मघा र चतुर्दशी श्राद्ध विचार

डा. नारायणप्रसाद निरौला
डा. नारायणप्रसाद निरौला
Read Time = 15 mins

सोह्रश्राद्धसँगै विशेष चर्चा हुने मघा र चतुर्दशी श्राद्ध हुन् । अन्य श्राद्धको पनि चर्चा परिचर्चा नभएका भने होइनन् । यो आलेखमा विशेषतः मघा र चतुर्दशी श्राद्धसम्बन्धी विचार विशेष रूपमा प्रस्तुत रहनेछ । आश्विन कृष्णपक्षअन्तर्गत मघा नक्षत्र परेका दिन गरिने काम्य विशेष श्राद्ध मघाश्राद्ध हो । यो नित्य नभई कुनै अभीष्ट फल सिद्धिका निम्ति गरिने श्राद्ध हो ।

सोह्रश्राद्धको द्वादशी, त्रयोदशी आदिमा गरिने श्राद्ध नियमित हुन् भने मघा नक्षत्रका दिन गरिने विशेष वा छुट्टै श्राद्ध मघा हो । प्रायः यो अवसर त्रयोदशीश्राद्धका दिन पर्ने गर्दछ । नक्षत्रमण्डलका दशौँ नक्षत्र मघाका स्वामी पितृ हुन् । पितृ नै हाम्रा वंशका रक्षक पनि हुन् ।

हामीमा पितृको बीजकीय शेष रहने भएकाले तत्जन्य वा सन्ततिजन्य बाध व्यवधान भएको वा सन्तान सुख प्राप्त नभएको अवस्थामा सन्तान प्राप्तिको मनोकामना पूर्ण गर्न गरिने श्राद्धलाई मघा श्राद्ध भनिन्छ । महालय (सोह्रश्राद्ध)भित्र पर्ने भएकाले त्रयोदशी श्राद्धलाई नै मघा भन्ने बुझाइ हुनसक्छ तर महालयको त्रयोदशीश्राद्ध र मघाश्राद्ध फरक हुन् । मघा नक्षत्र परेको दिन मघा श्राद्ध गरिन्छ । मघा श्राद्ध भिन्नै उद्देश्यले सम्पादन गरिन्छ भने पार्वणको त्रयोदशी श्राद्ध गर्ने विधि भिन्नै छ । अतः मघा श्राद्ध पितृलाई खुशी गराई आफ्नो अभीष्ट सिद्धि गर्ने एक काम्य विशेष श्राद्ध हो ।

सिंह राशिको क्षेत्रमा पर्ने पहिलो नक्षत्र मघा हो । सिंह राशिका स्वामी सूर्य हुन् । सूर्यको किरणद्वारा नै चन्द्रमाको माथिल्लो भागसम्म दान गरिएका पिण्डादिवस्तुको वासना रूप पितृसमक्ष पुग्ने भएकाले मघा नक्षत्रका दिन विशेष पितृको काम्य श्राद्ध गरिएको हो । 

