संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने होडबाजी

लेखक, कलाकारदेखि विज्ञ र सेलिब्रेटीसम्म चुनावी मैदानमा, पार्टीबाट टिकट नपाएकाहरू पनि स्वतन्त्र उम्मेदवार

डिबी शर्मा
Read Time = 13 mins

काठमाडौं । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । पहिलो हुने निर्वाचन प्रणालीअन्तर्गत आइतबार उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयहरूमा मनोनयन दर्ता गराएका हुन् । दलका मात्रै होइन उल्लेख्य संख्यामा स्वतन्त्र र बागी उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन् । देशभरका विभिन्न क्षेत्रमा दलका उम्मेदवारलाई चुनौती दिँदै स्वतन्त्रहरूले उम्मेदवारी दर्ता गराएका हुन् । गत स्थानीय तह निर्वाचनमा केही पालिकामा स्वतन्त्र उम्मेदवारहरूले शानदार विजय हासिल गरेका थिए । स्थानीय तह निर्वाचनमा स्वतन्त्रले पाएको मतले हौसिएर संघीय निर्वाचनमा पनि धेरैले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनेमा कलाकारदेखि विभिन्न क्षेत्रका विज्ञ र सेलिब्रेटीसमेत छन् ।

काठमाडौं-६ बाट गायक सञ्जय श्रेष्ठले प्रतिनिधिसभा निर्वाचनमा लड्न उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै, काठमाडौं-५ बाट हास्यकलाकार मधुसूधन पाठक ‘सिते बा’ले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । विवेकशील साझा पार्टीकी पूर्वनेतृ रञ्जु दर्शनाले आसन्न चुनावमा काठमाडौं–५ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । काठमाडौं-२ मा प्रतिनिधिसभा निर्वाचनको लागि स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै, काठमाडौं ५ बाट हेमराज थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । काठमाडौं-९ मा सुनिल रिजालले उम्मेदवारी दर्ता गराउनुभएको छ । धादिङ-१ बाट ‘स्ट्याण्डअप कमेडियन’ हिमेश पन्तले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएको हो । त्यस्तै, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराबाट सागर ढकालले मनोनयन दर्ता गर्नुभएको छ । लेखक युग पाठकले झापा-५ मा प्रतिनिधिसभा चुनावका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

चितवन क्षेत्र नम्बर २ मा देविका कुँवरले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । पूर्वसांसद सरिता गिरीले सिरहा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । यीसँगै प्रदेशसभाका लागि पनि विभिन्न क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दर्ता भएका छन् । केहीले भने सम्बन्धित दलले टिकट नदिएपछि पार्टीकै आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् । बागी उम्मेदवारी दर्ता गराउनेमा सबैभन्दा बढी नेपाली कांग्रेसका नेता-कार्यकर्ता छन् ।

कांग्रेसमा सधैँको किचलो, ठाउँठाउँमा स्वतन्त्र उम्मेदवारी
नेपाली कांग्रेसमा सधैँ टिकट वितरणमा किचलो हुन्छ । यसपालि पनि कतिपय आशा गरिएका व्यक्तिले टिकट पाएनन् । विभिन्न विचार समूहमा विभाजित कांग्रेसमा संस्थापन पक्षले इतरसमूहका नेताहरूलाई टिकट दिन कन्जुस्याइँ गरेको छ । टिकट नपाएर असन्तुष्टहरूले पार्टीकै आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यो कांग्रेसमा देखिने पुरानै रोग हो । गत स्थानीय चुनावमा पनि थुप्रै ठाउँमा आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी परेको थियो भने केहीले जितेका समेत थिए । यसपालि पनि ठाउँठाउँमा कांग्रेस नेताहरूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट टिकट नपाएपछि निवर्तमान सांसद अमरेशकुमार सिंह स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । उहाँले सर्लाही क्षेत्र-४ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो । सर्लाही-४ मा कांग्रेसले नागेन्द्र रायलाई उम्मेदवार बनाएको छ । पूर्वसांसद पुष्करनाथ ओझाले प्रतिनिधिसभा सदस्यका लागि कैलाली-५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । अघिल्लो निर्वाचनमा प्रधानमन्त्री पत्नी आरजू राणा देउवालाई असहयोग गरेको भन्दै उहाँलाई कांग्रेसले कारबाही गरेको थियो । कैलाली-५ मा गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त उम्मेदवार हुनुहुन्छ । कांग्रेसका नेता रमेश लेखकविरुद्ध कांग्रेसका दुई नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि कञ्चनपुर–३ मा सत्तारूढ गठबन्धनका उम्मेदवार तथा नेपाली कांग्रेसका नेता लेखकविरुद्ध कांग्रेसकै दुईजना नेताले उम्मेदवारी दिएका हुन् । कांग्रेस महाधिवेशन प्रतिनिधि दीपक सिंह र महाधिवेशन प्रतिनिधि शारदा चन्दले उम्मेदवारी दिनुभएको हो । कांग्रेस जिल्ला कार्यसमिति खोटाङले स्वतन्त्र उमेदवारी दर्ता गराएको छ । गुल्मी-२ मा सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीविरुद्ध कांग्रेस नेता डा. दामोदर भुसालले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । कास्की क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका नेता तथा पूर्व पर्यटन राज्यमन्त्री महादेव गुरुङले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । सिन्धुपाल्चोक-२ मा मोहन बस्नेतविरुद्ध कांग्रेसका बद्री चौलागाईंले उम्मेदवारी दिनुभएको छ । चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

