पार्टी एकताको पहल : माधव नेपालको जोड माओवादी तिर झलनाथ खनालको एमाले तिर

Read Time = 4 mins

काठमाडौं । मंसिर ४ गतेका लागि तय भएको संघीय निर्वाचन अघि नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादीसँगको एकताको पहल थालेको छ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृतले वामहरुको बीचमा एकताको पहल सुरु गरेको जनाएको छ ।

गत प्रतिनिधि सभा निर्वाचन अघि एमाले र माओवादीले निर्वाचनपछि एकतामा जानेगरि गठबन्धन गरेका थिए । त्यसबाट एमालेले लाभ लिएको थियो र उ सबैभन्दा ठूलो दल बनेको थियो । त्यसबेलाको फाइदाको स्वाद चाख्नुभएका एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माओवादीसँग एकताको पहल थाल्नुभएको हो ।

बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’बनाउने निर्णय गरेको छ ।
वामहरुको बीचमा एकताको पहल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बाट हुने उपमहासचिव डा गंगालाल तुलाधरले बताउनु भयो ।

समितिमा पार्टीका शीर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु रहनुपर्ने सुझाव दिएको उहाँले बताउनु भयो। नेता तुलाधरले माओवादीबाट पनि समिति गठन होस् भन्ने चाहेको बताउनु भयो । साथै समितिमा शीर्ष नेताहरू नै सहभागी हुनुपर्ने उहाँको भनाइ थियो ।

निर्वाचनको मिति घोषणा हुनु अघि वाम मोर्चाको छलफलमा एकीकृत समाजवादी, माओवादी केन्द्र, वामदेव गौतम लगायतका नेता लागेको भए पनि त्यसले मूर्तता पाउन सकेको छैन । त्यसरी चुनावमा जान मिल्ने गरि निर्वाचन आयोगले पनि अनुमति दिइसकेको छ तर वाम दलहरुबीच त्यस खालका छलफल पछिल्ला दिनमा भएका छैनन् । बाबुराम भट्टराईले प्रचण्डसँग कार्यगत एकता गर्नुभएको छ ।

नेपाली कांग्रेससँग गठबन्धनमा रहेका नेकपा एस र माओवादी केन्द्रलाई चुनावमा सिट बाँडफाँट चुनौतीपूर्ण छ । कांग्रेसले धेरै सिटमा दाबी गरिरहँदा आफूहरु कमजोर हुने र सिट बार्गेनिङ पावर कम हुने देखेसँगै एकीकृत समाजवादीले माओवादीसँगको एकताको प्रस्ताव राखेको माओवादीका एक नेताले बताए ।

एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल भने माओवादी केन्द्रसँग भन्दा एमालेसँगको एकताको पक्षमा रहँदै  आउनु भएको छ ।

नेता खनालले एमालेसँग एकतालाई जोड दिदै आउनु भएको स्वयं उहाँ कै पटक पटकका अभिव्यक्तिबाट बुझ्न सकिन्छ । यता अध्यक्ष नेपाल बरु चुनाव अघिमाओवादीसँगै सहकार्य र  पछि एकता गर्ने मुडमा हुनुहुन्छ ।

खनाललाई बाइपास गरेर जान सक्ने अवस्थामा माधव नेपाल नभएकाले चुनाव अघि नै एकताको सम्भावना कम हुने ति नेताको अनुमान छ ।

उनका अनुसार नेपालसँग भन्दा एमाले नेतृत्व खनालसँग नरम भएका कारण पनि अन्तत: खनालको जोड एमालेसँग हुने छ भने नेपालको जोड माओवादीसँग हुने छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?