आश्विन कृष्णपक्षको त्रयोदशीका दिन मघा नक्षत्र परेको अवसरमा मघा श्रद्ध गर्नुपर्दछ । अन्य महिनामा पनि त्रयोदशीका दिन मघा नक्षत्र पर्न सक्छन् तर आश्विन कृष्णपक्षको मघा नक्षत्रयुक्त त्रयोदशी तिथि नै मघाश्राद्धका निम्ति उपययोग गर्नुपर्दछ भनी विष्णुधर्मोत्तर पुराणमा बताइएको छ :
‘प्रौष्ठपद्यामतीतायां तथा कृष्णा त्रयोदशी ।
एतांस्तु श्राद्धकालान् वै नित्यानाह प्रजापतिः ।।’ (विष्णुधर्माेत्तरपुराण) अर्थात् आश्विन कृष्णपक्षको त्रयोदशी तिथिमा मघा नक्षत्रयुक्त भएको समयमा मघाश्राद्ध गर्नुपर्दछ । यसैगरी यो श्राद्धमा मह र घ्यूको विशेष प्रयोग गर्नुपर्ने विधान पनि रहेको छ :
‘प्रौष्ठपद्यामतीतायां मघायुक्तां त्रयोदशीम् ।
प्राप्य श्राद्धं हि कत्र्तव्यं मधुना पायसेन च ।।’
(प्रयोगपारिजातमा शंखखो वचन) यसरी आश्विन कृष्णपक्षको त्रयोदशीलाई नै मघा श्राद्ध गर्न शास्त्रले निर्देश गरेका छन् । यसैगरी मघाश्राद्ध मलमासमा पनि गर्न सकिन्छ भनी निर्णयसिन्धुमा बताइएको छ :
‘मघा त्रयोदशीश्राद्धं प्रत्युपस्थितिहेतुकम् ।
अनन्यगतिकत्वेन कर्तव्यं स्यान्मलिम्लुचे ।।’
(निर्णयसिन्धुमा काठक गृहृयसूत्रको वचन) अधिकमास वा क्षयमास परेको समयमा कृष्णपक्षको त्रयोदशी तिथि मघायुक्त भएको समयमा पनि मघा श्राद्ध गर्न सकिने विधान पाइन्छ ।

मघाश्राद्ध गर्नुको उद्देश्य
सन्तानप्राप्तिका निम्ति मघा श्राद्ध गर्ने चलन रहेको छ । सन्तान नहुनेले तत् सुखका निम्ति मघायुक्त त्रयोदशीको श्राद्ध गर्नुपर्छ ः ‘असन्तानस्तु यस्तस्य श्राद्धे प्रोक्ता त्रयोदशी ।।’ (निर्णयसिन्धु) यसैगरी सन्तान भएकाले भने यो श्राद्ध नगर्नु भनिएको छ । सन्तान युक्तले यदि यो श्राद्ध गर्दछन् भने वंशमा क्षय हुन्छ भनी हेमाद्रिले उल्लेख गरेका छन्ः
‘असन्तानस्तु यस्तस्य श्राद्धे प्रोक्ता त्रयोदशी ।
सन्तानयुक्तो यः कुर्यात्तस्य वंश क्षयो भवेत् ।।’
(हेमाद्रिको वचन निर्णयसिन्धु) यसैगरी सूर्य नीच भई प्रभावहीन भएको, सन्तान सुख प्राप्त नभएको समयमा पनि यस्तो श्राद्ध गर्ने गरेको पाइन्छ ।

मघाश्राद्ध गर्ने स्थानविशेषका बारेमा पनि बताइएको छ । विशेषगरी हात्तीको छायांमा बसेर खीरको पिण्डदान पितृका निम्ति अपेक्षित हुन्छ भनी निर्णयसिन्धुमा यसरी बताइएको-
‘अपि नः सकुले भूयाद्यो नो दद्यात्रयोदशीम् ।
पायसं मधुसर्पिभ्यां प्राक्छाये कुञ्जरस्य च ।।’
(निर्णयसिन्धु) यसैगरी मह र घ्यूले युक्त वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने कुरा मनुस्मृतिमा बताइएको छ ः
‘यत्किञ्चित् मधुना मिश्रं प्रपद्यात्तु त्रयोदशीम् ।
तदप्यक्षयमेव स्यात् वर्षामु च मघासु च ।।’
(मनुस्मृति) हात्तीको पूर्वी छायाँमा बसी मह र घ्यूले युक्त पिण्डदन गर्नाले पितृ खुशी भई सन्तान सुखका साथै वंशवृद्धिको आशीर्वाद प्रदान गर्दछन् भनिएकाले सोही विधिपूर्वक यो श्राद्ध सम्पादन गर्नुपर्दछ ।

