मृत्युपछि महिमागान गरिएका प्रदीप गिरिहरू

Read Time = 16 mins

✍️ शम्भु कोइराला
नमागिएको सल्लाह :
नेपाली समाजको विशेषता जस्तै भएको छ, गुणवान् व्यक्तिको जीवित छँदा खोजी नगर्ने मरेपछि अनेक प्रसंग जोडेर लामो पुराण बनाउने र चर्चा गर्ने । कतिपयलाई त मृत्यु घोषणा गर्नुभन्दा अगाडि नै श्रद्धाञ्जलि र समवेदना सामाजिक सञ्जालमा पोष्ट गरेर आत्मीयता प्रदर्शन गर्न हतार भइसकेको हुन्छ । समाजवादी चिन्तक, नेता प्रदीप गिरिको सन्दर्भमा चर्चा गर्दा उहाँमा पनि यो प्रसंग लागू भएको छ । सबैलाई थाहा थियो–प्रदीप गिरि समकालीन राजनीतिमा चिन्तनको हिसाबले अरूभन्दा अब्बल थिए । अद्वितीय नै थिएभन्दा पनि फरक पर्दैन ।

इमान थियो भ्रष्टाचार गर्दैन थिए । फरक दृष्टिकोण थियो अर्थराजनीतिलाई सही बाटो निर्देशित गर्न सक्थे । सम्पन्न परिवारमा हुर्के बढेका भए तापनि भुइँमान्छेको पीडा बुझेका थिए, हुनेखाने र हुँदाखानेको खाडल साँघुरो पारेर समाज परिवर्तन गर्ने खुबी थियो । यति धेरै सम्भावना र क्षमता हुँदाहुँदै गिरिको चर्चा न त प्रधानमन्त्रीको रूपमा भयो न त पार्टी सभापतिको रूपमा । उनलाई दिएको सांसद र मन्त्रीको पद पनि उनको क्षमताको सदुपयोग गर्नेभन्दा जीविका र निर्वाहका लागि बक्सिस दिएको जस्तो आभास हुन्थ्यो ।

नेपालको राजनीतिमा सधैँ वैचारिक नेता र विचारधारा, असफल र पराजित भइरहेको छ । विचारशून्य तर राजनीतिक तिकडमबाजहरू सफल भइरहेका छन् । बीपी कोइराला शताब्दीकै उच्चकोटिको वैचारिक र दूरदृष्टि भएका विलक्षण नेता हुनुहुन्थ्यो, उहाँकै सहकर्मीको सहयोगमा राजा महेन्द्रले असफल बनाइदिए । मुलुकको अवस्था रूपान्तरणका लागि उहाँको क्षमता प्रयोग हुन पाएन ।

सन्त नेता कृष्णप्रसाद भट्टराई, दूरदृष्टि र त्यागका आधारमा आदर्श हुनुहुन्थ्यो । उहाँलाई पनि पार्टीभित्रका राजनीतिक तिकडमबाजहरूले टिक्न दिएनन् । उहाँको समाजवादी प्रयोग र उहाँको निष्ठाको लाभ नेपाली जनताले उपयोग गर्न पाएनन् । माक्र्सवादी नेता मनमोहन अधिकारी पनि इमानदारीता र निष्ठाका पक्षपाती हुनुहुन्थ्यो, उहाँले पनि छोटो समयमात्र काम गर्ने अवसर पाउनुभयो, त्यस छोटो अवधिमा पनि पार्टी र सहकर्मीहरूको हस्तक्षेपको कारण स्वतन्त्र रूपमा काम गर्ने अवसर मिलेन ।

प्रदीप गिरिजस्ता विचारशील र दूरदृष्टि भएका नेताले सत्ताको लाभ हासिल गरेर भौतिक सुखसयल गर्नु नै राजनीति हो भन्ने बुझेका र तदनुकूल आचरण र व्यवहार देखाएका नेताहरूको कार्यकर्ता भएर जीवन व्यतीत गर्नुपर्‍यो ।

