निर्यात बढाएर व्यापार घाटा कम गर्छौं : अर्थमन्त्री महत

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाश शरण महतले निर्यात बढाएर देशको व्यापार घाटा कम गर्ने बताउनुभएको छ । पाल्पाको रामपुरमा रहेको अन्धकारमुक्ती बचत तथा ऋण सहकारी संस्थाको २५ औं साधारण तथा रजत जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्यात बढाइ आयात घटाएर व्यापार घाटा कम गर्ने बताउनुभएको हो ।

बिजुली, हाइड्रोपावरबाट आम्दानी गर्ने योजनाका साथ सरकारले काम गरेकाले भारतमा बिजुली निर्यात गरेर व्यापार घाटा कम गर्ने मन्त्री महतले बताउनुभयो । उहाँले भन्नुभयो ‘हिजो मात्र विदेश मन्त्रीसँग बिजुली निर्यातको सम्झौता भएको छ । अब बिजुली पठाएर पेट्रोलियम पदार्थको घाटा कम गर्छौ ।’ मन्त्री महतले अर्थतन्त्र लयमा फर्किएको समेत बताउनुभयो । पहिलादेखि नै अर्थतन्त्रमा थुप्रिएका समस्याहरुलाई बिस्तारै हटाउँदै गएको कारणले अर्थमा बिस्तारै सुधार देखिन थालेको र अबका दिनमा यो भन्दा पनि बढी सुधार हुने अर्थमन्त्री महतको दाबी थियो ।

अर्थमन्त्री महतले अर्थतन्त्र शिथिल देखिनुको कारण कोभिड, कर्जा प्रवाह नहुनु, लगानीका प्रतिफल प्राप्त नहुनु, पछिल्लो समयमा व्याजमा वृद्धि हुनु र जग्गाको कारोबारमा मन्दी छाउनु रहेको जिकिर गर्नुभयो । ‘हाम्रो टुरिजम ठप्प थियो, ब्याक भइरहेको छ । मान्छेहरु आउन थालिरहेका छन् । त्यसले अवसर सिर्जना गर्नेछन् । त्यसको फाइदा धेरै पपुलेसनमा आधारित हुन्छ, धेरै रोजगारी दिन्छ’ उहाँले भन्नुभयो ।

अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोंच र प्रचारको आवश्यकता रहेको समेत उहाँले बताउनुभयो । ‘अब विस्तारै हाम्रो इकोनोमीले लय पक्रँदै छ । हिजो कोभिड थियो, बाह्य अरु पनि समस्याहरु थिए । विस्तारै त्यो हट्यो, लय फर्किँदै छ । अब एउटा पोजेटिभ डिस्कोर्स सुरु गर्दैछौं । हामीले नेगेटिभ मात्रै कुरा गर्‍यौं भने नेगेटिभ नै परिणाम आउँछ’ उहाँले भन्नुभयो । अर्थमन्त्री महतले विदेश जानेबित्तिकै सबै चिज प्राप्त हुन्छ भन्ने मानसिकताबाट युवाहरु मुक्त हुनुपर्ने बताउनुभयो । उहाँले आवश्यकता असिमित र श्रोत साधन सिमित भएकाले सोही अनुसार काम गर्नु परेको बताउनुभयो । कोभिड अघि र पछि राष्ट्र बैंकले सस्तोमा ऋण लगानी गर्दा नागरिकले धेरै भन्दा धेरै ऋण ल्याउने गर्दा समस्या आएको उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री महतले भन्नुभयो ‘जग्गा सेयरमा लगानी गरेकाहरुमा काम भएन ऋण तिर्न सकेनन् जसले समस्या भो, राष्ट्र बैंकले पनि ब्याज बढाएर कडा गरे पछि समस्या आयो । त्यसैले अहिले अर्थतन्त्र खतम भयो भनेर हल्ला फिजाइएको हो ।’ अहिले हल्ला जस्तो नभएको उहाँले बताउनुभयो । मन्त्री महतले उत्पादन क्षेत्रमा लगानी गर्न समेत सबैमा आग्रह गर्नुभयो । उत्पादन क्षेत्रमा लागानी गरे आर्थिक समस्या नहुने उहाँले उल्लेख गर्नुभयो । देशको अर्थतन्त्रमा महिलाको योगदान महत्वपूर्ण रहेको समेत मन्त्री महतले बताउनुभयो । महिलाहरुलाई राजनीति र आर्थिक रुपमा सहभागिता गराउने गरी महिलाहरुलाई आयआर्जनसँग जोड्ने गरी सरकारले काम गरेको पनि उहाँले बताउनुभयो । मन्त्री महतले कालिगण्डको करिडोरलाई छिटै पूरा गरी रामपुरलाई आर्थिक पाटोसंग जोड्ने काममा आफुहरु लागेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?