सरस्वतीको राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

हिमालय टाइम्स
Read Time = 16 mins

यज्ञराज जोशी/हिटा
पोखरा ।  नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्समा सरस्वती चौधरीले १०० मिटर महिलामा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्नुभएको छ । पोखरा रंगशालामा शनिबार भएको दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले १२.१३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राष्ट्रिय कीर्तिमानी कायम गर्नुभएको हो ।

सरस्वतीले लुम्बिनीकी निशा चौधरीले हिट चरणमा बनाएको कीर्तिमान भंग गर्दै राष्ट्रिय कीर्तिमान कायम गर्नुभयो । यस्तै, निशाले हिट चरणमा १२.१५ सेकेन्डको समय निकाल्नुभएको थियो । यसअघि यस स्पर्धामा देवीमाया पनेरुको नाममा १२.१९ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।

१०० मिटरमा निशाले १२.२२ सेकेन्डको समय निकाल्दै रजत जित्दा आर्मीकी रमिता थारुले १२.९२ सेकेन्डको समय निकाल्दै कास्य पदक जित्नुभयो । त्यसअघि एथलेटिक्सको १०० मिटर महिला दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले हिट चरणमै राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो । निशाले निर्धारित दूरी १२.१५ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाउनुभएको हो ।

१०० मिटर पुरुष दौडमा एपिएफ क्लबका शिवराज पार्कीले स्वर्ण जित्नुभयो । पोखरा रंगशालामा शनिबार बिहान भएको खेलमा पार्कीले १०.५६ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जित्नुभयो । पुरुषतर्फ आर्मीका युवराज विकले १०.५८ सेकेन्डको समय निकाल्दै रजत पदक जित्नुभयो । आर्मीका डिल्ली भण्डारीले १०.७० सेकेन्डसहित कास्य पदक जित्नुभयो ।

यस्तै, एथलेटिक्सको १५ सय मिटर पुरुषमा आर्मीका मुकेश पालले स्वर्ण पदक जित्नुभयो । तीन मिनेट ५१ः२१ सेकेन्डको समय निकाल्दै मुकेशले स्वर्ण जित्नुभएको हो । पुरुषतर्फ एपिएफका अजित यादवले तीन मिनेट ५३ः११ सेकेन्डको समय निकाल्दै रजत जित्नुभयो । कास्य विजेता पुलिसका नागेश्वर अहिरले तीन मिनेट ५६ः५ सेकेन्डको समय निकाल्नुभयो ।

महिलातर्फ एपिएफकी फूलमती रानाले स्वर्ण जित्नुभयो । फूलमतीले चार मिनेट ३८ः१९ सेकेन्डको समय निकाल्नुभयो । आर्मीकी सरस्वती भट्टराईले चार मिनेट ४१ः०० सेकेन्डको समय निकाल्दै रजत र आर्मीकी रेखा लिम्बूले पाँच मिनेट ०३ः८० सेकेन्डको समय निकाल्दै कास्य पदक जित्नुभयो ।

यस्तै, एथलेटिक्सको महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जित्नुभएको छ । पोखरा रंगशालामा शनिबार विभागीय टोली पुलिस क्लबकी राजपुरा पछाईलाई पछि पार्दै सन्तोषीले स्वर्ण पदक जित्नुभयो । सन्तोषीले ३६ मिनेट १२ः३६ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जित्नुभयो ।

रजत विजेता बन्नुभएकी पछाईले ३६ मिनेट २९ः४५ सेकेन्डमा दौड पूरा गर्नुभयो । एपिएफकी पुष्पा भण्डारी तेस्रो स्थानमा रहनुभयो । पुष्पाले ३७ मिनेट ०४ः२ सेकेन्डको समय निकाल्नुभयो ।

यस्तै, एक हजार पाँच सय मिटर दौडको पुरुषतर्फ मुकेश पाल र महिलामा फुलमती रानाले स्वर्ण पदक जित्नुभयो । त्रिभुवन आर्मी क्लबका मुकेशले तीन मिनेट ५२ दशमलब २१ सेकेन्ड समय खर्चंदै स्वर्ण पदक जित्नुभएको हो । सोही स्पर्धामा सशस्त्र प्रहरी बल (एपिएफ) का अजित यादव र नागेश्वर अहिर क्रमश : दोस्रो र तेस्रो हुनुभयो । अजितले तीन मिनेट ५३ दशमलब ११ सेकेन्ड समय लगाउँदै दोस्रो हुनुभयो । नागेश्वरले तीन मिनेट ५६ दशमलब पाँच सेकेन्ड समय खर्चंदै तेस्रो हुनुभयो ।