नेपाली राजनीतिमा निष्ठावान् र बौद्धिक भनेर चिनिएकाहरू राजनीतिक प्रतिस्पर्धामा टिक्न सकेनन् । इमानदार नेता भीमबहादुर तामाङलाई कहिलेकाहीँ जातीय सहभागिताका लागि केही दिएजस्तो गरियो तर पार्टीभित्रको मूलधारतर्फ चियाउँन नै नसकी दिवंगत हुनुभयो भने मोदनाथ प्रश्रित, प्रदीप नेपाल, हरिबोल भट्टराईहरू पाखा लागिसकेका छन् । गगन थापा, विश्व प्रकाश शर्मा, घनश्याम भुसाल, राम कार्की जस्ता बौद्धिक र समाज बदल्ने हैसियत भएकाहरू पार्टीभित्रका कब्जावादीका लागि कवाफमा हड्डी भएका छन् । आगामी चुनावबाट यिनीहरूलाई पाखा लगाउँ पार्टीलाई प्रालि बनाउन उद्यत् सम्भावित प्रोप्राइटरहरूले ठूलै लगानी गर्नेछन् । गरिरहेका छन् ।

नेपालको राजनीतिमा बौद्धिक र निष्ठावान नेताहरू किन असफल भइरहेका छन् । गुटबन्दी गर्ने, गुटलाई मात्र आफ्नो र अरू सबै पराई ठान्नेहरू मात्र सत्ता राजनीतिमा किन सफल भइरहेका छन् । प्रदीप गिरिजस्ता उच्च र होनहार व्यक्तित्वलाई पार्टी र सरकारको नेतृत्व गर्ने अवसर किन प्राप्त भएन ? बाँचुन्जेल खुर्पाको बिँडको जस्तो व्यवहार गर्ने मरेपछि श्रीखण्ड हो भनेर चिनेको जस्तो व्यवहार किन भइरहेको छ ? यो आलेखमा यस्तै प्रश्नको जवाफ खोज्ने प्रयास गरिनेछ ।

प्रदीप गिरिहरू किन नेतृत्वमा पुग्दैनन् ?
नेपालको राजनीतिमा पार्टी सत्ता कब्जा गर्न आफ्ना अन्ध समर्थक भेला गरेर उनीहरूको जायज नाजायज भरणपोषण गरेर उनीहरूलाई आफ्नो जायज नाजायज कदमको समर्थन र भक्ति गराइराख्नुपर्ने हुन्छ । यसका लागि ठूलो धनराशिको आवश्यकता पर्दछ, जुन राशि सजिलो उपायबाट प्राप्त गर्न सकिँदैन । त्यसका लागि आसेपासे पुँजीपतिहरूको सञ्जाल बनाउनुपर्ने हुन्छ । ती पुँजीपतिहरूको राजनीतिमा गरेको लगानीको प्रतिफल उपलब्ध गराउनुपर्ने हुन्छ । यस्तो काम कमजोर नैतिक धरातल, भौतिकवादी चिन्तनबाट आक्रान्त भएका नेताहरूबाट मात्र सम्भव छ ।

यस्तो काम प्रदीप गिरिजस्ता समदर्शी व्यक्तिहरूबाट हुन सम्भव छैन । यस्ता व्यक्ति त मलाई तिम्रो आवश्यकता छ भने भोट देऊ नत्र नदिए पनि फरक पर्दैन भन्न बेर लाउँदैनन् । जनता र कार्यकर्तालाई नाजायज प्रलोभनको त कुरा छोडौँ । हामी जनताका लागि यस्ता नेताहरू रुचिकर हुँदैनन् । हाम्रा लागि जागिर दिने, पटकपटक लाभको पदमा सरुवा मिलाइदिने, समय सन्दर्भमा आएका लाभका अवसर झर्को नमानी मिलाइदिने, पुलिस प्रशासन लागेको समयमा सहयोग गरिदिने नेता रुचिकर हुन्छन् । जसका कारण अक्सर यस्ता नेता जनताका लागि रुचिकर नबन्न सक्छन् । त्यागी र समाज बदल्न हैसियत राख्ने नेता पाखा लगाउन पार्टीसत्ता र राज्यसत्ताका नेतामात्र जम्मिेवार छैनन्, हामी जनता पनि जिम्मेवार छौँ ।

