पञ्चाग्नि विद्याको सिद्धान्त वेदको मन्त्रभागमा पनि भेटिन्छन् । ब्राहृमणहरू यस विद्याबाट वञ्चित थिए भन्ने कुरो त सिद्ध हुँदैन । वेदका मन्त्र द्रष्टा त क्षत्रीयमात्र थिएनन् धेरैजसो त ब्राहृमण नै थिए । ब्राहृमणहरू आत्मविद्या या आत्मगतिसम्बन्धी विद्यामा अनभिज्ञ थिए या वञ्चित थिए भन्ने कतैबाट पुष्टि मिल्दैन । बृहदारण्यकोपनिषतमा भनिएको यो विद्या यो भन्दा पहिले ब्राहृमणसँग थिएन । यो वस्तुतः कुनै समय विशेषको वर्णन भए पनि शाश्वत् सत्यजस्तो लाग्दैन । हुनसक्छ कुनै यस्तो समय आएको होस् ब्राहृमणले यो विद्याको सिद्धान्त बिर्सियो होला । पितृले वेद बिर्सेर ब्रहृमाका आदेशबाट देवतासित गएर वेद पुनः पढेका थिए भन्ने कुरो पद्मपुराणको सृष्टि खण्डमा वर्णन गरेजस्तै कुनै कालखण्डको कुरो हुनसक्छ ।
कतिपय तर्कले पनि यो कुरो संकेत गरेका छन् । जसरी आजका धेरै ब्राहृमण संस्कृत पढ्दैनन् तर पनि संस्कृत नेपाली ब्राहृमणले जानेकै छैनन् भन्न त मिल्दैन । त्यो एउटा समय विशेषमा जैविली छेत्रीबाट गौतम र गौतमबाट ब्राहृमणवर्गमा प्रचारित भएको होस् । धेरै पहिले त ब्राहृमणबाटै यस विद्याको पनि आविष्कार भएका प्रमाण भेटिन्छन् भन्ने कुरो याज्ञवल्क्यले स्पष्ट गरेका छन् । सुरुसुरुमा त ब्राहृमण र क्षत्रीयका बिचमा पारस्परिक सहयोग रहेको र ब्रहृमविद्याका निमित्त क्षत्रीयले सधैँ ब्राहृमणलाई विश्वास गरेको कुरो सर्वत्र भेटिन्छ । पितृप्राणबाटै देवप्राणको उत्पत्ति भएको हो भन्ने कुरो मैले विगतका शृंखलामा गरेको थिएँ ।
वेद विज्ञानको गम्भीरमात्रै होइन धीरोच्च पुस्तक पनि हो । खास गरेर ऋग्वेदका देवस्तुतिका ऋचा स्वल्पाक्षरमा गम्भीर कुराको संकेत गर्ने गरी व्यवस्था मिलाइएको देखिँदोरहेछ । शीतले गाग्रो भर्ने काम ऋग्वेदमा भएको छ ।
ऋषि र पितृशब्दजस्तै गरी देवशब्द पनि वेदादि शास्त्रमा आउने गरेको भेटिन्छ । मुख्य त देवता प्राण रूपका हुन्छन् । ती प्राण जुनजुन प्राणीमा प्रधान रूपबाट रहेका हुन्छन् ती ती देवता नै कहलिन्छन् । शतपथ ब्राहृमणको काण्ड १४ औंमा भएको कुरो बताइसकेको छु । ती प्राणको जुन प्राणीमा प्रधानता रहेको हुन्छ त्यस्ता सूर्यमण्डल तथा त्यसका समीपवर्ती लोकका प्राणी पनि देव नै भनिन्छन् । ती ताराहरू पनि देव र तिनको विशेष वाचक इन्द्र, वरुण आदि शब्दबाट सम्बोधित हुन्छन् । पञ्चाग्नि विद्या पूरापूर जान्नेलाई मनुष्यदेव भनेर ब्राहृमण ग्रन्थमा भनिएको भेटिन्छ । यसका अतिरिक्त पूर्वयुगमा यो हाम्रो पृथ्वीमा त्रिलोकको कल्पना गरिएको थियो ।
