उखु किसानले पाएनन् अनुदान

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

प्रकाश मैनाली/हिटा
सर्लाही । सर्लाहीमा उखु खेती धेरै हुने गरेको भए पनि किसानले यसबाट लाभ भने खासै लिन सकेका छैनन् । पैसा समयमा नदिएर मिल सञ्चालकलाई प्रहरीले समातेर पैसा उठाउनुपरेको तितो यथार्थ रहिरहेको बेला नेपाल सरकारले दिनुपर्ने अनुदानसमेत समयमा उपलब्ध नगराउँदा किसान मारमा परेका हुन् । गत वर्ष उखु बेचेका उखु किसानले हालसम्म पनि भुक्तानी नपाउँदा घर व्यवहार सञ्चालन गर्न गाह्रो भएको नेपाल उखु उत्पादक संघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनाली बताउनुहुन्छ ।

यसरी नेपाल सरकारले दिने भनेको अनुदानको रकमसमेत समयमा उपलब्ध नगराउँदा किसानलाई मलखाद किनेर हाल्नसमेत गाह्रो परेको मैनालीको भनाइ छ । उखु बेचेको एक वर्ष हुन लाग्दासमेत किसानले पैसा नपाउनु हास्यास्पद रहेको उहाँ बताउनुहुन्छ । नेपाल सरकारले उद्योगी र किसान प्रतिनिधिसँग सहमति गर्दा १५ दिनभित्र उखु किसानलाई किसानले बेचेको उखुको भुक्तानी दिने सहमति भए पनि किसानले भुक्तानी नपाउनु अत्यन्तै दुखद कुरो भएको अर्का उखु किसान नेता राजकुमार उप्रेती बताउनुहुन्छ ।

गत आर्थिक वर्षका लागि नेपाल सरकारले उद्योगी र किसान प्रतिनिधिबीच भएको सहमतिअनुसार उद्योगले प्रतिक्विन्टल ५२० र नेपाल सरकारले ७० रुपैयाँ अनुदान रकम दिने सहमति भएको भए पनि किसानले अनुदानको रकमबापतको ७० रुपैयाँ पाउन नसकेका हुन् ।

उता, कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीले भने चिनी उद्योगीले समयमा तथ्यांक उपलब्ध नगराएकाले किसानको खातामा पैसा पठाउन नसकेको कोष नियन्त्रक जीवन पुरी बताउनुहुन्छ । उद्योगीलाई छिटोभन्दा छिटो किसानले बेचेको उखुको लागत पठाउन भनेको र उद्योगीले तथ्यांक पठाउनेबित्तिकै माथिल्लो निकायमा तथ्यांक पठाएर पैसा माग्ने र पैसा आएपछि किसानको खातामा पैसा हाल्ने प्रक्रिया सुरु गरिने प्रमुख पुरीको भनाइ छ । किसानले मिहिनेत गरेर उत्पादन गरेको उखुको पैसा लिन सरकार र मिल सञ्चालक दुवैसँग संघर्ष गर्नुपर्ने प्रथाको अन्त्य हुन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?