सोही स्पर्धाको महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ) की फुलमती रानाले त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जित्न सफल हुनुभयो । फुलमतीले चार मिनेट ३८ दशमलब १९ सेकेन्ड समय लगाउँदै पहिलो बन्नुभयो । रजत पदक विजेता सरस्वतीले चार मिनेट ४१ दशमलब ८० सेकेन्ड समय लगाउनुभयो । सोही स्पर्धामा त्रिभुन आर्मी क्लबकी रेखा लिम्बूले कास्य पदक हात पार्नुभयो । उहाँले पाँच मिनेट ०३ दशमलब ८० सेकेन्ड समय खर्चदै तेस्रो स्थानमा रहनुभयो ।

साइक्लिङ
साइक्लिङको महिला डाउन हिलमा त्रिभुवन आर्मी क्लबकी निश्मा श्रेष्ठले स्वर्ण पदक जित्नुभयो । पोखराको ड्यामसाइडनजिक रानीवनको ट्र्याकमा शनिबार भएको स्पर्धामा रेश्माले निर्धारित दूरी दुई मिनेट २३.५८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्नुभएको हो । निश्मा सन् २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की समेत स्वर्णधारी हुनुहुन्छ । महिलातर्फ आर्मीकी उषा खनालले दुई मिनेट ३७.४५ सेकेन्डको समय निकाल्दै रजत जित्नुभयो । कास्य पदक जित्नुभएकी गण्डकीकी जमुना थापाले दुई मिनेट ४०.०९ सेकेन्डको समय निकाल्नुभयो ।

महिला फुटबल
महिला फुटबलतर्फ नेपाल एपिएफ फुटबल क्लबले कर्णाली प्रदेशलाई १६–० को जित हात पा¥यो । एपिएफको जितमा सावित्रा भण्डारीले पाँच गोल गर्नुभयो । उहाँले १८ मिनेटमा नै हृयाट्रिक पूरा गर्नुभएको थियो । एपिएफका लागि थप गोल सरु लिम्बूले हृयाट्रिक गर्दा अनिता केसी र रविना गोलेले दुई–दुई गोल गर्नुभयो । त्यसबाहेक गीता राना, मनमाया लिम्बू, सविता रानामगर र प्रीति राईले पनि एक–एक गोल थप्नुभयो ।

एपिएफले यसअघि पहिलो खेलमा प्रदेश–१ लाई सात–एक ले पराजित गरेको थियो । महिला फुटबलमा आज दोस्रो खेलमा गण्डकी र प्रदेश १ खेल्नेछन् ।

सटपुट
एथलेटिक्सतर्फको सटपुटमा पुलिसकी चन्द्रकला र त्रिभुवन आर्मी क्लबका तिलकले स्वर्ण पदक जित्नुभएको छ । पोखरा रंगशालास्थित एथलेटिक्स ट्याकमा शनिबार भएको महिलातर्फ चन्द्रकलाले १२.४० मिटर दूरी थ्रो गर्दै स्वर्ण जित्नुभयो । लुम्बिनी प्रदेशकी संगीता अधिकारीले १०.८३ मिटर दूरी थ्रो गर्दै रजत जित्नुभयो । पुलिसकी वसन्ती चौधरीले ९.८६ मिटर दूरी थ्रो गर्दै कास्य जित्नुभयो ।
पुरुषतर्फ आर्मीका तिलक विकले १२.८५ मिटर दूरी थ्रो गर्दै स्वर्ण जित्नुभयो । आर्मीकै चित्रबहादुर वलीले १२.६४ मिटर दूरी थ्रो गर्दै रजत तथा बागमती प्रदेशका ललित रावतले ११.९५ मिटर दूरी थ्रो गर्दै कास्य पदक जित्नुभयो ।

पौडी
पौडीमा त्रिभुवन आर्मी क्लबकी डुवाना लामाले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । पोखराको बिरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा आर्मीकी डुवाना लामाले नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो ।

उहाँले २०० मिटर व्यक्तिगत मिड्लेतर्फ गौरिका सिंहले नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको दुई मिनेट ३२ सेकेन्डको समयलाई पछि पार्दै दुई मिनेट ३१.४६ सेकेन्डको नयाँ कीर्तिमान कायम गर्नुभयो ।

यस्तै, नेपाली सेनाका नासिर याहृया हुसेनले आफ्नो नाममा रहेको कीर्तिमानमा सुधार गर्नुभएको छ । नासिरले १५ सय मिटर फ्रिस्टायलमा काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा कायम गरेको १७ मिनेट ४९.९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनेट ५०.२१ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको हो ।

दोस्रो स्थानमा रहेको एनआरएनका आशिष सापकोटाले पनि नासिरले दक्षिण एसियाली खेलकुदमा स्थापित गरेको रेकर्डलाई उछिन्नुभएको छ । सापकोटाले १६ मिनेट ५७.९५ को समयमा दूरी पार गर्नुभएको थियो । उहाँले रजत पदक प्राप्त गर्नुभयो । तेस्रो स्थानमा पुलिसका सुनिलकुमार थापामगर रहनुभयो ।

