‘व्यवस्थित सहरीकरण र दिगो पूर्वाधार प्राथमिकतामा’ : प्रभानमन्त्री देउवा

हिमालय टाइम्स
Read Time = 11 mins

-चन्द्रकान्त खनाल

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थित सहरीकरण, सुविधा सम्पन्न आधुनिक सहरी विकास र दिगो पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । बुटवलमा निर्माण गरिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार उद्घाटन गर्दैै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘गाउँमा सहरी पूर्वाधार नबन्दा बसाइँसराइ अत्यधिक बढेका कारण देशमा असन्तुलित विकास भएको छ । सहर पनि अव्यवस्थित रूपमा रहेकाले व्यवस्थित रूपमा रूपान्तरण गर्न जरुरी छ ।’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘व्यवस्थित सहरीकरण सुन्दर, स्वच्छ, दिगो हुन्छ । आर्थिक गतिविधि बढाउन पनि सहज हुन्छ ।’

प्रधानमन्त्री देउवाले सम्मेलन केन्द्रको सञ्चालनले बुटवलको आर्थिक सामाजिक र शैक्षिक विकासमा सघाउ पुर्याउने  विश्वास व्यक्त गर्दै यसको सञ्चालनका लागि सरकारले छिट्टै मोडालिटी तयार गर्ने बताउनुभयो । ‘सम्मेलन केन्द्रको जति उपयोग गर्न सक्यो त्यति आम्दानी हुन्छ । यस क्षेत्रको आर्थिक क्रियाकलाप बढाउन सहयोग गर्नेछ,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले गौतमबुद्ध विमानस्थल बने पनि पर्याप्त सदुपयोग हुन नसकेको बताउनुभयो । उहाँले त्यसका लागि देखिएका बाधाहरू हटाउनका लागि सरकार र प्रधानमन्त्रीका तहबाट प्रयत्न भइरहेको बताउनुभयो ।

गृहमन्त्री खाँणले बुटवलको विकास समग्र मुलुकको विकासको आधारशिला भएको बताउँदै रुपन्देहीको विकासबाट नेपालको अर्थतन्त्र गतिशील हुने बताउनुभयो । रुपन्देहीमा सुरु योजनाहरू एकपछि अर्को गर्दै पूरा हुँदै र व्यवस्थित हुँदै गएको पनि उहाँको भनाइ थियो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनपछि सम्मेलन केन्द्र बनेकाले यहाँ बढीभन्दा बढी राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रम हुने र यस क्षेत्रको आर्थिक क्रियाकलाप बढाउने बताउनुभयो । उहाँले नागरिकको जीवनस्तर कसरी परिवर्तन आउन सक्छ भन्नेमा सरकारको ध्यान केन्द्रित रहेको समेत जिकिर गर्नुभयो ।

सहरी विकासमन्त्री मेटमणि चौधरीले व्यवस्थित सहरी पूर्वाधार बनाउने र आर्थिक क्रियाकलाप बढाउने दृष्टिकोणमा सम्मेलन केन्द्र बनेको बताउनुभयो । अन्तर्राष्ट्रिय कार्यक्रमसमेत हुने भएकाले यसले रुपन्देही मात्र नभई आसपासका जिल्लालाई पनि फाइदा हुने उहाँको भनाइ थियो । यस्तै, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि आवश्यक बजेट अभाव भएको बताउँदै सरकारले त्यसतर्फ ध्यान दिन संघीय सरकारसँग आग्रह गर्नुभयो । ‘प्रदेशको राजधानी निर्माण गर्ने क्रममा छौँ झण्डै ३२ अर्ब आवश्यक पर्छ त्यसतर्फ संघीय सरकारको विशेष ध्यान जान आवश्यक छ’, मुख्यमन्त्री केसीले भन्नुभयो ।

एमालेका उपाध्यक्ष एवं पूर्व-उपप्रधानमन्त्री विष्णु पौडेलले लामो समयको धैर्यतापछि रुपन्देहीले नयाँ नयाँ आयोजनाहरू सम्पन्न गरेर उद्घाटनका लागि तयार भएको बताउँदै अब रुपन्देहीमा निरन्तर उद्घाटनहरू भइरहने बताउनुभयो । पौडेलले रुपन्देहीले विकासको गफ होइन विकासको काम गर्छ भन्ने कुराको प्रमाण भएको दाबी गर्नुभयो । रुपन्देही निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका पौडेलले दलीय आस्थाभन्दा माथि उठेर विकासमा सहकार्य गरेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले नेपालमा १० वटा ठूला सभाहलहरू निर्माण भएको र ४० वटा थप सभाहल निर्माणको तयारीमा रहेको जानकारी गराउनुभयो । उहाँले बुटवल र आसपासमा भइरहेको सहरी विकास र पूर्वाधार विकासले यस क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

