महाअष्टमी पर्व, दुर्गा भवानीको पूजा गरिँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नवरात्रको आठौँ दिन आज देशभर माता दूर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । आज दशैंघर र कोतलगायत शक्तिपीठहरूमा बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ ।

आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।

आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।

उपत्यकाभित्रका शक्तिपीठहरू गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरहरूमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानैदेखि भीड लागेको छ ।

उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रैपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायतका शक्तिपीठहरूमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ ।

आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो ।

देवीका शस्त्र अस्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ ।

पशुबलि नचढाउनेहरूले भने आज पूजा कोठामा आ-आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाइ पूजाआजा गर्ने गर्दछन् । आज राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?