‘विश्व हरित ऊर्जा प्रवद्र्धनमा केन्द्रित हुनुपर्छ’

Read Time = 3 mins

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘हरित ऊर्जा’ का लागि लगानी जुटाउन सामूहिक प्रयाससहित थप अवसर पहिल्याउनुपर्ने बताउनुभएको छ । जलवायु वित्तको जोहो गरेर विश्व ‘हरित ऊर्जा’ को प्रवद्र्धनमा केन्द्रित हुुनुपर्नेमा उहाँको भनाइ छ ।

‘कोप-२७’ तयारीका लागि थाइल्यान्डको बैङ्ककमा बिहीबार आयोजित ‘जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य प्राप्तिको प्रयासमा लगानी परिचालनसम्बन्धी मञ्च’ बैठकको ‘हरित ऊर्जाका लागि जलवायु वित्त लगानी’ सत्रमा भर्चुअल सम्बोधन गर्दै ऊर्जामन्त्री भुसालले स्वच्छ ऊर्जाको प्रवद्र्धनमा विश्व केन्द्रित हुनुपर्ने बताउनुभएको हो । त्यसका लागि सामूहिकरूपमा जलवायु वित्तको जोहो गर्न आवश्यक रहेको उहाँको भनाइ छ । मन्त्री भुसालले विशिष्ट भौगोलिक बनोट र जलवायु-संवेदनशील जीवन शैलीका कारण नेपाल जलवायु परिवर्तनको असरको उच्च जोखिममा रहेको बताउनुभयो ।

अतिकम विकसित मुलुक भएर पनि नेपालले ‘१.५ डिग्री तामक्रम’ को लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उहाँले विश्वका मुलुकले कार्बन उत्सर्जन न्यूनीकरणका लागि महत्वाकांक्षी लक्ष्य लिएर काम गर्नुपर्ने बेला आएको बताउनुभयो ।

वार्षिक ऊर्जा खपत दरलाई आधार मान्ने हो भने नेपालमा उत्पादित जलविद्युत् बढी हुने उल्लेख गर्दै उहाँले आगामी सन् २०२५ देखि नेपाल वर्षभरि नै जलविद्युत् निर्यात गर्ने मुलुक बन्ने जानकारी गराउनुभयो । खपत गरेर बाँकी भएको ऊर्जा ‘हरित हाइड्रोजन’ उत्पादनमा प्रयोग गर्ने तयारी गरिएको मन्त्री भुसालले बताउनुभयो । ग्रिन ग्रिड अवधारणाअनुसार कोप-२६ मा ‘एक सूर्य, एक विश्व र एक ग्रिड’ को सुरुवात गरिएको उल्लेख गर्दै उहाँले हरित ऊर्जासम्बन्धी विश्व अवधारणा पूरा गर्न नेपालजस्ता देशमा प्रसारणलाइन निर्माण तथा पूर्वाधार विकास क्षमता अभिवृद्धिमा जोड दिनुभयो ।

आफ्नो देशले शून्य कार्बन उत्सर्जनको रणनीति लिएको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘नेपालले सन् २०४५ मा शून्य कार्बन उत्सर्जन गर्ने देश बन्ने लक्ष्य लिएको छ । स्वच्छ ऊर्जाको व्यापार गरेर नेपालमा मात्र होइन, देशबाहिर पनि कार्बन उत्सर्जनलाई न्यूनीकरणमा योगदान गर्न चाहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?