पृथ्वीमा नै स्वर्ग, भूमि, पाताल आदि प्रदेश बनाइएको थियो । शर्यणावर्त पर्वतदेखि उत्तरतिरको सुमेरुसम्म स्वर्ग मानिन्थ्यो र त्यो भूभागका निवासीलाई देव शब्द र त्यसको पनि विशेष सम्मानजनक शब्द इन्द्र, वरुण, यम, कुबेर, अग्नि आदि नामबाट व्यवहार हुने गर्दथ्यो । यिनका विरोधी असुर, राक्षस आदि शब्दबाट सम्बोधित हुन्थे । यिनीहरू बीचमा भएका संग्रामको विशद वर्णन वैदिक साहित्यमा मात्रै होइन पुराणदिमा पनि प्रकार प्रकारले गरेको भेटिन्छ । भारतीय उपमहाद्वीपका शक्तिशाली राजा दशरथ, दुष्यन्त, अर्जुन आदि स्वर्गलोकमा गएर जुन देवका सहायक बने, जससँग विशेष अध्ययन गरे, जसबाट स्वागत सत्कार पाए ती देवताहरू यसै उत्तराखण्डका निवासी थिए ।
यी विषयहरू ऐतिहासिक र प्रागैतिहासिक पनि भइसकेका देखिन्छन् । यसरी सूर्यमण्डलका समीपवर्ती लोकका बासिन्दा जन्मदेखि नै अष्टसिद्धि पाएर इच्छानुसारी रूपमा पृथ्वीमा पनि आउँछन् । जसको विवरण पनि श्रुतिपुराणले प्रकार प्रकारले दिएको भेटिन्छ । सांख्यदर्शनमा पनि तिनको विवरण पाइन्छ । प्राणरूप देवता निरुक्तकारका मतमा मूलतः तीनवटा छन् पृथ्वीको देव अग्नि, अन्तरिक्षको देव वायु, स्वर्ग वा द्युलोको देव सूर्य । सूर्यमण्डलको अधिष्ठाता देवको नाम इन्द्र हो । अरू सबै देवता यिनकै अवशेष मानिन्छन् । यिनको स्तुति चाहिँ वेदका मन्त्रमा आएका छन् र ती विज्ञान गर्भित पनि रहेका देखिन्छन् । प्रथमतः अग्निका प्रधान मन्त्रहरू ऋग्वेदको सुरुमा नै आएको भेटिन्छ ।
अग्निदेव :
वेद विज्ञानको गम्भीरमात्रै होइन धीरोच्च पुस्तक पनि हो । खास गरेर ऋग्वेदका देवस्तुतिका ऋचा स्वल्पाक्षरमा गम्भीर कुराको संकेत गर्ने गरी व्यवस्था मिलाइएको देखिँदोरहेछ । शीतले गाग्रो भर्ने काम ऋग्वेदमा भएको छ । अतः अब ऋग्वेदका ऋचा केलाएर अग्नि, देवता र पितृ निरूपण गर्नेतिर म लाग्छु ।
ॐ अग्निमीले पुरोहितं यज्ञस्य देवमृत्विजम् । होतारं रत्नधातमम् ।।
यो ऋग्वेदको पहिलो मन्त्र हो । ययसमा अग्निको स्तुति गरिएको छ । यसमा अग्निका अनेकौं विशेषण राखेको देखिन्छ । यिनीहरूमध्ये पहिलो विशेषण हो ‘पुरोहितम्’ यसको शब्दार्थ हुन्छ अघिलाउनु या अगाडि सार्नु र अगाडि पार्नु/राख्नु आदि । अग्नि यो नाम वेदमा एकाधिक देवताका लागि उपयोग गरिएको देखिन्छ । पृथ्वीको अग्नि, अन्तरिक्षको विद्युत् रूप अग्नि, द्युलोकमा सूर्य–अग्नि, यी तीनैवटा आगो नै हुन् । ऋग्वेदमा यसै अग्निले नै सबै देवताका निमित्त विज्ञान प्रकट गर्दछ । यजुर्वेदले मध्याग्नि पृथ्वीको आगो र विद्युतलाई समेटेको देखिन्छ भने सामवेदले सूर्यरूप अग्निका सम्बन्धबाट सबै विज्ञान प्रकट गर्न पुगेको देखिन्छ । आरम्भमा नैऋग्वेदले सबै विज्ञान प्रकट गरेको प्रदर्शन गरेको देखिन्छ ।
