मगरले जित हात पार्दै उपाधि उचाल्नुभयो । थापा मगरले सेनाकै कविर केसीलाई २१-१४, १७-२१, २१-१४ ले पराजित गर्दै उपाधि उचाल्नुभएको हो । आयोजकका सुनिल कार्की र लाफा समूहका मनोजा फौदारले तेस्रो स्थानमा चित्त बुझाउनुभयो ।

पुरुष ४५ वर्षमाथिको खेलमा जेष्टका श्याम पराजुली र नवीन श्रेष्ठको जोडीले जित हात पार्‍यो । उक्त जोडीले फाइनलमा पर्फेक्ट फिटनेश क्लबका पूर्णहरि होना र सञ्जय कपालीको जोडीलाई २१-१८, २१-१७ को सोझो सेटमा पराजित गर्‍यो । खुश गुरुङ र मानबहादुर रानाको जोडी र आइबिएमएसका कृष्ण छ्याम्जुङ र राजेश शाक्यको जोडी तेस्रो स्थानमा रहृयो ।

यस्तै, ५५ वर्षमाथिको प्रतिस्पर्धामा बुटवल ब्याडमिन्टनका नारायणप्रसाद घिमिरे र धादिङका विष्णुलाल श्रेष्ठको जोडीले बाजी मारेको थियो । उक्त जोडीले वसुन्धाराका पूर्णचन्द्र जोशी र उमेश केसीको जोडीलाई २१-१६, १६-२१, २१-६ ले पराजित गरेर उपाधि उचाल्यो । पाँचथरका मणि कदंगवा र गणेश सुब्बा र पोखराका रमेश भट्टचन र कमल थापाको जोडी तेस्रो स्थानमा रहृयो ।

सेवानिवृत्त कर्मचारीहरूको प्रतिस्पर्धामा आयोजकका सुरेन बहादुर आले र इन्द्र महताको जोडीले आयोककै सनबहादुर साम्बा र लाक्पा शेर्पाको जोडीलाई २१-१४, २५-२७, २१-१५ ले पराजित गर्दै यस विधाको उपाधि उचाल्यो । तेस्रो स्थानमा खुश गुरुङ र मानबहादुर रानाको जोडी तथा सामाखुसीका विष्णु राना र टिका थापाको जोडी रहृयो ।

स्थानीयतर्फको खेलमा आयोजकका अर्जुन मगर र दावा शेर्पाको जोडीले बाजी मा¥यो । उक्त जोडीले आफ्नै क्लबका ग्याल्जेन शेर्पा र लाक्पा शेर्पाको जोडीलाई २१-१६, २१-२३, २१-१३ ले पराजित गर्‍यो । बालाजुका सन्तोष दाहाल र चन्द्र घलेको जोडी तथा काठमाडौं का रूपाल वादे र दीपक खड्काको जोडी तेस्रो स्थानमा खुम्चियो ।

विजयी खेलाडीहरूलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सचिव रामजीबहादुर श्रेष्ठ, सचिव नवीनविक्रम शाह, योनेक्सको नेपालका लागि आधिकारिक बिक्रेता इनास प्रालिका प्रोप्राइटर राजु बास्तोलालगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो ।

करिब १० लाख लागत रहेको प्रतियोगितामा पुरुष डबल्सको विजेताले ३५ हजार रुपैयाँ हात पारे । दोस्रो हुनेले २० हजार र तेस्रो हुने टोलीले समान ७ हजार ५ सय हात पारे । भेट्रान्स ४५ वर्षमाथिको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुनेले समान पाँच हजार हात पारे ।

अवकाश प्राप्त, महिला एकल, ब्वाइज यू-१७ र सुपर भेट्रान्सको विजेताले समान २० हजार रुपैयाँ हात पारे । दोस्रो हुनेले समान १० हजार र तेस्रो हुनेले समान पाँच हजार रुपैयाँ हात पारे । स्थानीयस्तरको विजेताले १५ हजार, दोस्रोले आठ हजार र तेस्रो हुनेले समान चार हजार रुपैयाँ हात पारे । प्रतियोगिता साउन ११ देखि १४ गतेसम्म कपन लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?