धादिङ क्षेत्र नम्बर २ मा कांग्रेसका पूर्व सभापति रमेश धमलाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । धादिङ २ मा कांग्रेसले वर्तमान सभापति रामनाथ अधिकारीलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसका पूर्व-सहमहामन्त्री गोविन्दराज जोशीले तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उहाँले आइतबार स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो ।

एमालेमा पनि असन्तुष्टिको आगो, ठाउँठाउँमा विद्रोह

टिकट वितरणमा असन्तुष्टहरूको किचलो कांग्रेसमा मात्रै होइन नेकपा एमालेसहितका अन्य दलमा पनि देखिएको छ । एमालेले टिकट नदिएपछि घनश्याम भुसालले एमाले परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । भुसालले रुपन्देही क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेकी केन्द्रीय सदस्य गंगा थारू सत्गौवाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो । एमाले नेता रामवीर मानन्धरले काठमाडौं-७ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको छ । रुपन्देही ५ मा नेकपा एमालेका तर्फबाट दुई जनाको मनोनयन दर्ता भएको छ ।

तिलोत्तमाका पूर्वमेयर बासुदेव घिमिरे र खिमलाल भट्टराईले एमालेबाट मनोनयन दर्ता गराउनुभएको हो । पूर्वमन्त्री प्रभु साहले नेकपा एमालेले दिएको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । उहाँले रौतहटको क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो । एमालेकी सचिव पद्मा अर्यालविरुद्ध एमालेकै नेताले बागी (स्वतन्त्र) उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि स्याङ्जा २ बाट सचिव अर्यालविरुद्ध उहाँकै सचिवालयमा रहेर काम गर्नुभएका कपिलदेव न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवार छनोटको विषयलाई लिएर नेकपा माओवादीमा पनि असन्तुष्टि देखिएको छ । यद्यपि, कांग्रेस-एमालेको तुलनामा स्वतन्त्र उम्मेदवार देखिएका छैनन् ।

बर्दिया-२ र रुपन्देही-५ मा एउटै पार्टीका दुई उम्मेदवार, आधिकारिक को ?
बर्दिया क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट दुई जनाको उम्मेदवारी दर्ता भएको छ । कांग्रेसबाट सञ्जयकुमार गौतम र अरुण सिंह राठोरले उम्मेदवारी दर्ता गराउनुुभएको हो । राठोरलाई सभापति देउवाले सिफारिस गर्नुभएको हो भने गौतमलाई संस्थापनइतर पक्षबाट महामन्त्री गगन थापाले सिफारिस गर्नुभएको बताइएको छ । राठोर र गौतम दुवैले आफू कांग्रेसको आधिकारिक उम्मेदवार भएको दाबी गर्नुभएको छ ।

यस्तै, रुपन्देही क्षेत्र नम्बर ५ मा पनि नेकपा एमालेका तर्फबाट दुई जनाको उम्मेदवारी दर्ता भएको छ । एमालेबाट खिमलाल भट्टराई र वासुदेव घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको हो । घिमिरे तिलोत्तमा नगरपालिकाका पूर्व मेयर हुनुुहुन्छ भने भट्टराई राष्ट्रियसभामा एमाले संसदीय दलका प्रमुख सचेतक रहनुभएको थियो । निर्वाचन कार्यालयले दुवै जनालाई उम्मेदवारी दर्ता भएको निस्सा उपलब्ध गराएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?