सामवेदको पनि आरम्भमा अग्निपदै प्रिय भएको देखिन्छ । ऋक्मा अग्निमीले परोहितम थियो भने सामवेदमा चाँहि अग्न आयाहि वीतये हे अग्नि तिमी हाम्रो रक्षा गर्नका लागि आऊ साम वेदको अर्थ हो भने हामी अग्निजस्तो तेजस्वी बनौँ र अग्र भागमा रहौँ ऋग्वेदका अग्निमीलेको अर्थ हो । यी दुईबाट के सिद्ध हुन्छ भने आउने या अगाडि सारिएका अग्निसँग हाम्रो सम्बन्ध छ । अग्निलाई स्तवन गर्छु आदि पनि यसका अर्थ गरिएका भेटिन्छन् । यी दुई मन्त्रको जसरी अर्थ गरे पनि एउटा अग्नि सधैँ हाम्रा अगाडि छ । दोस्रो आउनेवाला छ र त्यससँग पनि हाम्रो प्रगाढ सम्बन्ध छ ।
यी दुवै अग्निमा पनि आपसमा त जन्यजनकभाव सम्बन्ध देखिन्छ । एक अर्काबाट यिनी पैदा हुन्छन् । दुवैको काम चाहिँ भिन्नाभिन्नै छ । मूलमा एकै भए पनि । अब अर्को प्रकारले हेरौँ अग्नि- पुर : अग्रे-हित-स्थापित अग्निलाई अगाडि स्थापन गरेको छु/गरेका छौँ आदि । यसको तात्पर्य के हो भने हाम्रो जे छ त्यो अग्नि नै हो । पुरोहित विशेषणसँग यास्कको भनाइलाई मिलाएर हेरौँ-‘यत्किञ्चिद्दाषर््िटविषयकम्, अग्नि कर्मैव तत्’ जे पनि दृष्टिमा आउँछ ती सबै अग्नि कर्म हुन् । जति पनि पार्थीव पदार्थ छन् ती सबैमा अग्नि व्याप्त छ । अर्को शब्दमा ती सबै अग्नि नै हुन् । अग्निलाई नै भिन्नाभिन्नै पदार्थका रूपमा हाम्रा अगाडि राखेजस्तै त हो ।
यही नै तात्विक रूपको अग्नि हो । उष्णता या दाहशक्ति पनि यसैको एउटा अवस्था हो । त्यही अग्निप्राणले जब एउटा कुनै गतिविशेष धारण गर्दछ अनि उष्णता प्रकट हुन लाग्छ । जसमा अग्नि प्रकट हुन्छ ती सारा वस्तु मौलिक अग्निका रूपमा जान्छन् । फलामपछि फलाम नै भए पनि आग्निको रूप धारण गर्छ गर्छ । यसरी हेर्दा ‘पुरोहितम्’ यो चार अक्षरे विशेषणमा अग्नितात्विक व्यापकतालाई यस प्रकारले समेट्ने वेद विज्ञान हो कि होइन ? भनेर पश्चिमाभक्तसँग विनम्र प्रश्न गर्न मन लाग्छ । एउटा अर्को अग्निसम्बन्धी मन्त्रलाई विश्लेषण गरिहेरौँ त्यसले झनै स्पष्ट पार्छ-
गर्भो अस्योषधीनां गर्भो वनस्पतीनाम् ।
गर्भो विश्वस्य भूतस्याग्ने गर्भो अपामसि (यजु,१२,३७,) ।
हे अग्नि ! तिमी औषधिका गर्भमा छौ, तिमी वनस्पतिका पनि गर्भमा बस्छौ, समग्र भौतिक पदार्थका गर्भमा रहन्छौ । त्यतिमात्रै कहाँ हो र ? तिमी त जलका पनि गर्भमा रहन्छौ । यजुर्वेद पढ्ने पण्डितले यो मन्त्रलाई राम्ररी घोकेका होलान् तर त्यसले भनेका कुराको तत्विक रहस्य खोतलेर पढ्ने पढाउने व्यवस्था खोइ ? व्याख्या र अनुसन्धान खोइ ? यत्तिकै भित्र र बाहिर भनेर संस्कृतका पण्डितले मेरो विरोध गरेका रहेछन् । नेपालका तात्कालिक विश्वविद्यालयका कुलपतिले मलाई नेसंविको उपकुलपति बनाउँदा । नेसंविमा जागिर खानुभित्र र त्यसभन्दा अन्य त्यस्तै संस्थामा आबद्ध रहनु चाहिँ बाहिर हो भने नेसंविका साथीहरूले सोच्ने र बोध गर्ने कुरा हो । अर्को यसभन्दा पनि स्पष्टसँग भन्ने ऋग्वेदको मन्त्रलाई पनि विश्लेषण गरिहेरौँ-