रूखबाट लडेर मृत्यु भएका, फलाम आदिले काटी वा च्यापी मृत्युभएका, चट्याङलागेर देहन्त्य भएका, विष पिएर मृत्युभएका, बाघ आदि जन्तुका नङग्राबाट मृत्यु भएका, बँदेल हात्ती आदिका दाह्राले प्राणान्त भएका, खान नपाएर भोकले अकालमै मृत्युभएका पितृको आश्विन कृष्णपक्ष चतुर्दशीमा श्राद्ध गर्नु उपयुक्त हुन्छ ।

जेठो छोरा हुने व्यक्तिले यो श्राद्ध गर्नुहुँदैन भनी बताइएको छ : ‘मघायां पिण्डदानेन ज्येष्ठपुत्रो विनस्यति । (मलमासतत्तवम्) । देवभिागवतमा ‘तत्रापि महाती पूजा कर्तव्या पितृदेवतै । ऋक्षे पिण्ड प्रदानन्तु ज्येष्ठपुत्रे विवर्जयेत् ।।’
(देवीभागवत) यसैगरी सन्ता हुनेले पनि यो श्राद्ध नगर्नू भनिएको छः
‘मघायुक्तत्रयोदश्यां पिण्डनिर्वपणं द्विजः ।
ससन्तानो नैव कुर्यान् नित्यं ते कवयो विदुः ।’ (बृहत्पाराशरको वचन निर्णयसिन्धु) यो श्राद्ध सन्तान सुखकै निम्ति गरिन्छ । जसका सन्तान छन् उनीहरूका निम्ति यो श्राद्ध गर्नुपर्दैन । यसैगरी ज्येष्ठ सन्तान गुमाएकाले भने यो श्राद्ध गर्ने अधिकार राख्दछन् भन्ने शास्त्रको आशय पाइन्छ ।

सिंह राशिको क्षेत्रमा पर्ने पहिलो नक्षत्र मघा हो । सिंह राशिका स्वामी सूर्य हुन् । सूर्यको किरणद्वारा नै चन्द्रमाको माथिल्लो भागसम्म दान गरिएका पिण्डादिवस्तुको वासना रूप पितृसमक्ष पुग्ने भएकाले मघा नक्षत्रका दिन विशेष पितृको काम्य श्राद्ध गरिएको हो । मघा नक्षत्रसँग सूर्य र पितृ देवको सम्बन्ध रहने भएकाले पनि यो पितृतृप्तिका निम्मि विशेष अवसर हो । सूर्य नीच भएको अवस्थामा, सूर्यसँग राहु वा केतु बसेको अवस्थामा सूर्यजन्य प्रभाव न्यून रहने भएकाले मघाश्राद्ध गर्नुपर्दछ भन्ने पाइन्छ ।

कतिपयले त्रयोदशी तिथिमा मघा परेकाले त्रयोदशीको श्राद्ध नगरी औँशीमा गर्ने चलन पनि रहेको पाइन्छ तर यसमा कुनै शास्त्रीय प्रमाण पाइँदैन । आशौच परेमा बाहेक बुबाको तिथिमा नै सोह्रश्राद्ध गर्नुपर्दछ । पूर्णिमा र चतुर्दशी तिथि हुनेले भने बाबुका तिथिमा श्राद्ध नगरेर अष्टमी, द्वादशी, औंसी, व्यतीपातयोग र भरणी नक्षत्रमध्ये कुनै एक दिन गर्नुपर्दछ । अरू तिथि हुनेले बाबुकको तिथि छोड्नु हुँदैन ।