पूर्व-सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आयोजना सम्पन्न भए पनि यसको सञ्चालन कसरी हुन्छ ? भन्ने कुरा महत्वपूर्ण भएको बताउनुभयो । ‘आयोजना सम्पन्न भयो तर यसको सञ्चालन कसरी हुन्छ ? नागरिकले कसरी लाभ लिन्छन् ? यसको निजी क्षेत्रले कसरी प्रयोग गर्न सक्छ त्यसले यसको दिगोपनमा प्रभाव पार्छ’, उहाँले भन्नुभयो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सबैको पहलमा बुटवल मण्डपको जग्गा प्राप्ति भएको बताउँदै पूर्वाधार तयार भइसकेको संरचना सञ्चालनका लागि बुटवल उपमहानगर तयार रहेको बताउनुभयो । ‘बुटवल मण्डपका तयार भएका संरचनाहरूको सञ्चालनको कार्यविधिबारे सर्वत्र चासो छ, सहरी विकास मन्त्रालयले कार्यविधि बनाएर हस्तान्तरण गरेमा सञ्चालनका लागि बुटवल उपमहानगरपालिका इच्छुक छ’ नगर प्रमुख पाण्डेले भन्नुभयो ।

यसरी तयार भयो संरचना
अन्तर्राष्ट्रिय स्तरका सभा, सम्मेलन, गोष्ठी र बैठकहरू गर्न मिल्ने गरी बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण भएको हो । रामनगरस्थित बुटवल मण्डपमा रहेको नौ बिघा ६ कठ्ठा क्षेत्रफलमा यो सम्मेलन केन्द्र फैलिएको छ । एक अर्ब ११ करोड रुपैयाँ लागतमा सहरी विकास मन्त्रालयले सम्मेलन केन्द्र बनाएको हो ।

२०७१ साल माघ १५ गते सम्मेलन केन्द्र निर्माणको ठेक्का सम्झौता गरिए पनि ०७२ सालको सुरुमै गएको भूकम्प तथा नाकाबन्दीका कारण सम्मेलन केन्द्रको निर्माण कार्य केही ढिलो गरी सुरु गरिएको थियो ।

काठमाडौंभन्दा बाहिरको सबैभन्दा ठूलो क्षमताको सम्मेलन केन्द्र
साना ठूला गरी एउटै छानोमुनि दुई हजारजना क्षमताका हलसहित तयार भएको अन्तर्राष्ट्रिय स्तरको यो सम्मेलन केन्द्र काठमाडौंभन्दा बाहिरको सबभन्दा ठूलो क्षमताको सम्मेलन केन्द्र हो । बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये नौ दशमलव ६ बिघा क्षेत्रफलमा सम्मेलन केन्द्र निर्माण भएको छ ।

सम्मेलन केन्द्रदेखि पश्चिमतर्फको ६ दशमलव चार बिघा क्षेत्रफलमा भने अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीकेन्द्र निर्माण भइरहेको छ । भौतिक पूर्वाधारका हिसाबले फड्को मारिरहेको बुटवलमा निर्माण सम्पन्न भएको सम्मेलन केन्द्रलाई यहाँका राजनीतिक दल, उद्योग व्यवसायीले बुटवल सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्रलाई बुटवलका ‘ड्रिम प्रोजेक्ट’का रूपमा हेरेका छन् । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले बुटवल सम्मेलन केन्द्र बुटवलको गहना भएकोले यसबाट बुटवलले लाभ लिन सक्ने वताउनुभयो ।

नेपालको झण्डा आकारमा सभाहल
नेपालको झण्डा आकारमा तयार पारिएको सभाहल तत्काल प्रयोग गर्न मिल्ने गरी तयार भइसकेको छ । सभाहलसहित ६ वटा बैठक हल र दुईवटा बहुुउद्देश्यीय हल छन् । सर्भिस भवन, कर्मचारी आवास तथा अन्य आवश्यक पूर्वाधार निर्माण भएको शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले जानकारी दिनुभयो ।

यस सम्मेलन केन्द्रमा चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था साथै हेलिप्याडसमेत बनाइएको छ । लिफ्टको सुविधासहित निर्माण गरिएको सम्मेलन केन्द्रमा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम गर्न मिल्ने भौतिक संरचना तयार पारिएको छ । विद्युत्का लागि छुट्टै सव स्टेशन राखिएको छ । ६३० केभिए क्षमताको विद्युत् ट्रान्सफर्मर राखिएको छ ।

खानेपानीका लागि बोरिङ पनि छुट्टै बनाइएको छ । सम्मेलन केन्द्र प्रवेश गर्दा आकर्षक बनाउन केही भागमा दुबो लगाइएको छ भने सभाहल अगाडि पोखरी निर्माण गरिएको छ । प्रवेश गर्ने र बाहिरिने पाँचवटा अलग-अलग गेट तयार पारिएको छ । विशिष्ट प्रवेशद्वार र सर्भिस गेट पनि बनाइएको छ । बाँकी तीनमध्ये दुईवटाबाट सम्मेलन केन्द्र प्रवेश गर्ने र एउटा गेटबाट बाहिरिने व्यवस्था मिलाइएको छ । बालउद्यान, कफी सप, रिफ्रेस हल, रजिष्ट्रेसन र टिकट काउण्टरसमेत बनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?