महिला क्रिकेट
बागमती प्रदेशले महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई ३० रनले हराएको छ । पोखरा रंगशालामा जितका लागि ८९ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी १९.१ ओभरमा ५८ रनमा अलआउट भयो । सिमाना केसीले ३१ बल खेल्दै सर्वाधिक नौ रन बनाउनुभयो । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको बागमती निर्धारित २० ओभरमा ८८ रनमा अलआउट भयो । बागमती प्रदेशका लागि सोनी पाख्रिनले ४१ बलमा दुई चौकासहित सर्वाधिक २१ रन बनाउनुभयो ।

नेपाल एपिएफ क्लब तीन खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । एपिएफले अन्तिम खेल आइतबार सुदूरपश्चिमसँग खेल्नेछ । एपिएफ सेमिफाइनलमा पुगिसकेको छ । बागमती तीन खेलमा दुईमा जित र एकमा हारसहित ४ अंक जोड्दै दोस्रो स्थानमा छ । मधेश ३ खेलमा दुईमा जित र एकमा हारसहित चार अंकका साथ तेस्रो स्थानमा छ ।

आइतबार मधेश प्रदेश र बागमतीबीच प्रतिस्पर्धा हुनेछ । विजयी टोली सेमिफाइनलमा पुग्नेछ । सुदूरपश्चिम तीन खेलमा एकमा जित र दुईमा हारका साथ चौथो स्थानमा छ । गण्डकी भने चारै खेलमा पराजित हुँदै बाहिरियो ।

महिला बास्केटबल
महिला बास्केटबल प्रतियोगितामा प्रदेश-१ विरुद्ध बागमती प्रदेशले जित हासिल गरेको छ । प्रदेश–१ लाई ७५-२४ को अन्तरमा बागमतीले जित हासिल गरेको हो ।

प्रतियोगिताको पहिलो चरणमा बागमतीले १७-६ को अन्तर बनाएको थियो । दोस्रो चरणमा प्रदेश–१ ले कमजोरी खेल प्रदर्शन गर्दा पुनः बागमती प्रदेशले २३–३ को फराकिलो अन्तर बनायो । त्यसपछिको तेस्रो र चौथो चरणमा पनि बागमतीले क्रममाः २२-८ र १३-९ को अन्तर बनायो । प्रतियोगितामा बागमती प्रदेशलाई जित हासिल गराउन विनामणि योञ्जनले १३ अंक जोड्नुभएको थियो ।

महिला हक्की
महिला हक्कीअन्तर्गत शनिबार भएको खेलमा आर्मी विजयी भएको छ । खेलमा आर्मीले ८–० को गोलअन्तरले बागमतीलाई हराएको हो । खेलको पहिलो क्वाटरमा आर्मीकी सुनिता नेगी गोल गर्न सफल हुनुभएको हो । खेलको सुरुवाती १ मिनेटमै सुनिताले गोल गर्नुभएको थियो । त्यस्तै, खेलको १४ मिनेटमा आर्मीकी सीतामाया बलले गोल गर्नुभएको थियो ।

खेलको दोस्रो क्वाटरमा आर्मी लगातार तीन गोल गर्न सफल भएको थियो । खेलको २७ मिनेटमा सरस्वती तामाङ, २८ मिनेटमा सीताकुमारी चौधरी र २९ मिनेटमा डम्बरा भट्टले गोल गर्नुभएको थियो । खेलको तेस्रो क्वाटरमा सुनिता आर्मीका लागि एक गोल गर्न सफल हुनुभएको हो । ४० मिनेटमा सुनिताले गोल गर्दै आर्मीका लागि अंक बढाउनुभएको थियो ।

यस्तै, अन्तिम क्वाटरमा आर्मीले दुई गोल गर्दै ८-० गोल अन्तरले विजयी भयो । ४८ मिनेटमा सरस्वती तामाङ र ५४ मिनेटमा कमला चन्दले एक–एक गोल गर्नुभएको थियो ।

गल्फ
नवौं खेलकुदअन्तर्गत गल्फतर्फ बागमतीलाई तीन स्वर्ण र आर्मीलाई एक स्वर्ण पदक प्राप्त भएको छ । पुरुष एकलतर्फ आर्मीका सुवास तामाङले स्वर्ण जित्दा बागमतीले महिला, पुरुष टिमतर्फ र एकल महिलातर्फ स्वर्ण पदक जितेको हो ।

एनआरएनएका खेलाडीले खेल्न नपाउने
गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटबल टिमका आठ खेलाडीले नवौं राष्ट्रिय खेलकुद खेल्न नपाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले प्रदेश नम्बर १ ले हालेको प्रोटेस्ट सदर गरेपछि एनआरएनएका आठ खेलाडीले खेल्न नपाउने भएका हुन् ।

आठ खेलाडीमा विमल घर्ती मगर, संजोक राई, अनन्त तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, विशाल राई, निशान खड्का, अशोक खवास रहनुभएको छ । प्रदेश १ ले बिहीबार नेपाली राष्ट्रिय खेलाडीहरू समावेश गरेर खेलाएको भन्दै प्रोटेस्ट हालेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?