प्लास्टिकमुक्त होटल कोठा अभियान घोषणा

Read Time = 6 mins

काठमाडौं । होटलका कोठाहरूमा दैनिकरूपमा प्रयोग हुने प्लास्टिकजन्य वस्तु न्यूनीकरण गर्ने उद्देश्यका साथ होटल संघ नेपाल (हान) ले प्लास्टिकमुक्त होटल कोठा अभियान घोषणा गरेको छ । आगामी दुई वर्षभित्रमा होटल तथा रिसोर्टलाई प्लास्टिकमुक्त गरिने हानले जनाएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उक्त अभियानको घोषणा गर्दै हानकी अध्यक्ष सिर्जना राणाले होटल तथा रिसोर्टमा आउने पर्यटकका लागि कोठामा प्लास्टिकरहित सामान दिने अभियान सुरु भएको बताउनुभयो ।

राणाका अनुसार अब होटलमा पाहुनाका लागि काठ निर्मित ब्रस, काइँयोलगायतका सामान राखिनेछन् । होमस्टे एसोसिएसन नेपालसँगको सहकार्यमा सुरु गरिएको अभियान वातावरण अनुकूल बनाउन प्लास्टिकमुक्त बनाउँदै लैजाने उद्देश्यअनुसार नै सुरु गरिएको र केही ठूला होटलले कार्यान्वयनमा समेत ल्याइसकेको हानका प्रथम उपाध्यक्ष विनायक शाहले बताउनुभयो । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सो अभियानमा काठमाडौं महानगर पनि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

फोहोरको दिगो व्यवस्थापनमा जोड दिँदै उहाँले फोहोर उत्पादन हुने स्थानमै फोहोरको व्यवस्थापन गर्न सकिने बताउनुभयो । फोहोरमा २० देखि ३० प्रतिशत प्लास्टिक नै हुने गरेकाले प्लास्टिकमुक्त अभियानले महानगरको समस्या समाधानमा सघाउ पुग्ने उहाँको भनाइ छ । उपमेयर डंगोलले भन्नुभयो, ‘सकेसम्म घरभित्र हुने फोहोर घरमै सदुपयोग गर्ने वातावरण बनाउन आवश्यक छ । होटल रुमबाट सुरु भएको अभियान अब घरको रुम-रुममा पनि पुर्‍याउनुपर्छ ।’ उहाँले प्लास्टिकको पुनर्प्रयोगमा पनि जोड दिनुपर्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका अध्यक्ष चन्द्र रिजालले होटलमा प्लास्टिकमुक्त अभियानले नेपालको पर्यटनले फड्को मार्ने बताउनुभयो । बोर्डले पनि प्लास्टिकमुक्त अभियानको पहल गर्दै आएको जानकारी गराउँदै उहाँले प्लास्टिकमुक्त अभियानलाई प्रोत्साहित गर्न बोर्डले पनि हानसँग सहकार्य गर्ने बताउनुभयो । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले प्लास्टिकमुक्त अभियानले पर्यटन प्रवद्र्धनका साथै जनस्वास्थ्य र वातावरण संरक्षणमा पनि टेवा पुग्ने भन्दै विभाग पनि सहजीकरणका लागि तयार रहेको बताउनुभयो ।

हानले सदस्य होटलका कोठामा कमभन्दा कम प्लास्टिकजन्य सामान प्रयोग होस् र क्रमशः घटाउँदै दीर्घकालमा सकेसम्म प्लास्टिकजन्य सामग्री प्रयोग नहोस् भन्ने अभियान सुरु गरेको हो । अभियानले नेपाली होटल उद्योग र समग्र राष्ट्रको वातावरण संरक्षणमा सकेको योगदान पुग्ने र गरिमा उचो हुने हानको विश्वास छ । अभियानले कोरोनापछिको पर्यटनलाई तीव्र गतिमा लयमा फर्काउन सहयोग पुग्ने बताइएको छ ।

अभियानको उद्देश्य विश्वलाई नै आक्रान्त बनाउँदै गएको जलवायु परिवर्तनलाई न्यूनीकरण गरी मुलुकको पर्यटन वातावरणमैत्री रहेको विश्वमाझ प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा जोड दिँदै आफ्ना सदस्य होटलको कोठामा प्रयोग हुने प्लास्टिकजन्य वस्तुलाई निरुत्साहित गर्दै हरित पर्यटनलाई बढावा दिने रहेको हानले जनाएको छ ।

एकपटक प्रयोग हुने वा डिस्पोजेबल प्लास्टिक फ्याँक्नुअघि एकपटक मात्र प्रयोग गरिन्छ । जुन वस्तुहरू प्लास्टिकको झोला, स्ट्र, कफी स्टिरर, सोडा र पानीका बोतल र प्याकेजिङलगायतका वस्तुहरू मुख्य रहेका छन् । एक तथ्यांकअनुसार हरेक वर्ष करिब तीन सय मिलियन टन प्लास्टिक उत्पादन हुन्छ भने आधामात्र डिस्पोजेबल हुने देखिन्छ । होटलका कोठामा प्रयोग हुने प्लास्टिकजन्य वस्तुहरूलाई न्यूनीकरण गरी विश्वव्यापीरूपमा हरित आतिथ्यता उद्योगको परिकल्पना गरिएको छ ।

जसलाई निरन्तरता दिन हानले वातावरणीय दिगोपनाका लागि होटलका कोठामा एकल प्रयोग हुने प्लास्टिक वस्तुको विकल्प खोजिएको जनाएको छ । हानले आफ्ना क्षेत्रीय संघका अध्यक्ष र कार्यकारी समितिका सदस्यसँग कार्यशाला आयोजना गर्दै वैकल्पिक उत्पादन प्रदर्शन गरी सचेतना फैलाउने प्रतिबद्धता जनाएको छ । अभियानमा होटल महासंघको पनि साथ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?