गर्भो यो अपां गर्भो वनानां गर्भश्च स्थातां गर्भश्चरथाम् ।
अद्रौ चिदस्मा अन्तर्दुद्रोणे विशां न विश्वो अमृतः स्वाधीः (ऋक्,१, ७०,२) ।
जुन अग्नि पानीका गर्भमा पनि छ वनस्पतिमा पनि व्याप्त छ सधैँ स्थिर रहने पहाडका पाषाणमा पनि स्थित छ सारा ब्रहृमाण्डकै गर्भमा रहेर लता, वृक्ष, झारपात सारालाई बढाउने, फैलाउनेजस्ता विवद्र्धमान सबै काम यही मौलिक तत्वरूप अग्निले नै गरिरहेको हुन्छ ।
प्रमातुः प्रतरं गुहृयमिच्छन् कुमारो न विरुधः सर्पदुर्वीः ।
शतं न पक्वमविदच्छुचन्त रिरिहृवां सं रिप उपस्थे अन्तः (ऋक् १०।७९।३) ।
पृथ्वीका धेरै लहरामा र तीमध्ये पनि उत्कृष्टतम गुहृय स्थानका मूलमा पुग्ने इच्छा गर्दै अग्नि साना बच्चाजस्तै गरी सर्दछ (बढ्छ) । र, नै त्यो पाकेको फलजस्तै गरी आकाशलाई चुम्बन गर्न गएजस्तो निरस वृक्षलाई पनि पृथिवीका भित्री भागमा रहेको अधो पानी पनि प्राप्त हुन्छ भन्ने सायणचार्यका भाष्यले अर्थ गरेको देखिन्छ । सायणको संकेतअनुसार यसको अर्थ के देखिन्छ भने अग्नि पाकेको फल र सुकेका वृक्षसँग पनि त्यत्तिकै सम्बद्ध हुन्छ जति पृथ्वीका भित्री तहबाट पनि पानी तानेर रस लिरहेको बडेमाको वृक्षसँग पनि सम्बन्धित हुन्छ भन्न खोजेको देखिन्छ । प्राणीका बालकमा बढालुपना पनि अग्निकै कारणले भएको हो भने चट्टानभित्रको पानी पनि अग्निले नै वृक्षलाई उपलब्ध गराउँछ ।
यसमा विचार गर्दा के देखिन्छ भने माथिका मन्त्रको तेस्रो पाउ र चौथो पाउलाई एक बनाउनेबित्तिकै अर्थस्पष्ट हुन्छ । यसो गर्नासाथ अग्नि कुनै न कुनै रूपमा सुकेको रूख, पाकेको फलसँग मात्र सम्बन्धित नभएर पृथिवीभित्रको या चट्टानका अन्तर्गभमा रहेको पानीसँग पनि सम्बद्ध हुन्छ । वृक्ष, लहरा आदिका जरामा जुन पानी हालिन्छ त्यसका रसलाई स्वाभाविक रूपबाट सूर्यका किरणले माथि तान्छन् । आगासँग त्यसको सम्बन्ध पहिले नै भइसकेको हुन्छ । यसै कारण पृथिवीका रसलाई लिएर यो अग्नि पनि माथितिरै सर्दछ । मन्त्रमा आगाको सर्पण स्पष्ट अक्षरमा लेखेको देखिन्छ पनि ।
फलतः माथिका तातापनाले माथिको भाग सुकेर झिक्रो शेष रहन्छ । भित्रबाट रस प्रवाह रोकिएको हुँदैन । यस्तै प्रकारले जति जति रस अधिक तानिन्छ त्यति त्यति वृक्ष, लतादि पनि बढ्दै जान्छन् र परिपुष्ट पनि हुँदै जान्छन् । माथि सर्नाले वृद्धि र तिर्यक प्रसरणले परिपुष्टि (मोटाउँने) हुन्छ । रसको तिर्यक प्रसरणले नै रूखलहराका पात बन्छन् । यी सबै कुरा मूलस्थानीय प्रजापतिमा नै अवलम्बित हुन्छन् जसलाई ऋचामा प्रतरम् उत्कृष्टतम भनिएको छ । त्यो प्रजापतिमा जति र जुन प्रकारको बल हुन्छ उत्ति नै त्यसै प्रकारका वृक्ष लहरा आदिको प्रसरण हुन्छ ।
