कोहलपुरमा नापी र मालपोत शाखा खुल्ने

Read Time = 4 mins

-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकामा मालपोत र नापी कार्यालयको शाखा विस्तार हुने भएको छ । संघीय सरकारको अर्थ मन्त्रालयले भूमि व्यवस्था, सहकारी, तथा गरिबी निवारण मन्त्रालयले नयाँ कार्यालय स्थापनाका लागि कोड तथा बजेट व्यवस्थापन गर्न पत्राचार गरेसँगै बाँकेको कोहलपुरमा मालपोत र नापीका शाखा कार्यालय विस्तार हुने भएको हो ।

कोहलपुरसहित राप्तीसोनारी र बैजनाथका नागरिकसमेत अहिलेपनि जिल्ला सदरमुकाम नेपालगन्ज जानुपर्ने बाध्यता छ । कोहलपुरमा शाखा कार्यालय स्थापनाका लागि लामोसमयदेखि विभिन्न राजनीतिक दल र स्थानीय सरकारले पहल गर्दै आएका थिए । यहाँका जिम्मेवार निकायहरुको निरन्तरको प्रयास स्वरुप अन्तत कार्यालय खुल्ने भएको कोहलपुर नगरपालिकाले जनाएको छ । गत वर्षको चैत्र १७ गते बसेको मन्त्रिपरिषदको बैठकले बाँकेको कोहलपुरका साथै गौशाला, मोहत्तरी, जोगबुढा, डडेलधुरा र आठविसकोट रुकुम पश्चिमको संगठन संरचना, दरबन्दी तेरिज बमोजिम कार्यालय स्थापना र कार्यक्षेत्र स्वीकृत गर्ने र श्रोत सुनिश्चित गरेको थियो । मन्त्रीपरिषद्को निर्णय अनुसार कोहलपुरमा स्थापना हुने कार्यालयको कार्यक्षेत्र कोहलपुरसहित राप्तीसोनारी र बैजनाथ गाउँपालिका रहने उल्लेख छ ।

यसैगरी कार्यालय स्थापना गर्ने प्रक्रिया अन्तर्गत नै अर्थ मन्त्रालयले भूमि व्यवस्था, सहकारी, तथा गरिबी निवारण मन्त्रालयलाई पठाएको पत्रमा आर्थिक वर्ष २०७९÷०८० मा कार्यालय सञ्चालनका लागि कार्यालय कोड र बजेट व्यवस्था भएको नदेखिएकोले उक्त नयाँ मालपोत र नापी कार्यालयहरुको कार्यालय कोड र बजेट व्यवस्थापनको लागि चैत्र १७ गतेको निर्णयलाई कार्यान्वयन गर्न भनेको छ । मन्त्रालयका शाखा अधिकृत जानकी शाहद्धारा हस्ताक्षरित पत्रमा कोहलपुरसहित देशभरका चार वटा स्थानमा कार्यालय स्थापना गर्न प्रचलित कानून र स्वीकृत मापदण्ड भित्र रही खर्च गर्ने गरी चालू खर्चतर्फ ८ करोड ८९ लाख ४० हजार र पूँजीगततर्फ २ करोड ५६ लाख ४२ हजारको सीमा भित्र रही उक्त मन्त्रालयको चालू आ.व.को विनियोजित बजेटबाट स्रोत व्यवस्थापन गर्ने भनिएको छ ।

यस्तै कार्यालयलाई एक/एक वटा मोटरसाइकल कर्मचारीको पारिश्रमिक बाहेक अन्य प्रशासनिक खर्चमा बजेट वक्तव्यको बुँदा नम्बर ३७९ बमोजिम १५ प्रतिशत खर्च कटौति गरिएकोले मितव्ययिता गर्न भनिएको हो ।

यता, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरमा नापी तथा मालपोत कार्यलय स्थापना गर्न पहल गर्ने कोहलपुर पूर्व नगरप्रमुख लगायत राजनीतिक दल सरोकारवालाहरुलाई धन्यावाद व्यक्त गर्नु भएको छ । उहाँका अनुसार अब छिट्टै कोहलपुर कार्यालय सञ्चालनका लागि नगरपालिका तीव्र रुपमा अघि बढ्ने छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?