बैतडीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र एक बर्षदेखि डाक्टर बिहीन

Read Time = 4 mins

-डम्बर बोहरा
बैतडी । बैतडीको मेलौली नगरपालिका ७ मा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर बिहीन बनेको छ । तल्लोस्वराड क्षेत्रका तीन स्थानीय तहका नागरीहरुलाई सेवा दिदै आएको प्राथमिक स्वास्थ्य केन्द्र करिव एक बर्षदेखी डाक्टर बिहीन बनेको हो । एक जना मेडिकल अधिकृत (एमबिबिएस डाक्टर ) को दरबन्दी भएपनि २०७८ असोजपछि दरबन्दी रिक्त रहेको छ ।

दरबन्दीअनुसार डाक्टर नहुँदा तल्लोस्वराड क्षेत्रका पञ्चेश्वर गाउँपालिका ,शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाका स्थानीयहरुलाई समस्या हुने गरेको मेलौली नगरपालिका ७ का स्थानीय केशव सिँह भाटले बताउनुभयो । ‘डाक्टर हुँदा यतै स्वास्थ्य उपचार सेवा पाउथ्यौ’,उहाँले भन्नुभयो ‘अहिले एक बर्षजति भयो बाहिर जानुपरेको छ ।’ यहाँका स्थानीयहरु सामान्य खालको उपचारका लागि पनि महँगो शुल्क तिरेर टाढा टाढा धाउनुपर्ने बाध्यतामा छन् । एमबिबिएस डाक्टरको अभावमा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध रहेको सेवालिनका लागि अहिले जिल्ला अस्पताल बैतडी र डडेल्धुरा अस्पताल धाउनुपरेको उहाँले बतानुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्रले बि.स. २०५६ सालदेखि नै डाक्टरको अभाव झेल्दै आएको छ । बिचबिचमा डाक्टर आउने गरेको भएपनि बढीमा एकदुई बर्ष बस्ने अनि जाने गरेको केशरपुर प्राथामिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताउनुभयो । ‘प्राथमिक स्वास्थ्य केन्द्रले ०५६ यता देखी नै दरबन्दी अनुसारको डाक्टर पाउन सकेको छैन्’ उहाँले भन्नुभयो, ‘सेवाप्रवाहमा समस्या हुने गरेको भएपनि हामीले भ्याउने जति काम गरिरहेका छौं ।’

दुर्गम ठाउँ भएका कारण डाक्टर आएपनि एक दुईबर्षमा नै जाने गरेका छन्। २०५६ सालमा एक जना डाक्टरका लागि दरवन्दी स्वीकृती भएपनि आएका डाक्टर लामो समय नबस्ने गरेको मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण बहादुर चन्दले बताउनुभयो । रिक्त मेडिकल अधिकृतको पदपुर्तिका लागि नगरपालिकाले १५ दिने सूचना प्रकाशित गरेको भएपनि कसैको पनि आवेदन नपरेको चन्दले जानकारी दिनुभयो । ‘रिक्तदरबन्दीको पदपुर्तिका लागि १५ दिने सूचना प्रकाशित गरेका थियौ कसैको पनि आवेदन परेको छैन्’ , उहाँले भन्नुभयो ‘डाक्टर पाएभने तुरुन्तै भर्ना गर्ने तयारीमा छौं । ’

प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा शव पोष्टमार्टम गर्नका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता रहेको छ।यस्तै निरोगिताका प्रमाणपत्र लगायत अन्य कामका लागि समेत जिल्ला नै धाउनुपर्ने अवस्था रही आएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर मात्रै नभएर स्टाफ नर्स समेत छैनन् । एकजना स्टाफ नर्सको दरबन्दी भएको केन्द्रमा लामो समयदेखि दरबन्दी रिक्त रहेको जनस्वास्थ्य निरीक्षक दयालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?