परीक्षास्थलमै ‘ट्राफिक सचेतना’ दिँदै बागलुङ ट्राफिक

हिमालय टाइम्स
Read Time = 6 mins

-डम्मर बुढा मगर

बागलुङ । जिल्ला ट्राफिक कार्यालय बागलुङले ट्राफिक सचेतना कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगेको छ । दुर्घटना नियन्त्रणका लागि जिल्ला ट्राफिक कार्यालय बागलुङले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षास्थलमै पुगेर ट्राफिक सचेतना कार्यक्रम गरिरहेको छ ।

जिल्लाका दूरदराजका विद्यालय तथा सडकमै ट्राफिक सचेतना गर्दै आएको ट्राफिक प्रहरीले अहिले परीक्षास्थलमै ट्राफिक सचेतना प्रदान गर्दा निकै सहज तथा प्रभावकारी भएको जनाएको छ । साबिक धौलागिरिको पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङ जिल्लाका सवारीसाधनको अभिलेख, व्यवस्थापन तथा दुईपांग्रे सवारीचालक अनुमति पत्र प्रदान गर्दै आएको धौलागिरि यातायात व्यवस्था कार्यालय बागलुङसँगको सहकार्यमा कार्यालयले लिने सवारीचालक अनुमति पत्रको लिखित तथा ट्रायल परीक्षास्थलमै पुगेर परीक्षार्थीहरूलाई ट्राफिक सचेतना प्रदान गर्दै आइरहेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले जानकारी दिनुभयो ।

मोटरसाइकल धनीहरू सवारीचालक अनुमति पत्रका लागि परीक्षा दिन आउने धौलागिरि यातायात व्यवस्था कार्यालय र ट्रायल दिने बागलुङ नगरपालिका–१ रामरेखास्थित माझी बस्तीमै पुगेर लाइसेन्स नभई सवारी चलाउँदाको कानुनी समस्या, जरिवाना तथा दुर्घटनाको समयमा हुन सक्ने क्षतिका विषयमा जानकारी गराइँदै आइएको छ । ‘हामीले सडकमा छड्के चेकजाँचका क्रममा तथा विद्यालयका विद्यार्थीहरूलाई ट्राफिक सचेतना नियमितरूपमा प्रदान गर्दै आइरहेका छौँ तर यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीहरू जो सवारी धनी हुन्छ उनीहरूलाई परीक्षास्थलमै ट्राफिक सचेतना गराउँदा निकै प्रभावकारी हुने देखियो,’ ट्राफिक प्रमुख केसीले भन्नुभयो, ‘लिखित तथा ट्रायल परीक्षा दिन आएका सेवाग्राहीहरूलाई सवारीसाधन चलाउँदा अपनाउनुपर्ने सावधारी, लाइसेन्सको महत्व तथा ट्राफिक नियम र चिहृनका विषयमा जानकारी गराएका हुन्छौँ ।’

प्रशिक्षार्थीहरूलाई लिखित तथा प्रयोगात्मक परीक्षामा ध्यान दिनुपर्ने कुराहरू, ट्राफिक नियम, सवारी दुर्घटनाका कारण, ट्राफिक चिहृनहरू, सडक रेखाहरू, सडक प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षित तरिकालगायत सवारी नियमकानुनसम्बन्धी ट्राफिक सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

प्रहरीले ट्राफिक नियमको उल्लंघन गर्नेलाई कारबाहीसँगै सचेतनासमेत गर्दै आएको हो । कार्यालयले ट्राफिक नियमको उल्लंघन गर्नेलाई कारबाही गरेर गत आर्थिक वर्षमा ७० लाख राजस्व संकलन गरेको छ । ठूलो आवाजमा सवारी चलाउने मोटरसाइकलहरूलाई पक्राउ गरेर कारबाही गर्ने गरेको छ ।

कारबाही बढाएरमात्रै नभएर ट्राफिक सचेतना कार्यक्रमसमेत गर्दै आएको ट्राफिक प्रहरीले पछिल्लो समय बागलुङमा दुर्घटनामा समेत कमी आएको जनाएको छ । सचेतना प्रदान गर्ने अभियानअन्तर्गत विद्यार्थीलाई कक्षामै पुगेर, सामुदायिक सेवामार्फत्, सवारी चालकलाई कक्षा, व्यवसायी र चालक परिचालकहरूलाई, सर्वसाधारण, अन्तरक्रिया तथा गोष्ठीमार्फत्, ट्राफिक दिवसका अवसरमा, माइकिङ, चालक र यात्रुमैत्री कक्षा र पोर्चा पम्पलेटमार्फत् ट्राफिक शिक्षा प्रदानसमेत गर्दै आएको छ ।

ट्राफिक प्रमुख केसीका अनुसार ट्राफिक कारबाही र राजस्व संकलनमात्रै नभएर गत आर्थिक वर्षमा ७५७ पटक ट्राफिक सचेतना गर्दा २३ हजार ८५२ जनालाई ट्राफिक नियमसम्बन्धी सेचतना दिइएको छ । गत तीन वर्षको तुलनामा २०७६/०७७ सालमा पाँच हजार ७२ जनालाई ट्राफिक सचेतना गरेको कार्यालयले २०७७/०७८ सालमा ११ हजार ८०७ जनालाई सचेतना गरेको छ । सचेतनाको कार्यक्रम बर्सेनि वृद्धि हुँदा बागलुङमा ट्राफिक नियम उल्लंघनका घटनामा क्रमशः कमी आउन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?