चुनावमा जित्ने भन्दा जितेपछि के गर्ने ? एजेण्डा बनाएर अघि बढ्न आवश्यक छ : गगन थापा

Read Time = 9 mins

काठमाडौं । नेपाली काँग्रेसबाट पालिका तहमा चुनिएका स्थानीय जनप्रतिनिधिहरुले अभिमुखीकरण कार्यक्रमले स्थानीय तहका समस्या समाधान गरी जनमुखी काम गर्न उत्प्रेरित गरेको बताएका छन् ।

ललितपुरमा भइरहेको स्थानीय तहमा विजयी भएका जनप्रतिनिधिहरुको जनअभिमुखी कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उनीहरुले अभिमुखीकरण कार्यक्रमले स्थानीय सरकारलाई थप सशक्त र जनमुखीकरण कसरी बनाएर लैजाने भन्ने बारेमा प्रशिक्षण भइरहेको बताए ।
उनीहरुले स्थानीय जनप्रतिनिधिहरुले गर्नुपर्ने काम, कर्तव्य, अधिकारका बारेमा पनि कार्यक्रममा जानकारी गराइएको बताए ।
पार्टी महामन्त्री गगनकुमार थापाले स्थानीय जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै स्थानीय तहमा पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुकै आधारमा रहेर पार्टी आगामी संघ र प्रदेशको निर्वाचनमा प्रतिष्पर्धा गर्न लागेको बताउनु भयो ।

उहाँले केही दलका नेताहरुले वि.सं २०७४ सालको निर्वाचनतिर फर्काउन लागेको आरोप लगाउनु भयो । उहाँले आफूबिरुद्ध रहेका नेताहरुलाई गत वैशाख ३० गतेको स्थानीय तहमा नेपाली काँग्रेसले पाएको मतलाई बुझ्न आवश्यक रहेको बताउनु भयो ।

महामन्त्री थापाले आगामी निर्वाचनका लागि पार्टीले गठबन्धनमा पनि शीर्ष स्थान बनाइसकेको भन्दै आफ्नौ हैसियत अनुसार सिट प्राप्त गर्ने बताउनु भयो । उहाँले वर्तमान पार्टीको राजनीतिक हैसियतका आधारमा सिट बाँडफाँट हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केही अरु दलको साथीहरु हामीलाई २०७४ तिर फर्काउन चाहनुहुन्छ । हामी उहाँहरुलाई २०७९ सम्झाउन चाहन्छौँ । २०७४ लाई सम्झिँदै गर्दा नमिठो लाग्छ । २०७९ को स्थानीय निर्वाचन सम्झिँदै गर्दा खुशी लाग्छ । हाम्रो फुर्ति बढ्छ । त्यसैले आज गठबन्धन र यसको परिणाम के आउँछ मलाई थाहा छैन । हामी भर्खर छलफल गर्दैछौँ । तर त्यहाँभित्र नेपाली काँग्रेस पार्टीको हैसियत पुरानो पार्टी, आदिको छुट्टै महत्व छ तर अहिलेको तात्कालीक राजनीतिमा अहिले जोड घटाउको बीचमा उभिँदै गर्दा हाम्रो अग्लो व्यक्तित्व कुनै आधार, कारणले निर्माण भएको छ भने त्यो तपाईहरुका कारणले हो । स्थानीय तहमा जितेको कारणले हो । त्यसकै आधारमा २०७९ को मंसिर ४ को निर्वाचनमा जाने तयारी गरिरहेका छौँ । जिम्मेवारीमा बस्दा कहिले काहीँ हामी महत्वपूर्ण कुरा भुल्छौँ, मैले पनि भुलेको थिएँ । चुनावमा जित्ने ठाउँसम्म प्रष्ट हुने हामी जितेपछि के भन्ने बारेमा हामी अलमल्लमा पर्छौं ।’

महामन्त्री थापाले जिम्मेवारीमा बस्दा कहिले काहीँ महत्वपूर्ण कामहरु पनि बिर्सिने गरेको भन्दै चुनावमा जित्ने ठाउँसम्म प्रष्ट हुने नभइ जितेपछि के गर्ने भन्ने बारेमा पनि एजेण्डा बनाएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । नेपाली काँग्रेसले सोमवारदेखि सञ्चालन गरेको स्थानीय जनप्रतिनिधिसँगको अभिमुखीकरण, बधाई एवं शुभकामना आदानप्रदान कार्यक्रम आज समापन हुनेछ ।

त्यस्तै सञ्चारकर्मीहरुसँग बोल्दै नुवाकोटको म्यागङ गाउँपालिकाकी उपाध्यक्ष सीता तामाङले नयाँ जनप्रतिनिधिलाई काम गर्ने चुनौती रहेको भन्दै कसरी जनमुखी काम गर्ने भन्ने बारेमा सिकाइएको बताउनु भयो । उहाँले स्थानीय तहका योजना तर्जुमा र प्राकृतिक श्रोतलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पनि प्रशिक्षण दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नयाँ जनप्रतिनिधिहरुलाई काम गर्ने चुनौती छ । प्रशिक्षण कार्यक्रमले ती कामहरु कसरी गर्ने, कसरी जनमुखी कामहरु गर्ने भन्ने बारेमा प्रशिक्षण दिइरहनुभएको छ । जनप्रतिनिधिका काम के हुन्, अधिकार के हो भन्ने बारेमा प्रशिक्षण दिनुभएको छ । योजना तर्जुमा, प्राकृतिक श्रोतलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पनि प्रशिक्षण दिनुभएको छ । प्राकृतिक श्रोतको पहिचान गरेर कसरी फाइदा लिने र पालिकाको विकास गर्ने भन्ने बारेमा छलफल भयो ।’

त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले प्रशिक्षणमा स्थानीय तहलाई सुशासन, पारदर्शिता र जवाफदेहीता, गतिशीलतामा कसरी चलाउन सकिन्छ ? भन्ने बारेमा जानकारी गराइएको बताउनु भयो । उहाँले चुनौतीहरुलाई सहज रुपमा कसरी अघि बढाउने कुराको क्षमता अभिवृद्धि गर्ने काम भएकोले कार्यक्रम समय सान्दर्भिक र फलदायी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय तहलाई सुशासन, पारदर्शिता र जवाफदेहीता, गतिशीलतामा कसरी चलाउन सकिन्छ ? विभिन्न चुनौतीहरुलाई सहज रुपमा कसरी अघि बढाउने भन्ने बारेमा क्षमता अभिवृद्धि गर्ने काम भएको छ । यो कार्यक्रम समय सान्दर्भिक र फलदायी छ ।’

त्यस्तै रुपन्देहीको नै सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्रप्रसाद शर्माले अभिमुखीकरण कार्यक्रममा पारदर्शिता, गतिशीलता, अनुशासनका बारेमा स्थानीय निकायलाई सञ्चालन गर्नुपर्ने कुराबारे जानकारी गराइएको बताउनु भयो । उहाँले प्रशिक्षणले स्थानीय तहको विकास निर्माणमा र जनतासँग सरोकारका कामका लागि सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रशिक्षणमा पारदर्शिता, गतिशीलता, अनुशासनका बारेमा स्थानीय निकायलाई सञ्चालन गर्नुपर्ने कुरामा प्रशिक्षण भइरहेको छ । प्रशिक्षणले स्थानीय तहको विकास निर्माणमा र जनतासँग सरोकारका कामका लागि सहज हुनेछ ।’

त्यस्तै नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टीबाट स्थानीय तहमा जितेका जनप्रतिनिधिहरुको काम, कर्तव्य, दायित्वको बारेमा प्रशिक्षण दिने काम समय सान्दर्भिक रहेको प्रतिक्रिया दिनुभयो । उहाँले यो प्रशिक्षणले मेयर, उपमेयर र वडा अध्यक्ष, उपाध्यक्षको लागि जनमुखी काम गर्न प्रेरित गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीबाट स्थानीय तहमा जितेका जनप्रतिनिधिहरुको काम, कर्तव्य, दायित्वको बारेमा प्रशिक्षण दिने साथै उहाँहरुलाई स्वागत बधाई गर्ने कार्यक्रम भइरहेको छ । यसले मेयर, उपमेयरहरुको लागि जनमुखी काम गर्नका लागि राम्रो अवसर पुग्नेछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?