इलाममा मनाइयो रोपाइँजात्रा

हिमालय टाइम्स
Read Time = 4 mins

-प्रकाश नेपाल

इलाम । इलाममा बिहीबार रोपाइँजात्रा मनाइएको छ । परापूर्वकालदेखि मनाउँदै आइएको रोपाइँजात्रा जिल्लामा बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको हो । नेपाल भाषा तथा संस्कृति समाज इलामको आयोजनामा भएको रोपाइँजात्राका कारण बिहीबार दिनभर इलाम बजारमा चहलपहल बढेको थियो ।

जात्रामा रम्न जिल्लाका विभिन्न गाउँबाट आएका दर्शकहरूको भिड लागेको थियो । मुख्यतयाः युवा पुस्ताले विभिन्न पहिरनमा अनुहारलगायत शरीरका विभिन्न भागमा रङ दलेर झाँकीसहित गरेको बजार परिक्रमाले दर्शकको मन झनै लोभ्याएको थियो ।

संस्कृतिको रक्षा र नयाँ पुस्तालाई पुराना कुराको जानकारी गराउने उद्देश्यले यो पर्व मनाइएको समाजका अध्यक्ष प्रवीन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष वन काइँला र वन काइँलीसमेत निकालिएको छ । जुन पहिला राज्य प्रमुख राजा रानी आउँदा इलाम बजारमा निकालिने गरिन्थ्यो ।

अघिअघि बाउसे, पछिपछि रोपाहार भेषभूषा र श्रृंगारमा सजिएर गरेको अभिनय साथमा बाजा गाजाको रोमाञ्चक धुनमा धानको वीउ हातमा लिई लहरमा उभिएर रोपाहारको शैलीमा छुपुछुपु धान रोपेजस्तो गरेको अभिनय हेरिरहँु लाग्दो थियो । विशेषगरी विद्यार्थी र युवायुवतीलाई सांकेतिक रूपमा काँस वा सिरुलाई धानको बिउ बनाएर बिउ रोप्दै सडकमा हिँडेको दृश्य झनै मनमोहक देखिन्थ्यो ।

जात्राको क्रममा मानिसलाई गोरुको प्रतीक बनाई जुवामा नारेर दाँदे लगाउने, बाउसे गर्ने, बिउ काढ्ने, धान रोप्ने लगायतका क्रियाकलाप सडकमै देखाइएको थियो । त्यस्तै, सडकमा निस्केको साधु र मुंग्रे्रेहरूको कलात्मक अभिनय र अन्य सांस्कृतिक झाँकीहरूले जात्रा हेर्न गाउँगाउँबाट आएका दर्शकहरूको मन झनै लोभ्याएका देखिन्थ्यो ।

जात्रा स्थानीय भानुभक्त माविको आयोजनामा निकालिएको हो । विक्रम संवत् २०१८ बाट मनाइँदै आएको जात्रा कोरोनाका कारण यसअघिका दुई वर्ष र माओवादी द्वन्द्वका समयमा दुई वर्षबाहेक हरेक वर्ष मनाउँदै आइएको भानुभक्त माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाशचन्द्र खनालले बताउनुभयो ।

यहाँका नेवार समुदायले निकाल्दै आएको जात्रामा राई, लिम्बू, तामाङलगायत अन्य समुदाय मानिसहरू पनि उल्लेख्य रूपमा सहभागी थिए । बालबालिकादेखि युवायुवती र वृद्धवृद्धाको पनि उल्लेख्य सहभागिता रहेको थियो । रोपाइँजात्राले परम्परागत संस्कृतिको संरक्षणका साथै पारिवारिक सुखसमेत मिल्ने विश्वास रही आएको छ ।

जात्राको दिन मिठामिठा परिकार बनाएर खाने, रमाइलो गर्नेसमेत गरिन्छ । राणा शासनकालमा इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले १९७२ मा सुुरु गरेको रोपाइँजात्रा आजकल नेपाल भाषा तथा संस्कृति समाजको अगुवाइमा निकालिने गरेको छ । रोपाइँजात्रा बर्खाकै दिन निकालिने भएकाले यसलाई हिलेजात्रासमेत भन्ने गरिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?