आगामी निर्वाचन हाम्रा लागि जीवन-मरणको सवाल होः प्रचण्ड

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ४ मंसिरमा हुने चुनाव सामान्य भोट हाल्ने चुनाव मात्र नभएर प्राप्त उपलब्धिको रक्षा र त्यो उल्ट्याउन चाहने शक्तिबीचको लडाइँ भएको बताउनु भएकाे छ ।

प्रेस सेन्टर ललितपुरले प्रकाशन गरेको बेपत्ता पत्रकार मिलन नेपालीको सम्झनाको मिलन स्मारिका विमोचनका क्रममा बुधबार बिहान उहाँले आगामी निर्वाचन आफूहरूका लागि मात्र नभएर नेपाली जनताकै जीवन-मरणको सवाल भएको बताउनुभयाे ।

‘४ मंसिरमा दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धाराको बीचमा ब्याटल हुँदै छ वास्तवमा । यो संविधान र परिवर्तनलाई उल्ट्याउन चाहने र यसलाई रक्षा गर्दै अझ अगाडि बढ्न चाहने दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धारा जे भने पनि दुइटा शक्ति आमनेसामने छन्’, अध्यक्ष प्रचण्डले भन्नुभयाे ।

आगामी निर्वाचनलाई आफूलाई सामान्य निर्वाचनका रूपमा मात्र लिने छुट नभएको उहाँले स्पष्ट पार्नुभयाे । प्रचण्डले चुनाव जनक्रान्ति र जनयुद्धका उपलब्धि रक्षा गर्ने त्यो उल्ट्याउन खोज्नेबीचको लडाइँ जस्तो भएको उल्लेख गर्नुभयाे । माओवादीसँग हिजो जस्तो फौज नभएकाले शान्तिपूर्ण प्रतिस्पर्धाबाटै आफ्नो श्रेष्ठता साबित गर्नुपर्ने चुनौती रहेको उहाँको भनाइ थियो ।

‘हामीसँग हिजोको जस्तो फौज त छैन । हामी शान्तिपूर्ण प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता साबित गर्ने चरणमा छौं’, अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘समाजवादको उद्देश्य प्राप्तिका निम्ति नयाँ तरिकाको बाटो कोर्दै छौं ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?