पृथिवीको रसको रूप कालो छ सूर्योत्तापको रूप परिपाकका कारणले रातो या पँहेलो हुन्छ ‘पिशङ्ग द्रापि प्रतिमुञ्चते कविः’ (ऋक्, ४। ५३ । २) । भनेर यसले स्पष्ट भनेको देखिन्छ । यिनै दुईका मेलबाट लहरा र रूखका पातमा हरियोपना आएको हुन्छ । जब पृथ्वीको रस बोटमा जान बन्द हुन्छ अनि हरियोपन हराएर सूर्योत्तापको पँहेलो रूप शेष रहन्छ । यस बेला ती वृक्षादिका अन्तस्थित अग्निसँग पार्थीव अग्निले सम्बन्ध राख्न बन्द गरिदिन्छ । यही कुरो माथिका ऋचाले बताएको देखिन्छ ।
पृथिवीको रसको रूप कालो छ सूर्योत्तापको रूप परिपाकका कारणले रातो या पहेंलो हुन्छ । यिनै दुईका मेलबाट लहरा र रूखका पातमा हरियोपना आएको हुन्छ । जब पृथ्वीको रस बोटमा जान बन्द हुन्छ अनि हरियोपन हराएर सूर्योत्तापको पहेंलो रूप शेष रहन्छ ।
यो विज्ञान पनि ‘अग्निर्वै शर्माण्यत्रादीनि प्रयच्छति’ भनेर ऐत्तरेय ब्राहृमणको २, ५, ९ अन्नादि सबै पदार्थलाई उत्पन्न गर्ने भनी अग्निको प्रशंसा गरेको भेटिन्छ । शरीर धारी जीवको पनि शरीरको रचनामा, गर्भाशयमा अवस्थित अग्निकै हात रहेको हुन्छ । पृथ्वीमा जेजति कुरा छन् सबै अग्निकर्म या अग्निका नै रूप हुन् । यसै कारण अग्नि नै पुरोहित हो । ऋग्वेदको पहिलो ऋचामा अग्निको दोस्रो विशेषण आएको छ यज्ञस्य देवम् यसको अर्थ हो यज्ञको अधिष्ठाता वा प्रकाशक । प्रत्येक चेतन या अचेतन वस्तुले अरूबाट केही लिन्छ र अरूलाई पनि केही दिन्छ । हामी बसेको पृथ्वीले पनि अन्तरिक्ष र सूर्यबाट धेरै नै केही कुरा लिएको हुन्छ र तिनलाई धेरै कुरा दिने पनि गरेको हुन्छ ।
वेदको मुख्य विज्ञान भनेको नै यही ज्ञान हो । सबै यज्ञको प्रमुख आधारन नै अग्नि हो । यसैबाट हामी लोकान्तरका सामग्री लोकान्तरमा पुर्याउँछौँ र अन्यलोकका वस्तु प्राप्त गर्न सक्छौँ । मौलिक तत्वयुक्त यो अग्नि ताप प्रदायक पनि छ र यौगिक वैश्वानर अग्नि उत्पादक पनि । त्यसै वैश्वानरबाट सबै प्रकारका यज्ञ हुन्छन् । ऐत्तरेय ब्राहृमण भन्छ-‘यदाग्निः प्रवानिव दहति तदस्य वायव्यं रूपम्’ (३, १, ४) आगो गमनशील बनेर जब दाह गर्न लाग्दछ त्यो चाहिँ यसको वायवीय देवतासँगको सम्बन्ध भएका बेलाको रूप मानिन्छ । बेग्लाबेग्लै देवतासँगको सम्बन्धका कारण अग्निका बेग्लाबेग्लै रूपको वर्णन पनि ऋग्वेदमा उपलब्ध छ । यसैले यो यज्ञस्य देवम् भन्ने अग्निको विशेषण चाहिँ विशेष प्रकारको देखिन्छ र यो वैदिकविज्ञानको सारभूत जस्तो पनि रहेको देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच