राष्ट्रप्रमुखको उपस्थितिमा आज रातो मत्स्येन्द्रनाथको भोटो देखाईंदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा आज (शनिबार) मनाइँदैछ । सबैभन्दा लामो जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत ललितपुरको जावलाखेलमा भोटो देखाउन लागिएको हो ।

ललितपुरको जावालाखेलमा आयोजना गरिने जात्राको राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गर्नुहुनेछ । भोटो देखाउने जात्राका लागि मत्स्येन्द्रनाथको रथलाई लगनखेलस्थित थटिटोलबाट तानेर जावलाखेल पुर्याइएको छ । रथ जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्परा छ ।

मत्स्येन्द्रनाथको जिम्मामा रहेको बहुमूल्य मणिमाणिक, हीरामोती, रत्न आदि जडित भोटो कसको हो भनि राष्ट्र प्रमुखको उपस्थितिमा देखाउने चलन रहिआएको छ ।

जावलाखेलमा भोटो देखाइसकेपछि त्यसै दिन मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखी बोकेर बाजागाजाका साथ बुङ्मतीस्थित उनकै मन्दिरमा पुर्याउने चलन छ ।

मीननाथलाई रथमा नै राखेर तानेर चक्रबहिमा पुर्याएपछि मत्स्येन्द्रनाथको रथ यात्रा समापन हुन्छ ।

लोकोक्ति अनुसार धेरै पहिले एकजना नेवार कृषकले करकोताका नामक देवतासँगबाट उनलाई सहयोग गरेकाले एउटा भोटो उपहार पाएका हुन्छन । एकदिन उनी जावलाखेलमा भोटेजात्रा हेर्नलाई आउँदा कसैले आफ्नो भोटो लगाएको देखेर छक्क पर्दछन् । उक्त भोटो लगाएका मान्छे र कृषक बीच भोटोका विषयमा चर्काचर्की परेपछि स्थानीयले भोटोको वास्तविक मालिक सप्रमाण नआउन्जेलसम्मका लागि भनेर भोटो बुंग द्यः मा राख्ने निर्णय हुन्छ । त्यसपछि आजसम्म उक्त भोटोको कोही वास्तविक मालिक छ भने अगाडि प्रमाण सहित लिन आउन आव्हानका साथ प्रदर्शन गरिने चलन छ ।

बौद्धहरुले करुणामय र सिद्धेश्वरका रुपमा पुज्ने मत्स्येन्द्रनाथको जात्रा भक्तपुरका राजा नरेन्द्रदेव र काठमाडौंका बन्धुदत्तले चलाएको भन्ने गोपाल वंशावलीमा उल्लेख छ ।

यस अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?