पाल्पामा निष्पक्ष निर्वाचनका लागि आचारसंहिता

हिमालय टाइम्स
Read Time = 6 mins

रामचन्द्र रायमाझी/हिटा
पाल्पा । स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड मानिन्छ । तर, निर्वाचन परिणाम हरहालतमा आफ्नो पक्षमा पार्ने प्रयास संसारभर नै हुन्छ । धेरै मुलुकमा निर्वाचनको बेला थरीथरीका धाँधली हुन्छन्  । नेपालमा पनि निर्वाचनका बेला केही कुख्यात धाँधलीहरू हुँदै आएका छन् ।

लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाइराख्न आवधिक निर्वाचन अनिवार्य शर्त हो । जनताका लागि, जनताद्वारा, जनताले शासन गर्ने यस्तो व्यवस्थामा उम्मेदवारी दिने वा आफूलाई मन परेको नेता चुन्न पाउने अधिकार हुन्छ । निर्वाचनमा जितहार स्वाभाविक प्रक्रिया नै हो तर जित्नका लागि साम, दाम, दण्ड, भेद सबै प्रकारका हतकण्डा अपनाइन्छ । तर, यस्ता कार्य रोक्नकै लागि निर्वाचन आचारसंहिता जारी गरिएको हुन्छ । आचारसंहिता राजनीतिक दल, उम्मेदवारदेखि सर्वसाधारण सबैलाई लागू हुन्छ । तर, धेरैलाई आचारसंहिताका विषयमा जानकारी नै नभएका कारण निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त हुन सकिरहेको छैन । यसपटक पनि मंसिर ४ गते हुुन लागेको प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ । निर्वाचनलाई निष्पक्षरूपमा सफल बनाउन सुसूचित नागरिकको सहभागिता पनि त्यत्तिकै आवश्यक छ ।

मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको पाल्पा विकास केन्द्रले निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन सबै क्षेत्र र वर्गका नागरिकहरूलाई निर्वाचन आचारसंहिताका विषयमा जानकारी, छलफल र बहस गराउँदै आएको छ । गत स्थानीय तहको निर्वाचनसमेत निष्पक्ष बनाउन महत्वपूूर्ण भूमिका खेलेको विकास केन्द्रले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पनि पाल्पाका राजनीतिक दल, नागरिक समाज, विद्यार्थी, विभिन्न संघसंस्थाका व्यक्ति र पत्रकारहरूलाई छुट्टाछुट्टै राखी निर्वाचन आचारसंहिताका विषयमा जानकारी र सुसूचित गराउँदै आएको हो । केही दिनअघि राजनीतिक दल, नागरिक समाज, विद्यार्थी, विभिन्न संघसंस्थाका व्यक्तिहरूसँग बसेर छलफल तथा अन्तरक्रिया गरेको केन्द्रले जिल्लाका पत्रकारहरूसँग स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय निर्वाचन, मर्यादित र निष्पक्ष रिपोर्टिङसम्बन्धी कार्यशाला गोष्ठी गरेको छ ।

पाल्पा विकास केन्द्र, विजय विकास स्रोत केन्द्र नवलपरासीको आयोजना र पत्रकार महासंघ पाल्पाको सहकार्यमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउने कार्यमा पाल्पा विकास केन्द्रले खेलेको भूमिका महत्वपूूर्ण रहेको बताउनुुभयो । उहाँले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना गर्न, गराउन र नगरेकाहरूलाई खबरदारी गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो । प्रजिअ पन्तले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय ढंगबाट पत्रकारले समाचार सम्प्रेषण गर्नुुपर्नेमा जोड दिनुुभयो । सरकारको चौथो अंग पत्रकार भएकाले निर्वाचनलाई मर्यादित बनाउने दिशामा महत्वपूर्ण भूमिका रहनेमा उहाँले विश्वास व्यक्त गर्नुुभयो ।

प्रजिअ पन्तले जिल्लामा निर्वाचनलाई शान्त र मर्यादित बनाउने कार्यमा आफूहरू सक्रियताका साथ लाग्ने बताउनुुभयो । उहाँले निर्वाचनका लागि आवश्यक तयारी भइरहेको समेत जानकारी गराउनुुभयो । उहाँका अनुसार पाल्पामा ११८ मतदानस्थल र २४६ मतदान केन्द्र रहेका छन् । यहाँ गत निर्वाचनमा भएका १० वटा निर्वाचनस्थल सारिएको प्रजिअ पन्तले बताउनुुभयो । उहाँका अनुुसार जिल्लामा २९ वटा अति संवेदनशील मतदानस्थल रहेका छन् । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले निष्पक्ष निर्वाचनका लागि आचारसंहिता पालना र कार्यान्वयनमा वाचडगका रूपमा काम गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो । उहाँले भन्नुुभयो, ‘पत्रकार आफैंले पनि आचारसंहिताको पालना गर्दै उल्लंघन गर्नेहरूलाई खबरदारी गर्ने काममा भूमिका खेलिदिनुुहोस् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?