एमाले एकल बहुमतको सरकार बनाउने घोषणासहित चुनावी अभियानमा जाने, आगामी निर्वाचनमा गठबन्धनका लागि ढोका खुला राख्ने

डिबी शर्मा
Read Time = 11 mins

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) एकल बहुमतको सरकार बनाउने घोषणासहित चुनावी अभियानमा जाने भएको छ । मंगलबार बसेको एमाले स्थायी समिति बैठकले एकल बहुमतको सरकार बनाउने घोषणासहित चुनावी अभियान सञ्चालन गर्नेबारे छलफल भएको हो । पार्टी कार्यालयमा बसेको बैठकमा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी एवं रणनीतिबारे मुख्य छलफल भएको थियो । एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार आगामी केन्द्रीय समिति बैठकले यसबारे निर्णय गर्नेछ । ‘आगामी सरकार एमालेको बन्नुपर्छ । एकल बहुमतको एमाले सरकार बनाउने घोषणासहित हामी चुनावी अभियानमा जान्छौँ,’ उहाँले भन्नुभयो, ‘यसबारे आगामी केन्द्रीय समिति बैठकले निर्णय गर्छ ।’

गठबन्धन सरकारले गरेका गलत काम, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिलाई समेटेर अध्यक्ष केपी ओलीले भदौ १० गतेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने गुरुङले जानकारी दिनुभयो । बैठकमा राजनीतिक प्रतिवेदनका बारेमा अध्यक्ष ओलीले सुझाव लिनुभएको थियो ।

एमालेले भदौ ९ गते पोलिटब्युरो र १०-११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । ती बैठकले उम्मेदवार छनोटका मापदण्ड तथा चुनावी तयारीबारे आवश्यक निर्णय गर्ने उहाँको भनाइ छ । बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट विधि र मापदण्ड केन्द्रीय कमिटीमा पेश गर्ने निर्णय गरेको छ । पार्टीको वार्षिक बजेट पारित गरेको गुरुङले बताउनुभयो । बैठकमा ६ वटा प्रदेशका इञ्चार्जहरूले आफ्नो प्रदेशको शक्ति सन्तुलन र प्रदेशको संगठनात्मक गतिविधिबारे रिपोर्टिङ गरेका थिए । प्रदेश इञ्चार्जहरूले स्थानीय तह निर्वाचनको समीक्षात्मक रिपोर्टसहित आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको सम्भावित अवस्था तथा गठबन्धनको चुनौतीका बारेमा जानकारी गराएका हुन् ।

नवप्रवेशीलाई जिम्मेवारी दिन निर्देशन
नेकपा एमालेले विभिन्न पार्टीबाट प्रवेश गरेका नेता कार्यकर्ताको व्यवस्थापन गर्न विशेष निर्देशन दिएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले कार्यविधि नै बनाएर देशभर पार्टी प्रवेश गरेकाहरूको विवरण दुरुस्त राख्न सम्बन्धित कमिटीहरूलाई निर्देशन दिएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । एमालेप्रति जनलहर बढेको भन्दै पार्टी प्रवेशलाई निरन्तरता दिने निर्णय गरेको उहाँले बताउनुभयो ।

बैठकले विभिन्न दलबाट प्रवेश गरेका केन्द्रीयस्तरका नेताहरूलाई सल्लाहकार र केन्द्रीय कमिटीमा गरेको मनोनयन अनुमोदन पनि गरेको छ । केन्द्रीय सल्लाहकार परिषद्मा काठमाडौंका कुलभक्त शाक्य, कास्कीका डिबी नेपाली र बागलुङका नवराज पौडेललाई मनोनयन गरेको छ भने माओवादीबाट प्रवेश गरेका जीवन गौतम, कांग्रेसबाट प्रवेश गरेका अमृत राजवंशी र सांसद बृजेश गुप्तालाई केन्द्रीय सदस्यमा सचिवालयले गरेको मनोनयनलाई स्थायी कमिटीले अनुमोदन गरेको छ । बैठकले ५२ हजार ५५० जनाको पार्टी सदस्यता दोहोरिएकाले सो सदस्यताको व्यवस्थापनका लागि संगठन विभागलाई जिम्मेवारी तोकेको छ ।

