‘नो हर्न’ प्रभावकारी बनाउन कामनपा र ट्राफिक प्रहरीको अभियान शुरु

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ ।

आईतवार एक कार्यक्रमको आयोजना गरेर पुनः काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा काठमाडौं महानगरपालिका, पद्यकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटल सँगको सहकार्यमा यो अभियान सञ्चालन गरेको हो ।

ट्राफिक स्वयंसेवक परिचालन समुद्घाटन कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नो हर्न अभियानलाई काठमाडौंमा पुनः प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको बताउनु भयो । उहाँले नो हर्न अभियान पहिल्यैबाट सञ्चालन गरिएपनि कोरोना लगायतका विभिन्न कारणले प्रभावकारी बन्न नसकेकाले अब पुनः अभियानलाई प्रभावकारी बनाइन लागेको बताउनु भयो ।

मेयर साहले सवारीसाधनबाट आउने हर्नका कारण मानसिक तिक्तता हुनेजस्ता समस्या बढेकोले यसलाई प्रभावकारी बनाइन लागेको बताउनु भयो । उहाँले सवारी चालकहरुले पनि धैर्यता राखेर हर्न नबजाइकन यात्रा गर्न र नो हर्नको अभियानलाई सफल बनाउन आवश्यक रहेको बताउनु भयो ।

मेयर साहले भन्नुभयो, ‘पहिलादेखि नै लागू भएको हो । यसको अभ्यासलाई पुनः प्रभावकारी बढाउनुपर्छ भनेर यो अभियान शुरु गरेका हौँ । जनचेतना फैलाउन आवश्यक पनि भएको छ । भेकलहरुबाट आउने हर्नले डिस्टर्ब मात्रै नभएर मानसिक पनि समस्या पैदा गरेको छ । यसले इरिटेशन एकदमै धेरै बढाइरहेको पाइएको छ । ट्राफिक व्यवस्थापन गर्नको लागि हर्न बजाउनु र नबजाउनुले पनि धेरै फरक पर्ने रहेछ । व्यवस्थापन मिलाउनमा नै गाह्रो भएको थियो । बाटोमा सवारी गुडाउँदा एउटा धैर्य राख्नुपर्छ ।’

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले नेपालको परिवेशमा नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले जनचेतनामुलक कार्यक्रमले समाजमा फरक कथा बनाउने बताउनु भयो ।

काठमाडौं महानगरपालिकाले वि.सं.२०७३ साल चैत्र महिनामा नो हर्न अभियान सञ्चालन गरेको थियो । तर कोरोना लगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?