कलैया गाउँमा खानेपानीको समस्या, धारो छ पानी आउँदैन

हिमालय टाइम्स
Read Time = 5 mins

संजीवकुमार मिश्रा/हिटा
बारा । कलैया उपमहानगरपालिका-१ मा लामो समयदेखि खानेपानीको समस्या देखिएको छ । अरू कुरा नभए पनि केही समयको लागि मिलाउन सकिन्छ तर पानी बिनाको जीवन त कल्पना गर्न सकिँदैन । भोकाएको बेला होस् वा अरू कुनै बेला पानी चाहिन्छ । पानी भएन भने त्यो जीवन कस्तो होला कल्पना गर्दासमेत डर लाग्छ । तर, विगत एकमहिना वा दुई महिनादेखि होइन ६ महिनादेखि खानेपानीको धारा बिग्रेर कलैया उपमहानगरपालिका-१ स्थित कलैया गाउँको चोकको धारा अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।

कलैया गाउँको चोकमा जडान गरिएको खानेपानीको धाराबाट गाउँका ५० घरधुरी लाभान्वित भएका थिए तर विगत ६ महिनादेखि धारा बन्द रहेको छ । धारामा पानी आउन छाडेको छ । हामीले पटकपटक धारा मर्मत गर्न कलैयास्थित खानेपानी संस्थानको कार्यालयमा गुनासो गर्दासमेत कुनै सुनुवाइ नभएको कलैया उपमहानगरपालिका-१ कलैया गाउँका अभयकुमार यादवले जानकारी दिनुभयो ।

धारा त बन्द भयो तर नजिकै रहेको हातेकल समेतमा फोहोर पानी आउने गरेको छ, धेरै वर्ष अगाडि गाडिएको पाइपको पानी खानयोग्य छैन उहाँले भन्नुभयो, ‘धेरै वर्ष अगाडि ५०÷६० फिट मात्र गाडिएको पाइपको पानी पहेँलो आउने गरेको छ । पाइपको वरिपरि फोहोरै फोहोर छन् । बाहिरबाट आएका बटुवाहरूलाई पानी पिउन समस्या छ । यहाँ रहेका ५० घरधुरीका १५० भन्दा बढी मानिसहरू धाराको पानी प्रयोग गर्थे । बाहिरबाट आएका बटुवाहरूलाई मात्र होइन चोकमा सार्वजनिक खानेपानीको व्यवस्था नहुँदा टोलवासीलाई समेत समस्या भएको उहाँले बताउनुभयो ।’

कलैया उपमहानगरपालिका–१ का वडासदस्य मञ्जु देवी रामको घर धारानजिकै रहेको छ । उहाँ दिनहुँ पानीको समस्याबारे वडावासीहरूको गुनासो सुन्ने गर्नुहुन्छ । यादवले भन्नुभयो, ‘तर उहाँले पनि धारा सुचारु गर्ने हाते पाइपको पानीलाई खानयोग्य बनाउन कुनै कदम नचालेको गुनासो गर्नुभयो ।’

सार्वजनिक स्थानमा रहेको धाराको बारेमा कलैया उपमहानगरपालिका-१ का वडाध्यक्ष मोहनबहादुर क्षेत्रीलाई पटकपटक म लगायतका टोलवासीले पटकपटक गुनासो गर्दासमेत कुनै सुनुवाइ नभएको उहाँले आरोप लगाउनुभयो । हाम्रो टोलमा विशेष गरी गरिब र दलितहरूको बसोबास रहेको छ । यो टोलकोे एक ठाउँमा मात्र सार्वजनिक धारा रहेको छ त्यो पनि ६ महिनाभन्दा बढी समयदेखि बन्द रहेको यादवले जानकारी दिनुभयो ।

सार्वजनिक स्थानमा धारा वितरण गर्ने काम रोकिएको नेपाल खानेपानी संस्थान कलैया शाखाका प्रमुख प्रवीण साहले जानकारी दिनुभयो । यदि धारा चाहियो भने वडाले आफ्नो स्वामित्वमा लिनुपर्ने हुन्छ उहाँले भन्नुभयो, ‘अर्थ मन्त्रालयले नै फ्री धारा वितरणमा रोक लगाएको छ । हामी जहाँ पनि धारा दिन तयार छौँ । तर, त्यसको लागि वडा वा नगरपालिकाले सबै प्रक्रिया पूरा गरी स्वामित्वमा लिनुपर्ने उहाँले जानकारी दिनुभयो ।

खानेपानी समस्यासम्बन्धी आफू कहाँ कुनै गुनासो नआएको कलैया उपमहानगरपालिका–१ का वडाध्यक्ष मोहनबहादुर क्षेत्रीले बताउनुभयो । खानेपानीको समस्या चाँडै नै समाधान गरिने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?