कलेज आइडिया हन्ट-२०२२ को आवेदन खुला

Read Time = 2 mins

काठमाडौं । आइडिया स्टुडियोले ‘कलेज आइडिया हन्ट-२०२२’ का लागि आवेदन खुला गरेको छ । विभिन्न व्यावसायिक आइडिया भएका विद्यार्थीबीच प्रतिस्पर्धा गराउन यस वर्ष पनि कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । विगत आठ वर्षदेखि ‘कलेज आइडिया हन्ट’ आयोजना गर्दै आएको आइडियाले प्रतिस्पर्धामा सहभागीमध्ये उत्कृष्ट तीन विद्यार्थीलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ पुरस्कारसहित विभिन्न अवसर प्रदान गर्नेछ ।

स्टुडियोका अध्यक्ष छिरिङ लामाले प्रतिस्पर्धामा सहभागी हुन इच्छुक विद्यार्थीलाई आवेदन दिन आग्रह गर्दै ग्रिनोभेसन र सामाजिक रूपान्तरणमा महत्व राख्ने व्यावसायिक आइडिया पठाउन सुझाव दिनुभयो ।

विद्यार्थीमा रहेको प्रतिभालाई उद्यममा बदल्न प्रतियोगिता आयोजना गर्ने गरिएको भन्दै उहाँले ‘कलेज आइडिया हन्ट-२०२२’ मा धेरैभन्दा धेरै विद्यार्थीलाई सहभागी गराउने योजना रहेको बताउनुभयो । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या ४०.३५ प्रतिशत रहेको तर सरकारले १० प्रतिशत युवालाई मात्र रोजगारीको अवसर प्रदान गरेको बताउनुभयो ।

रोजगारीबाट वञ्चित ९० प्रतिशत युवामध्ये हरेक वर्ष झण्डै छ लाख युवा विदेशिने गरेको उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागी हुन चाहने विद्यार्थीहरूले आइडिया स्टुडियोको वेबसाइटमा गएर फर्म भरेर सबमिट गर्नुपर्छ । भदौ १९ गतेसम्म फर्म भर्न सकिने पनि आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?