प्रदीप गिरिजस्ता विचारशील र दूरदृष्टि भएका नेताले सत्ताको लाभ हासिल गरेर भौतिक सुखसयल गर्नु नै राजनीति हो भन्ने बुझेका र तदनुकूल आचरण र व्यवहार देखाएका नेताहरूको कार्यकर्ता भएर जीवन व्यतीत गर्नुपर्‍यो । प्रधानमन्त्री बन्न संसदीय दलको नेतामा न त उहाँको दाबी रहृयो नत कुनै सांसदले प्रदीप गिरिलाई संसदीय दलको नेता नै प्रस्तावित गरे । पार्टी सभापतिमा पनि यस्तै अवस्था रहृयो । उनी स्वयंले पार्टीको नेतृत्वदायी पदमा दाबी गरेको सुनिएन । नत कसैले गिरिजस्ता नेताले कांग्रेस सभापति बनेर पार्टीलाई वैचारिक धरातलमा अब्बल बनाउनुपर्छ भनेको नै सुनियो । परिस्थिति यस्तो देखिन्छ कि वैचारिक रूपमा उत्कृष्ट, नैतिक धरातलमा अब्बल, जनतासँग सार्थक संवाद गर्नसक्ने नेता नेतृत्वमा पुग्ने नै होइन ।

अहिले त अनौठो के देखिँदैछ भने केही वर्ष अगाडिसम्म कांग्रेस भनेपछि जन्मजात दुश्मन ठान्ने केही सम्भ्रान्तहरू साम, दान, दण्ड, भेद प्रयोग गरेर टाउको गिन्तीको आधारमा कार्यकारी प्रमुखमा सामाजिक सञ्जालमार्फत दाबा पेश गर्न आँट गर्ने भएका छन् । कसैको केही नाता परेकै भरमा पार्टीभित्र कुनै लगानी नगरेका र सधैँ प्रतिफल भोगिरहेकाहरू हावी हुने हो भने प्रदीप गिरि त हैरानी खेपेर स्वर्गीय भए जीवित प्रदीप गिरिहरू पनि असान्दर्भिक बन्ने सम्भावना बलियो छ ।

एक होनहार नेतालाई बचाउनुपर्छ भनेर सरकार गम्भीरतापूर्वक लागेको देखिएन । नेपाली समाजले बिदा भए पनि हुने भनेर ठानेका नेताहरूले ठूलो धनराशि खर्चिएर विदेशमा उपचार गरे तर गिरिको हकमा सम्झिदिने कोही सत्ताधारी भएनन् ।

यी सम्भ्रान्तको नजरमा नीति, आदर्श र दृष्टिकोण बोक्ने प्रदीप गिरिहरू अव्यावहारिक र अप्रासंगिक ठहरिने छन् । सोमरसको चुस्की लिएको समयमा उनीहरूले यस्ता आदर्शवादीहरूको सहज उपहास गरिदिनेछन् । विशिष्ट मानव बीपी कोइरालाले पार्टीभित्र सुकिलामुकिला हाबी हुनेछन् भनेर त्यसै भन्नुभएको होइन । जति जति यी पाँचतारे सुकिला मुकिला पार्टीमा हावी हुँदै जानेछन् पार्टीहरू सम्पत्ति कमाउने कम्पनी बन्नेछन्, अनि प्रदीप गिरिहरू क्रमशः अप्रासंगिक बन्दै जानेछन् ।

प्रदीप गिरिहरू समाज परिवर्तन गर्न चाहन्छन् पार्टीलाई प्रालि बनाउन चाहने प्रोप्राइटरहरू सम्पत्ति बनाउन चाहन्छन् । बाहुल्य, प्रालि बनाउन चाहनेकै हुने अवस्था यसकारण बनेको छ कि पार्टीभित्र प्रशिक्षण, वैचारिक छलफल चिन्तन, मनन शून्यप्राय भएको छ । अनौठो लाग्न सक्छ-केही समयपछि बीपी कोइरालाको नामसम्म नसुनेकाहरू पार्टीको राम्रै हैसियतमा पुगे भने अनौठो नमान्दा हुन्छ । नीति र विचारशून्य पार्टीभित्र काम गर्ने भनेको धनबल र डनबलले हो । जहाँ यी दुई बलको बाहुल्य हुन्छ, विचारका संवाहक प्रदीप गिरिहरू विचरा हुनुबाहेक के नै उपाय रहृयो र ? यस्ता विचरा सन्तहरू मूल नेतृत्वमा पुग्ने काम लगभग असम्भव जस्तो बनेको छ ।