त्रयोदशी तिथिमा गरिने श्राद्ध र मघाश्राद्ध छुट्टै हुन्, यसैगरी मघार श्राद्ध पनि भिन्नै हो । मघाश्राद्ध र त्रयोदशीश्राद्ध भिन्न रहेकाले मघा नक्षत्र परे पनि नियमित सोह्रश्राद्धको श्राद्ध यसदिन गर्न सकिने देखिन्छ । मघाश्राद्ध काम्य श्राद्ध हो । अभीष्ट सिद्धिका निम्ति यो एक विशेष अवसर पनि हो । सन्तान सुख नभएकालाई यो सिद्धिदायी रहन्छ । सन्तान वृद्धिको कामना राख्नेले मघा श्राद्धगर्नुपर्ने विधान गरिएको छ । यसैगरी मघा नक्षत्रकै दिन देहान्त्य भएका पितृको पनि यसदिन पार्वण श्राद्ध हुने गर्दछ । यसैगरी पितृदोष निवारणका निम्ति पनि मघाश्राद्ध गर्ने चलन रहेको छ ।

चतुर्दशी श्राद्ध विचार
आश्विन कृष्णपक्षको चतुर्दशी तिथिका दिन अपमृत्यु अर्थात् अकालमा देहान्त्य भएका पितृको श्राद्ध हुने गर्दछ । यस दिन चतुर्दशी तिथिमा दिवंगत भएका पितृको श्राद्ध भने हुँदैन । चतुर्दशी तिथिमा देहान्त्य भएका पितृको औंशी, अष्टमी, द्वादशी आदि अन्य तिथिमा श्राद्ध गर्नुपर्दछ । युद्धमा, शस्त्र प्रहारबाट मृत्यु भएका, करेन्ट आदि लागेर अकालमा मरेका, आत्महत्या गरेका, दुर्घटनामा परी देहान्त्य भएका पितृको श्राद्ध गर्ने विशेष दिन पितृपक्षको चतुर्दशी तिथि हो भनी निर्णयसिन्धुमा बताइएको छ :
‘अपमृत्युर्भवेद्येषां शस्त्रमृत्युरथापि वा ।
श्राद्धं तेषां प्रकर्तव्यं चतुर्दश्यां नराधिपः ।।’ (निर्णयसिन्धु) ‘वृक्षारोहणलोहाद्येर्विद्युज्जलविषाग्निभिः ।
नखिदंष्ट्रिविपन्ना ये तेषां शस्ता चतुर्दशी ।।’ (निर्णयसिन्धु, पृथ्वीचन्द्रोदयको वचन, पृ. ११०)
यसैगरी रूखबाट लडेर मृत्यु भएका, फलाम आदिले काटी वा च्यापी मृत्युभएका, चट्याङलागेर देहन्त्य भएका, विष पिएर मृत्युभएका, बाघ आदि जन्तुका नङग्राबाट मृत्यु भएका, बँदेल, हात्ती आदिका दाह्राले प्राणान्त भएका, खान नपाएर भोकले अकालमै मृत्यु्भएका पितृको आश्विन कृष्णपक्ष चतुर्दशीमा श्राद्ध गर्नु उपयुक्त हुन्छ । यसैगरी याज्ञवल्क्य स्मृतिमा महालय अन्तर्गत अन्य प्रत्येक तिथिमा पितृको श्राद्ध गर्न मिल्छ तर चतुर्दशीमा भने त्याज्य मानिएको छ । जुन शस्त्रबाट देहान्त्य भएका पितृको मात्र श्राद्ध गर्ने दिन हो
‘प्रतिपत्प्रभृतिष्वेकां वर्जयित्वा चतुर्दशीम् ।
शस्त्रेण तु हता ये वै तेभ्यस्तत्र प्रदीयते ।।’ (याज्ञवल्क्यस्मृति, आचाराध्याय, श्लो.२६४) यी सम्पूर्ण वचनको सारलाई हेर्दा अकालमा मृत्यु भएका पितृको मात्र चतुर्दशी तिथिका दिन श्राद्ध गर्नुपर्ने कुरा बुझिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. समसामयिक मघा श्राद्ध विषयमा रहेका भ्रमहरू चिर्न सफल देखिन्छ । धन्यवाद ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?