नवौँ राष्ट्रिय खेलकुद : आइटिएफ तेक्वान्दोमा ७४ पदकको टुंगो

हिमालय टाइम्स
Read Time = 2 mins

-डम्मर बुढा मगर

बागलुङ । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत बागलुङमा जारी आइटिएफ तेक्वान्दो प्रतियोगितामा ७४ पदकको टुङ्गो लागेको छ । मंगलबार साँझसम्म भएका खेलमा २५ स्वर्ण, २५ रजत र २४ कास्य पदकको छिनोफानो भएको हो ।

प्रतियोगितामा ११ स्वर्ण, सात रजत र दुई कास्यसहित विभागीय टिम नेपाल आर्मी सबैभन्दा अगाडि छ । प्रतियोगितामा दोस्रो स्थान बनाउँदै गण्डकी प्रदेशले पाँच स्वर्ण, पाँच रजत र एक कास्यपदक जितेको छ । पाँच स्वर्ण, दुई रजत र दुई कास्यपदक लिएर बागमती प्रदेश तेस्रो स्थानमा छ ।

लुम्बिनी प्रदेशले एक स्वर्ण, चार रजत र आठ कास्यपदक हासिल गरेको छ। प्रदेश नं १ ले दुई स्वर्ण, तीन रजत र तीन कास्यपदक जितेको छ । विभागीय टिम सशस्त्र प्रहरी बलले पदक तालिकामा एक स्वर्ण, दुई रजत र तीन कास्यपदक बनाएको छ ।

कर्णाली प्रदेशले दुई रजत र दुई कास्य जित्दा विभागीय टिम नेपाल पुलिसले तीन कास्य पदक हात पारेको छ । मधेस र सुदूरपश्चिम प्रदेशले अहिलेसम्म कुनै पनि पदक जित्न सकेको छैन ।

प्रतियोगिताका मिडिया संयोजक पुकार केसीका अनुसार मंगलबार भएका खेलमा नेपाल आर्मीले चार, गण्डकीले दुई, १ नम्बर प्रदेशले दुई, सशत्र प्रहरी बल र लुम्बिनी प्रदेशले एक/एक स्वर्ण जितेका थिए ।

प्रतियोगिताका पुरुष एकल स्पाइरिङ र पुरुष/महिला टिम स्पाइरिङका खेल बुधबार बिहानदेखि खेलाइने आइटिएफ नेपालका महासचिव अञ्जु रावतले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?