प्रदीप गिरिको सम्झना :
प्रदीप गिरिको मृत्युपछि मात्र उहाँको महानता थाहा भए जसरी सारा देशले उच्च सम्मान प्रकट गर्‍यो । सञ्चारमाध्यम, नागरिक समाज, सामाजिक सञ्जाल सबैतिर गिरिकै चर्चा रहृयो, रहिरहेको छ । प्रदीप गिरि नबुझेको र संगत नभएको यो पंक्तिकारले पनि उहाँका बारेमा लेख्ने रहर ग¥यो । समाजले उहाँलाई देवत्वकरण नै गरेको महसुस भयो । तर, उहाँ लामो समयसम्म घाँटीको क्यान्सरबाट पीडित हुनुभयो केही सीमित शुभचिन्तकको सहयोगमा क्यान्सरसँग संघर्ष गर्नुभयो । एक होनहार नेतालाई बचाउनुपर्छ भनेर सरकार गम्भीरतापूर्वक लागेको देखिएन । नेपाली समाजले बिदा भए पनि हुने भनेर ठानेका नेताहरूले ठूलो धनराशि खर्चिएर विदेशमा उपचार गरे तर गिरिको हकमा सम्झिदिने कोही सत्ताधारी भएनन् ।

हुनत गिरिले राज्यकोषबाट उपचार खर्च लिन अनिच्छा व्यक्त गरेको प्रसंग पनि सुनिएको छ । तर, राज्यसत्ताका प्रमुख मानिसहरू गएर उहाँलाई बचाउन के उपाय गर्न सकिन्छ भनेर चासो व्यक्त गरेको समाचार पढ्न पाइएन । जब अस्पतालमा उहाँ अन्तिम सास फेर्दै हुनुहुन्थ्यो, त्यस बेला कार्यकारी प्रमुखलगायत गएर सहानुभूति देखाएको अभिनय गरे । त्यो पनि आसेपासेले सल्लाह सुझाब दिएको आधारमा । आर्यघाटमा जनसागरले गरेको बिदाइ, दिएको सम्मान उहाँले देख्न पाउनु भएन, मूलधारका सञ्चारमाध्यमले दिएको महत्व, उहाँको महिमागान पढ्न पाउनु भएन । नागरिक समाजले प्रदीपलाई ननिभ्ने दीप भनेको मन्थन पनि उहाँलाई थाहा हुने कुरा भएन ।

गिरिजस्तो दूरदृष्टि भएको चिन्तकले आफ्नो मृत्यपछिको समय र परिस्थितिको बारेमा केही आकलन गरेकै थियो होला, त्यो आकलन उहाँले गरेको जस्तो थियो वा फरक थियो त्यसको जवाफ नेपाली राजनीतिका भौतिकरूपमा निभिसकेका दीपक प्रदीपबाट पाउन असम्भव छ । तर, एउटा कुरा भन्न सकिन्छ-नेपाली जनताले गरेको उहाँको अन्तिम बिदाइ उहाँले सोचेको भन्दा फरक थियो । उहाँको बिदाइ विशिष्ट मानवको रूपमा भएको थियो । कुनै सानिध्य र संगत नभए पनि लोकले गरेको महिमागानबाट प्रेरित भएर यो पंक्तिकारलाई पनि केही हरफ कोर्ने इच्छा जागेर आयो । मृत्युवरण गरेर पनि सधैँ अमर रहने कोसेली छोड्दै मानव जीवनलाई सार्थक बनाएर अन्तिम बिदाइ लिनु भएका दार्शनिक प्रदीप गिरिप्रति हार्दिक श्रद्धासुमन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?