गज्र्याङ-नयाँ खिम्ती प्रसारण लाइन सम्पन्न

Read Time = 6 mins

काठमाडौं । खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि रामेछाप (गज्र्याङ)-नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । रामेछापको गोकुलगंगा गाउँपालिकाको गज्र्याङबाट सुरु भई दोलखाको तामाकोसी गाउँपालिका हुँदै रामेछापकै मन्थली नगरपालिका-१३ स्थित साँखे (फुलासी) स्थित नयाँ खिम्ती सबस्टेसनमा टुंगिने प्रसारण लाइनको लम्बाइ ३१ किलोमिटर रहेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रसारण लाइनका लागि एक सय पाँचवटा टावर निर्माण गरिएको छ भने आयोजनाअन्तर्गत गज्र्याङमा १३२ केभीको नयाँ सबस्टेसन र नयाँ खिम्ती सबस्टेसनमा १३२ केभीको वे निर्माण गरिएको छ । गज्र्याङ सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी ६/८ एमभिए क्षमताका थ्रीफेज पावर ट्रान्सफर्मर जडान गरिएको छ । गज्र्याङ सबस्टेसनबाटै स्थानीयरूपमा विद्युत् दिइने भएकाले सो क्षेत्रको विद्युत् आपूर्ति पनि भरपर्दो र गुणस्तरीय हुने बताइएको छ । प्रसारण लाइन र सबस्टेसन निर्माणपछि करिब दुई सय मेगावाट विद्युत् प्रवाहका लागि पूर्वाधार तयार बनेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘स्थानीय अवरोधलगायत समस्यामा परेको प्रसारण लाइन निर्माण सम्पन्न गरी परीक्षण भइरहेको छ, अब केही दिनमै सञ्चालन (चार्ज) मा ल्याउन परीक्षणका काम भइरहेका छन्, अहिले १२ मेगावाट उपल्लो खिम्ती र सात मेगावाट उपल्लो खिम्ती दोस्रो जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् वैकल्पिक व्यवस्था गरी जोडिएको छ, अब ती आयोजनाको विद्युत् गज्र्याङ–खिम्ती प्रसारण लाइनमा जोडिन्छ, प्रसारण पूर्वाधार अभावमा विद्युत् खेर जाने अवस्था अन्त्य भएको छ ।’

स्थानीयको अवरोधका कारण निर्माणमा केही ढिला हुने देखिएपछि १५ वैशाख २०७९ देखि वैकल्पिक व्यवस्थामार्फत् उपल्लो खिम्ती र उपल्लो खिम्ती दोस्रो जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् गज्र्याङ सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनमार्फत् जिरी सबस्टेसनमा जोडिएको छ । जिरी सबस्टेसनबाट चरिकोटस्थित मकैबारी सबस्टेसन हुँदै सिंगटी सबस्टेसनमार्फत् विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गरिएको छ ।

गज्र्याङ-खिम्ती प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाधनीले शतप्रतिशत मुआब्जा माग गर्दै निर्माणमा रामेछापको गोकुलगंगा गाउँपालिकास्थित ठोसे, धारापानी, बेताली, नमाडी र दोलखाको तामाकोसी गाउँपालिकाको सहरे क्षेत्रमा निर्माणमा अवरोध गरेका थिए । केही स्थानमा मार्गधिकारमै नपर्ने जग्गा तथा घरधनीले मुआब्जा तथा क्षतिपूर्ति माग गर्दै प्रसारण लाइनको तार तान्न दिएका थिएनन् ।

स्थानीयसँगको छलफल, स्थानीय तह तथा प्रशासन, प्राधिकरणको उच्च व्यवस्थापनलगायतको निरन्तर पहल, प्रयास र सहयोगमा प्रसारण लाइन निर्माण अवरोध हटाइएको आयोजना प्रमुख अनुप गौतमले बताउनुभयो । आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०६७ /०६८ बाट सुरु भएको थियो भने निर्माणका लागि पिङगाओ ग्रुप कम्पनी, चीनसँग माघ २०७३ मा ठेक्का सम्झौता भएको थियो ।

उपल्लो खिम्ती र उपल्लो खिम्ती दोस्रो आयोजनाको प्रवद्र्धक हिमालय ऊर्जा विकास कम्पनीको प्रवद्र्धक सम्बद्ध फ्रेण्डसिप इन्जिनियरिङले सब कन्ट्र्याकमा काम लिएको थियो । अनुमानित लागत दुई करोड अमेरिकी डलर रहेको आयोजना नेपाल सरकारको लगानीमा निर्माण भएको हो । आयोजनाअन्तर्गत नयाँ खिम्ती सबस्टेसनमा २२०/१३२/३३, २०० एमभिएका पावर ट्रान्सफर्मर जडान गरिनेछ । नयाँ खिम्ती सबस्टेसनको क्षमता अपुग हुने भएकाले क्षमता विस्तार गर्न लागिएको हो । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी सबस्टेसनमा अहिले सय एमभिएको पावर ट्रान्सफर्मर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?