मलेसियामाथि नेपालको सहज जित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । घरेलु मैदानमा मंगलबारदेखि सुरु भएको एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियामाथि सहज जित निकाल्दै विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’ मा रहेको नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।

मलेसियाले जितका लागि दिएको २३६ रनको चुनौती नेपालले ३६ दशमलब दुई ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा भीम सार्कीले सर्वाधिक ७१ रनको योगदान दिनुभयो । उहाँले ९८ बल खेल्दै पाँच चौका प्रहार गर्नुभयो ।

त्यस्तै, कुशल मल्लले ४० बलमा पाँच छक्का र पाँच चौका प्रहार गर्दै अविजित ७० रन बनाउनुभयो । साथै कप्तान रोहित पौडेलले ४२, कुशल भुर्तेलले ३८ तथा दीपेन्द्र सिंह ऐरीले अविजित पाँच रन जोड्नुभयो ।

बलिङतर्फ मलेसियाका मोहम्मद वाफिक, रिजवान हैदर, विजयी उन्नी र विरनदीप सिहंले समान एक-एक विकेट लिनुभयो । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३५ रनको योगफल बनायो । मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिनुभयो । ९५ बल खेल्नुभएका उहाँले आठ चौका र एक छक्का प्रहार गर्नुभयो । त्यस्तै, विरन्दीप सिंहले ४६ रन बनाउनुभयो भने मोहम्मद आमिरले १७ रन जोड्नुभयो ।

त्यस्तै, खिजार हृयायातले २२ तथा सैजरुल इद्रुसले २१ रन बनाउनुभयो । विजय उन्नीले १२ रन जोड्नुभयो भने सायद अजिज १३ रन बनाउनुभयो ।

बलिङतर्फ नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन-तीन विकेट लिँदा ललितनारायण राजवंशी दुई तथा गुल्सन झाले एक विकेट झार्नुभयो । यस जितसँगै समूह ‘ए’ मा रहेको घरेलु टोली नेपालले दुई अंक जोडेको छ । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउद अरेविया छन् ।

त्यस्तै, समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई) हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएई र कुवेतबीच खेल हुनेछ भने मूलपानीमा ओमान र कतार आमनेसामने हुनेछन् । खेलमा युवा अलराउण्डर कुशल मल्ल प्लेयर अफ द म्याच चुनिनुभयो ।

आक्रामक ब्याटिङ गर्दै कुशलले २८ बलमा अर्धशतक पूरा गर्नुभएको थियो । चौथो विकेटका लागि कुशल मल्लले भीम सार्कीसँग ११२ रनको सानदार शतकीय साझेदारी गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?