नवौं राष्ट्रिय खेलकुदमा कर्णाली २९ खेलमा सहभागी हुने

हिमालय टाइम्स
Read Time = 4 mins

सुर्खेत । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २९ खेलमा सहभागिता जनाउने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट प्रक्रिया पूरा गरी बन्द प्रशिक्षण दिन थालेको जनाएको छ ।

परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रतियोगिताका कुल ३६ खेलमध्ये कर्णाली २९ खेलमा सहभागिता हुने जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशले कबड्डी, उसु, भलिबल (महिला–पुरुष), कराँते, बक्सिङ, तेक्वान्दो, फुटबल (महिला-पुरुष), क्रिकेट, आइटिएफ, ब्याडमिन्टन, एथ्लेटिक्स, रग्बी, भारोत्तलन, शारीरिक सुगठनमा सहभागिता जनाउनेछ ।

त्यस्तै, कुस्ती, हृयाण्डबल (महिला-पुरुष), टेबलटेनिस, हक्की, जुडो, बास्केटबल, सुटिङ, खोखो, फुलकन्ट्याक कराँते, पौडी, बुद्धिचाल, प्याराग्लाइडिङ, सेपाक्रताको, जिम्न्याष्टिक खेलका प्रतिस्पर्धामा भाग लिनेछ ।

लुम्बिनी प्रदेशमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले तीन स्वर्ण, चार रजत र १७ कास्यसहित २४ पदक जितेको थियो । यसपटक पदक जित्ने खेलाडीलाई प्रदेश सरकारले नगदसहित सम्मान गर्ने भएको छ । प्रदेश सरकारले स्वर्णपदक विजेतालाई दुई लाख, रजत पदक विजेतालाई एक लाख ५० हजार र कास्य पदक विजेतालाई एक लाख प्रोत्साहन पुरस्कार दिने निर्णय गरेको छ ।

परिषद् उपाध्यक्ष हमालले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्न गण्डकी प्रदेशबाट आयोजकको झण्डा ग्रहण गर्ने बताउनुभयो । यसका लागि वीरेन्द्रनगरमा अत्याधुनिक प्रदेश रंगशाला निर्माण कार्यलाई तीव्रता दिइएको छ ।

यता, गण्डकी प्रदेशले ३६ वटै खेलमा सहभागिता जनाउने भएको छ । ट्रायथलनबाहेक सबै खेलको छनोट सकिएकाले आगामी असोज १ गतेदखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।

सबै खेल विधामा गरी गण्डकीबाट सात सय १६ खेलाडीले प्रतिस्पर्धामा भाग लिने परिषद्का सदस्य-सचिव तेजबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार छनोटमा परेका खेलाडीलाई १५ दिन विशेष र १५ दिन बन्द प्रशिक्षणमा राख्ने तयारी भइरहेको छ ।

मन्त्रालयबाट बजेटको सुनिश्चितता हुनासाथ बन्द प्रशिक्षण र प्रतियोगिताको अरू तयारीले तीव्रता पाउने सदस्य-सचिव गुरुङले उल्लेख गर्नुभयो । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलुकद प्रतियोगिता सञ्चालन हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?