प्रहरी महानिरीक्षक सिंहको सय दिन पूरा, विगतमा अन्यायमा परेका प्रहरीलाई आफूले न्याय दिएको दाबी

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले विगतमा अन्यायमा परेका प्रहरीलाई आफूले न्याय दिएको दाबी गर्नुभएको छ । कार्यकालको सय दिन पूरा भएको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले विगतमा संगठनमा अन्यायमा परेका प्रहरीले यो तीन महिनामा न्याय पाएको दाबी गर्नुभयो । सरुवा बढुवाको पारदर्शीतामाथि उठाइएको प्रश्नको जवाफमा उहाँले विगतमा कारबाहीमा परेका भन्दैमा सधैँ पछि पारिरहन नहुने बताउनुभयो ।

‘एकपटक कारबाहीमा परेको भन्दैमा सधैँ बढुवा नहुने पछि नै परिरहने भन्ने हुँदैन’, उहाँले भन्नुभयो, ‘कारबाही निश्चित अवधिका लागि हुन्छ । कारबाही भोगिसकेपछि सधैँ बढुवा नै नहुने भन्ने हुँदैन ।’ पत्रकारले कारबाहीमा परेका र कार्यक्षमता कमजोर देखिएकालाई पनि बढुवा गरिएको भन्दै सिंहलाई प्रश्न गर्नुभएको थियो । तर, उहाँले आफ्नो निर्णय सही भएको जिकिर गर्नुभएको छ । आइजिपी सिंहले खासगरी ज्येष्ठताका आधारमा बढुवा गर्दै आउनुभएको छ । तर, शक्ति केन्द्रनिकटका बढुवामा अगाडि र सरुवामा आकर्षक ठाउँमा पठाउँदा प्रश्न उठिरहेको छ ।

‘स्थानीय निर्वाचनमा ८४ वटा मानव अधिकारवादी संस्था लगायतले अनुगमन गर्दा पनि चुनाव निष्पक्ष र विश्वसनीय भयो भन्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘मेरो मातहतका प्रहरी अधिकृतहरू व्यावसायिक र निडर छन्, प्रहरी कहिल्यै कसैको प्रभावमा पर्दैन ।’
अर्थमन्त्री जनार्दन शर्माको सिसिटिभी फुटेज प्रकरणमा ब्लर भिडियो पठाइएको सन्दर्भमा चाहिँ उहाँले आफू प्राविधिक नभएकाले त्यसको जवाफ दिन नसक्ने बताउनुभयो । प्रहरीको सरुवा बढुवाको हकमा विगतमा अन्यायमा परेकाहरूलाई न्याय दिँदा वरीयतामा तलमाथि भए जस्तो देखिएको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘यो अवधिमा गल्ती गर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याइएको छ, अन्याय भएकालाई न्याय दिइएको छ ।’

हाल मिटरब्याजबाट पीडितहरूले गरिरहेको आन्दोलनको सन्दर्भमा चाहिँ उहाँले प्रहरी इकाइमा निवेदन दिए न्याय पाइने बताउनुभयो । ‘अहिले काठमाडौं प्रहरी प्रमुख र केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख गएर उहाँहरूसँग कुरा गर्नुभएको छ’ सिंहले भन्नुभयो, ‘आधा जति समस्या हल भइसकेको छ, मिटरब्याजविरुद्ध शून्य सहनशीलतामा प्रहरीले कारबाही गर्छ ।

सिंहले नेपाल प्रहरीले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गराउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा लागि सबै राजनीतिक दल एकै हुन्, सबैलाई निष्पक्ष व्यवहार गर्छौं ।’ गठबन्धन बनाएर सत्तारूढ दलहरू निर्वाचनमा जाँदै गर्दा प्रहरीको भूमिका स्वतन्त्र हुन्छ कि हुँदैन ? भन्ने प्रश्नमा जवाफ दिँदै उहाँले नेपाल प्रहरी स्थानीय तह निर्वाचन पनि स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराएको बताउनुभयो । ‘स्थानीय निर्वाचनमा ८४ वटा मानव अधिकारवादी संस्था लगायतले अनुगमन गर्दा पनि चुनाव निष्पक्ष र विश्वसनीय भयो भन्नुभएको छ, उहाँले भन्नुभयोे, ‘मेरो मातहतका प्रहरी अधिकृतहरू व्यावसायिक र निडर छन्, प्रहरी कहिल्यै कसैको प्रभावमा पर्दैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?