व्यवसायी कुवेर देवान माथि नगर प्रमुखकै कार्यकक्षमा आक्रमण

हिमालय टाइम्स
Read Time = 6 mins

-राजेन्द्र गौतम

झापा । छ महिना अघि बिक्री गरेको सामानको भुक्तानी लिन जाँदा एक व्यवसायी माथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको कार्यकक्षमा निर्घात कुटपिट भएको छ ।

प्रमुख बुढाथोकीको कार्यकक्षमा सांघातिक आक्रमणमा परेका व्यवसायी कुवेर देवानको विएण्डसी अस्पताल बिर्तामोडको न्युरोवार्डमा उपचार भइरहेको छ । उहाँको टाउको तथा शरीरमा गम्भीर असर परेको छ । झापा भद्रपुर नगरपालिका-३ का व्यवसायी देवानले गत वर्ष पुसमा नगरपालिकालाई तीन लाख २७ हजार आठ सयमा जलधारा बिक्री गर्नु भएको थियो ।

सो सामानको भुक्तानी लिन व्यवसायी देवान शुक्रबार नगरपालिका पुग्नु भएको थियो । सोही क्रममा आफूमाथि कुटपिट भएको उपचाररत व्यवसायी देवानले बताउनुभयो ।

" पुसमा बेचेको सामानको भुक्तानी लिन म ५० औँ पटक पुगेँ भुक्तानी दिइएन, पछिल्लोपटक जाँदा कुटपिट भयो " व्यवसायी देवानले भन्नुभयो," यसलाई बाहिर निकाले भनेर मेयरले भनेपछि उहाँसँगै रहनु भएका मेचीनगर १० का वडाध्यक्ष नारायण खनालले पहिला हात छोड्नुभयो ।" सो बेला मेचीनगर-२ का वडाध्यक्ष दीपक बराल पनि मेयरकै कार्यकक्षमा रहेको देवानको भनाइ छ ।

कुटपिट भएपछि आफूलाई प्रहरी बोलाएर मापसे चेकका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा पठाइएको देवानले बताउनुभयो । नगर प्रहरीसहित काँकडभिट्टा इप्रका लगिएका देवानलाई ३/ ४ घण्टा हिरासतमा राखेर पछि मापासे चेक नगरी छाडिएको थियो ।

"म कहिल्यै मादक पदार्थ सेवन गर्दिनँ, प्रहरी लगाएर मेयरले पदीय शक्तिको आडमा मलाई मानसिक यातना दिने काम गर्नुभयो" देवानले भन्नुभयो," मैले उपचार गर्न जान्छु भन्दा पनि प्रहरीले दिएनन्, मेयर यहाँको राजा हो, हामीले उहाँले भनेको मान्नुपर्छ भन्दै प्रहरीले हिरासतमा राखिरहे।"

मापसे चेक गर्न भनेर लगिएको मलाई किन हिरासतमा राखियो ? व्यवसायी देवानले मेयर र प्रहरीलाई प्रश्न गर्नुभयो । पछि आफूलाई आफन्त र परिवारले इलाकाबाट निकालेको व्यवसायी देवानले सुनाउनुभयो ।

शुक्रबार दिउँसो १ बजेतिर नगरपालिका पुगेको आफूलाई १० / १२ जना व्यक्तिले लखेटीलखेटी कुटेको देवानको दाबी छ । देवानले आफूलाई गुण्डा लगाएर कुटेको र कुटपिट हुँदा मेयर बुढाथोकीले जोगाउने कोसिससमेत नगरेको आरोप लगाउनुभयो ।

बिर्तामोड र मोरङको उर्लाबारीमा देवानको केडी मूर्तिकला तथा चित्रकारका उद्योग छ । मूर्तिकारसमेत रहनु भएका देवानको बिक्री गरेको जलधारा मेचीनगर ४ मा जडान गरेको छ । सो क्षेत्र हात्ती प्रभावित क्षेत्र हो ।

नगर प्रमुख बुढाथोकीसँग घटनाका बारेमा जानकारी लिन पटकपटक सम्पर्क गर्दा कुराकानी हुन सकेन । उहाँले प्रयोग गर्ने मोबाइल नम्बरमा सम्पर्क गर्दा कल फर्वाड गरिएको सन्देश आउँछ । एकपटक सम्पर्क भएपनि प्रमुख वा अरु कसैले फोन उठाएको हो स्पष्ट हुन नपाउँदै १३ सेकेन्डनमा नै सम्पर्क विच्छेद भयो ।

कुटपिटको आरोप खेपिरहनु भएका वडाध्यक्ष खनालले आफूले कुटपिट गरेको नभई जोगाउने प्रयास गरेको प्रतिक्रिया दिनुभयो । उहाँ आफू जग्गाको काम विषेशले उक्त दिन सो समयमा नगरपालिका पुगेको र एकजनालाई केही व्यक्तिले घेरेको देखेपछि जोगाउने कोसिस गरेको दाबी गर्नुभयो ।

" मैले कुटपिट गरेको भन्ने कुरा गलत हो, आक्रमणबाट जोगाउने प्रयास चाहिँ गरेको हुँ " वडाध्यक्ष खनालले भन्नुभयो, " त्यस्तो देखियो होला, कुटपिट गर्‍यो भन्ने कुरा गलत हो ।"

अहिले सो घटनालाई पीडितसँग नगर प्रमुख बुढाथोकीले माफी मागेर मिलाउने प्रयास भइरहेको देवानकाे भनाई छ ।  व्यवसायी देवानले भने आफू सहजै मिल्ने मनस्थितिमा नरहेको बताउनुभयो ।

" मैले औँलासम्म मेयरको कार्यकक्षमा ठड्याएको थिएनँ, ज्यानै लिने गरि नियोजित तरिकाले आक्रमण गरियो" व्यवसायी देवानले भन्नुभयो," म अन्यायमा परेको छु,फुत्किनु नसकेको भए जे पनि हुनसक्थ्यो, म सहजै मिल्दिनँ ।" आफू मिल्ने पक्षमा नभए पनि मिल्न दबाब आइरहेको देवानले संकेत गर्नुभयो ।

आफूलाई प्रहरीले समेत अन्याय गरेको दाबी गर्नु भएको व्यवसायी देवानले आफूलाई आक्रमण गर्नेको बिस्तारै नाम खोल्ने र खुल्दैजाने बताउनुभयो । आफूलाई निक्कै शारीरिक र मानसिक पीडा भइरहेको सुनाउदै उहाँले डाक्टरले चार- पाँच दिन अस्पताल नै बस्नु पर्ने सुझाव दिएको बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?