एलिजाबेथको शव बकिंघम प्यालेसमा

Read Time = 4 mins

लण्डन । महारानी एलिजाबेथ द्वितीयको शव लण्डनको बकिंघम प्यालेसमा पुगेको छ । इडिनवर्गबाट दरबारमा शव रादिएको कफिन लैँजादा भव्य स्वागत गरिएको थियो । महारानी एलिजावेथको ९६ वर्षको उमेरमा गत बिहीबार निधन भएको थियो । उहाँको सेप्टेम्बर १९ अर्थात् असोज ३ गते सोमबारमा अन्तिम संस्कार गरिनेछ ।
एजेन्सीका अनुसार महारानीको राजकीय अन्त्येष्टिमा शाही परिवार, विभिन्न देशका विशिष्ट व्यक्ति सहभागी हुनेछन् । उक्त दिनमा सार्वजनिक बिदा घोषणा गरिएको छ । अन्तिम संस्कार गर्नुअघि महारानीको पार्थिव शरीरलाई चारदिन राजकीय अन्तिम श्रद्धाञ्जलिका लागि पनि राखिने भएको छ ।

पाँच सय सरकार प्रमुख र विदेशी प्रतिनिधिहरू श्रद्धाञ्जलिमा सहभागी हुने
सोमबार बेलायती महारानी एलिजावेथको अन्त्येष्टि समारोह हुँदै छ । उहाँलाई अन्तिम श्रद्धाञ्जलि दिन विश्वभरका नेता तथा राजपरिवारका सदस्यहरू उपस्थित हुनेछन् । यो सभामा करिब पाँच सय सरकार प्रमुख र विदेशी प्रतिनिधिहरू आउनसक्ने अपेक्षा छ ।

अन्तिम श्रद्धाञ्जलि दिने कार्यक्रम वेष्टमिनस्टर एबीमा हुनेछ । जहाँ करिब २२ सय मानिस अटाउने क्षमता छ । यो सभामा युरोपेली राजकीय परिवारका सदस्यहरू सरिक हुनेछन् । उनीहरूमध्ये धेरैजना एलिजावेथको रगतको नाता भएका मानिसहरू छन् । नर्वे, स्वीडेन, नेदरल्याण्ड्स, डेनमार्क, बेल्जियम, स्पेनलगायत मुलुकका राजकीय परिवारका सदस्यहरू श्रद्धाञ्जलि सभामा सहभागी हुनेछन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन पनि यो सभामा सामेल हुनुहुनेछ । उहाँका साथै फष्र्ट लेडी जिल बाइडेन पनि सभामा सरिक हुनुहुनेछ । कमनवेल्थ मुलुकका सरकार प्रमुखहरु पनि सोमबारको सभामा सामेल हुनेछन् । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी कल्बानिजका साथै न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेन र क्यानडाका प्रधानमन्त्री जस्टिन टुडो पनि उक्त सभामा सामेल हुनुहुनेछ । अन्य कमनवेल्थ मुलुकका शीर्ष नेताहरू पनि उक्त सभामा सरिक हुनुहुनेछ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र श्रीलंकाका राष्ट्रपति रानिल विक्रमासिंघे पनि सभामा सामेल हुनुहुनेछ ।

त्यस्तै अन्य नेताहरूमा जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेइमेयर, इटालीका राष्ट्रपति सर्जियो माटारेलाका साथै युरापेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन पनि उक्त सभामा सरिक हुने जनाइएको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल र ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो उक्त सभामा सहभागी हुनुहुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?