दाङमा दलहरू चुनावी चटारोमा, जितका लागि जोडघटाउको कसरत

हिमालय टाइम्स
Read Time = 7 mins

विवेक खड्का/हिटा
दाङ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दाङमा पनि उम्मेदवार चयनका लागि प्रमुख तीन दलका नेताहरूले गृहकार्य सुरू गरेका छन् । दाङ नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महरा र एमाले महासचिव शंकर पोखरेल चुनाव लड्दै आएको जिल्ला हो । यो जिल्ला एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला पनि हो । २०७४ मा तत्कालीन नेकपा हुँदा क्षेत्र नम्बर २ बाट महरा प्रतिनिधिसभा र पोखरेल प्रदेशसभामा चुनाव लड्नुभएको थियो । तर, अहिले अवस्था फेरिएको छ । यसअघि महराले कांग्रेसका उम्मेदवार राजु खनाललाई १४ हजार १४५ मतान्तरले हराउनुभएको थियो भने पोखरेलले नौ हजार ५२५ मतले कांग्रेस उम्मेदवार कमलकिशोर घिमिरेलाई हराउनुभएको थियो ।

पोखरेल क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभामा निर्वाचित भएर लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्नुभयो भने महरा संघीय सरकारमा सहभागी हुनुभयो । क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभातर्फ एमालेकै अमरबहादुर डाँगी निर्वाचित हुनुभएको थियो । पोखरेलसँग असहमति राख्दै प्रदेश सांसदबाट राजीनामा दिएर एमाले छाडेका डाँगी अहिले मुख्यमन्त्री कुलप्रसाद केसीका प्रमुख राजनीतिक सल्लाहकार हुनुहुन्छ ।

एमाले दाङका सचिव मनोहर बुढाथोकीले घोराही र तुलसीपुर उपमहानगरपालिका नेकपा एमालेले जितेको र पार्टीको महासचिवसमेत भएकाले शंकर पोखरेल नै निर्विकल्प उम्मेदवार रहेको बताउनुभयो । लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङको भालुवाङ सार्न सफल भएका महासचिव पोखरेललाई त्यसको केही फाइदा आउँदो निर्वाचनमा हुने एमालेको आँकलन छ ।

क्षेत्र नम्बर २ बाट गठबन्धनका महरासँगै कांग्रेसका राजु खनाल पनि उम्मेदवारको आकांक्षी हुनुहुन्छ । महराले क्षेत्र नम्बर २ नै रोजे खनाललाई टिकट पाउन सहज हुनेछैन । क्षेत्र नम्बर २ मा घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका चारवटा वडा पर्छन् । बंगलाचुली गाउँपालिकामा माओवादी केन्द्रले जितेको छ भने घोराही उपमहानगरपालिका एमालेले जितेको छ । माओवादी केन्द्र दाङका इन्चार्ज निर्मल आचार्यले गठबन्धनको केन्द्रीय निर्णय र सर्कुलरबमोजिम चुनावमा जाने र विगतको समीक्षा गर्दै चुनावलाई थप सुदृढीकरण गर्ने बताउनुभयो ।

अहिले सत्तारूढ गठबन्धनबाट क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरी उम्मेदवार बन्ने देखिएको छ । उहाँ २०७४ मा एमालेबाट निर्वाचित हुनुभएको थियो । चौधरीसँगै एमालेबाट प्रदेशसभा सदस्य शान्ता चौधरीलाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ । शान्ता चौधरी हाल एमाले सचेतक हुनुहुन्छ ।

यसअघि मेटमणि चौधरीले ३७ हजार ९०८ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सुशीला चौधरीले २४ हजार ७४ मत प्राप्त गर्नुभएको थियो । क्षेत्र १ को प्रदेशसभातर्फ शर्मा र माओवादी केन्द्रका इन्द्रजीत थारू विजयी हुनुभएको थियो ।
नेकपा एकीकृत समाजवादी दाङका अध्यक्ष सुरामणि बेल्बासेले क्षेत्र नम्बर १ बाट मेटमणि नै उम्मेदवार बन्ने बताउनुभयो । क्षेत्र नम्बर १ मा लमही नगरपालिका, गढवा, राप्ती र राजपुर गाउँपालिका तथा घोराही उपमहानगरपालिकाका चारवटा वडा पर्छन् । गएको पालिका निर्वाचनमा लमही र राजपुर कांग्रेस तथा गढवा र राप्ती माओवादी केन्द्रले जितेका छन् ।

दाङको क्षेत्र नम्बर ३ मा एमालेबाट घनश्याम पाण्डे र निवर्तमान राष्ट्रियसभा सदस्य कोमल वलीमध्ये कोही एक उम्मेदवार हुने चर्चा छ । पाण्डे तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर हुनुहुन्छ भने अहिलेको पालिका निर्वाचनमा पनि तुलसीपुरमा एमालेलाई जिताएपछि उहाँको पक्षमा माहोल बलियो बन्दै गएको जिल्ला नेताहरू बताउँछन् ।

उक्त क्षेत्रमा कांग्रेसबाट दीपक गिरीको चर्चा छ । पूर्वमन्त्रीसमेत रहेका गिरी यसअगाडि पनि उम्मेदवार हुनुहुन्थ्यो । यो क्षेत्रबाट यसअगाडि हिराचन्द्र केसी विजयी हुनुभएको थियो । केसी अहिले नेकपा एकीकृत समाजवादीमा हुनुहुन्छ । केसी ४० हजार २८७ मतका साथ विजयी हुँदा गिरीले ३३ हजार ७३० मत प्राप्त गर्नुभएको थियो । प्रदेशसभातर्फ क्षेत्र नम्बर ३ (क) मा कांग्रेसका डिल्लीबहादुर चौधरीले जित हात पार्नुभएको थियो । दाङमा वाम गठबन्धनले बर्चस्व जमाइरहेका बेला चौधरीले माओवादी उम्मेदवार जगप्रसाद शर्मालाई दुई हजार ३३६ मतान्तरले हराउँदै कांग्रेसलाई ‘क्लिन स्वीप’ हुनबाट जोगाउनुभएको थियो । चौधरी अहिले लुम्बिनी प्रदेशको मन्त्री हुनुहुन्छ । क्षेत्र नम्बर ३ मा बबई, शान्तिनगर र दंगीशरण गाउँपालिका तथा तुलसीपुर उपमहानगरका केही वडा पर्छन् । तुलसीपुरबाहेक तीनवटै क्षेत्रमा कांग्रेसले जितेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?