स्वाधिनताको पक्षमा एजेण्डा मिल्नेहरूसँग गठबन्धन गर्न तयार छौँ : गुरुङ
एमालेले आगामी निर्वाचनमा गठबन्धनका लागि ढोका खुला राख्ने भएको छ । एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गठबन्धन गर्नु हुँदैन भनेर पार्टीले ढोका बन्द नगरेको स्पष्ट पार्नुभयो । एमालेसँग गठबन्धन गर्न चाहनेहरूका लागि ढोका खुला रहेको उहाँको भनाइ छ । देशमा सुशासन, समृद्धि र स्वाधिनताको पक्षमा एजेण्डा मिल्नेहरूसँग गठबन्धन गर्न तयार रहेको उहाँले बताउनुभयो । तर, कसैलाई गठबन्धनमा आउन भनेर दबाब भने नदिने उहाँको स्पष्टोक्ति छ । ‘एमाले गठबन्धन गर्नै हुँदैन भनेर ढोका बन्द गरेर बसेको पार्टी होइन । एमालेसँग गठबन्धन गर्न चाहनेहरूका लागि ढोका खुला छ,’ उहाँले भन्नुभयो, ‘सुशासन, समृद्धि, राष्ट्रिय स्वाधिनताको अभियानमा जो जसको हामीसँग एजेण्डा मिल्छ ऊ गठबन्धनमा आउन सक्छ । हामी गठबन्धन भएन भने एमाले चुनावमा जाँदैन, हार्छ भन्ने मानसिकता चाहँदैनौँ । हामी एक्लैले चुनाव जित्न सक्छौँ । बलजफ्ती हामीसँग मिल्न आऊ भन्ने परिस्थिति हुँदैन ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा हुने आमनिर्वाचनमा एमाले एक्लै प्रतिस्पर्धा गर्नेगरी योजना निर्माण हुने बताउनुभयो । स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले नेपालमा एमालेबाहेक राजनीतिक दल वामपन्थी नभएको भन्दै एक्लै चुनावी प्रतिस्पर्धाको तयारी गर्ने बताउनुभएको थियो ।

एकजुट भएर निर्वाचन तयारीमा लाग्न अध्यक्ष ओलीको निर्देशन
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका लागि नेतृत्वमा बसेकाहरूले सबै ठाउँ पुगेर सबैलाई समेट्नुपर्ने बताउनुभएको छ । मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले उम्मेदवारी नपाएर असन्तुष्टि हुने कामले निकै घाटा हुने गरेको भन्दै एकजुट भए सहजै जित्न सकिने जिकिर गर्नुभयो । उहाँले आगामी निर्वाचनमा टिकट पाइनँ भनेर असन्तुष्ट नहुन नेता, कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो । एउटा निर्वाचन क्षेत्रमा एकजना उम्मेदवार हुन्छ । उम्मेदवार नहुने साथीहरू जो उम्मेदवार हुन्छ, उसलाई जिताउन काम गर्नुस् । उम्मेदवार पाइनँ भनेर असन्तुष्ट हुँदा ठूलो घाटा पु¥याउँछ,’ उहाँले भन्नुभयो, ‘एकजुट हुँदा जहाँ पनि जित्न सक्छौँ । जति एकजुट छौँ, त्यत्ति बलियो छौँ । जति विभाजित हुन्छौँ, त्यति कमजोर हुन्छौँ ।’ अध्यक्ष केपी शर्मा ओलीले सक्रिय भएर काममा लाग्न निर्देशन दिनुभयो । अहिले पनि आफू १८ घण्टा काम गर्ने गरेको भन्दै नेता-कार्यकर्ताहरूलाई पनि १४ घण्टासम्म काम गर्न उहाँले आग्रह गर्नुभयो । म अहिले पनि १८ घण्टा काम गर्छु । प्रायः साथीहरू त मभन्दा कमै उमेरका हुनुहुन्छ । कमसेकम १४ घण्टा त गर्नुस् । १२ घण्टा गर्नुस् । १० घण्टा गर्नुस्,’ उहाँले भन्नुभयो, ‘आठ घण्टा मात्रै एकजना मानिसले काम गर्‍यो भने धेरै काम हुन सक्छ ।’

‘विवाहको जग्गेमै नागरिकता दिने होइन, सम्बन्ध टिक्छ कि टिक्दैन हेर्नुपर्छ’
अध्यक्ष ओलीले तराई, मधेशमा देखिएका नागरिकताको समस्या समाधान गर्ने काम एमालेले मात्रै गर्न सक्ने दाबी गर्नुभयो । अरूले मधेशमा राजनीति मात्रै गरेको भन्दै नागरिकता समस्या एमालेले मात्रै समाधान गर्न सक्ने बताउनुभयो । नेपाली नागरिकले नागरिकताको प्रमाणपत्र पाउनुपर्छ । नागरिकका सन्तानले नागरिकताको प्रमाणपत्र पाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘नागरिकताको समस्या सही ढंगले समाधान गर्ने नेकपा एमालेबाहेक अरू कोही छैन । अरूले त राजनीति मात्रै गर्ने हो ।’ विवाहित अंगीकृत नागरिकता पाउनका लागि केही समय कुर्नुपर्ने भन्दै त्यसलाई हतारोको विषय बनाउन नहुने उहाँको भनाइ छ । ‘वैवाहिक अंगीकृतले आवश्यक समय पूरा गरेपछि नागरिकता प्राप्त गर्छ । जग्गेमै दिने होइन,’ उहाँले भन्नुभयो, ‘अलिकति समय हेर्नुपर्‍यो । विवाह साँच्चै हो कि होइन । टिक्छ कि टिक्दैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?