किन हुन्छ महिला हिंसा ?

Read Time = 15 mins

✍️ सावित्री जंगम थापा

महिला हिंसाविरुद्धको १६ दिने अभियानलाई नेपाली जनताले विशेषगरी नेपाली महिलाले विभिन्न सूचनामूलक, दबबामूलक तथा चेतनामूलक कार्यक्रम सञ्चालन गरेर मनाए । महिला हिंसाविरुद्धको १६ दिने कार्यक्रमलाई नेपालले विगत अढाई दशकअघिदेखि मनाउँदै आएको हो । हुन त महिला समानतर अधिकारका लागि विश्वका विकसशील राष्ट्रहरूले सन् १९१० देखि सुरु गरेको अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस (आठ मार्चको दिन)लाई नारी दिवसको रूपमा नेपाली महिलाहरूले पाँच दशकअघिदेखि मनाउँदै आएका हुन् ।

अन्तर्राष्ट्रियस्तरमा मनाइने यस्तै प्रकारका विविध कार्यक्रमले गर्दा महिला अधिकार, समानता र सशक्तीकरणका लागि अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरमा धेरै सकारात्मक तथा सुधारात्मक प्रयास नभएका होइनन् । सोही सन्दर्भमा सन् १९४६ मा नै संयुक्त राष्ट्र संघले ‘UN Commission on the status of women’ नामक एक उच्चस्तरीय निकाय स्थापना गर्‍यो । सो आयोगको तत्वावधानमा चारवटा महत्वपूर्ण विश्व महिला सम्मेलनहरू सम्पन्न भए । ती विश्व सम्मेलनले महिलाहरूको हकअधिकार, समानता र सशक्तीकरणका लागि विश्व घोषणा पत्रहरू पारित गरेका छन् । जसले गर्दा संयुक्त राष्ट्र संघ सम्पूर्ण सदस्य राष्ट्रहरूले ती घोषणापत्रप्रति आफ्नो प्रतिबद्धता जनाउँदै तदानुरूप आफ्नो देशमा सोही अनुसारको नीति, नियम, योजना तथा कार्यान्वयन गर्ने गराउने प्रयास गर्दै आएका छन् । महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने सम्बन्धी घोषणापत्रमा पनि नेपालले आफ्नो प्रतिबद्धता जनाई त्यसको कार्यान्वयनका लागि प्रयासरत छ । यसै सन्दर्भमा महिलामाथि हुने हिंसाको न्यूनीकरण तथा अन्त्य गर्ने उद्देश्यबाट प्रेरित भई विसं २०४९ सालमा नेपालमा कार्यरत महिलासम्बन्धी सामाजिक संघसंस्था, जसको संख्या त्यसबेला ९३ थियो । महिला नेतृ स्व.साहना प्रधानको संयोजकत्वमा महिला सुरक्षा दबाबसमूहको गठन भयो । उक्त समूहले महिला हिंसा रोकथामका लागि प्रचलित कानुनमा सुधार तथा संशोधन र नयाँ कानुन निर्माणका लागि सरकारलाई आवश्यक सुझाव तथा दबबा दिएकै कारणबाट केही नयाँ कानुन नबनेका होइनन् । महिला सुरक्षा दबाब समूहले महिला हिंसा रोक्न, त्यसको न्यूनीकरण गर्दै जाने उद्देश्यले विगत तीन दशकदेखि विभिन्न प्रकारबाट विरोध ¥याली, धर्ना, प्रदर्शन तथा दबबामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । महिलासम्बन्धी अन्य संघसंस्था यसतर्फ सक्रियताका साथ क्रियाशील रहँदै आएका छन् । यति ठूलो प्रयासका बाबजुद नेपालमा महिला हिंसाका घटना कम हुनुको सट्टा झन्झन् बढ्दै गएको देखिन्छ । पछिल्ला समयमा आएर महिला बलात्कार, विशेषगरी नाबालिकामाथि हुने बलात्कारका घटना बढ्दै जानु देशका लागि ठूलो शरम र दुःखको विषय बन्न पुगको छ ।

परपीडा नै हिंसा हो । एकले अर्कोलाई जुनसकै प्रकारले उसलाई शारीरिक, मानसिक तथा भावनामा चोट पुर्‍याउनु पनि हिंसा नै हो । समयको परिवर्तनसँगै हिंसाको स्वरूप, प्रक्रियामा परिवर्तन आएको पाइन्छ ।

विश्व शान्तिका सम्वाहक भगवान गौतम बुद्धले अहिंसालाई बढी महत्व दिनुभएको छ । गौतम बुद्ध जन्मेको देशमा हिंसा बढ्नु र विशेषगरी महिला हिंसाको बढोक्तरी हुँदै जानु धेरै लज्जा र दुःखको कुरो हो । परपीडा नै हिंसा हो । एकले अर्कोलाई जुनसकै प्रकारले उसलाई शारीरिक, मानसिक तथा भावनामा चोट पुर्‍याउनु पनि हिंसा नै हो । समयको परिवर्तनसँगै हिंसाको स्वरूप, प्रक्रियामा परिवर्तन आएको पाइन्छ । तर, त्यसको प्रवृत्तिमा भने खास परिवर्तन आएको देखिँदैन । महिलामाथि हुने हिंसा सर्वव्यापक र सर्वकालीन समस्याको रूपमा रहँदै आएको छ । परिवारभित्र होस् या बाहिर महिलाहरू प्रायः पुरुष वा अन्य व्यक्तिको हिंसाबाट पीडित बन्दै आएका छन् । महिला हिंसाको बढ्दो प्रकृतिले गर्दा आज यो विषय विश्वभर बढी चिन्ता र सरोकारको विषय बन्न पुगेको छ ।

जहाँ विभेद, असमानता हुन्छ त्यहाँ हिंसा हुने गर्दछ । बलियोले निर्धोलाई, धनीले गरिबलाई र शक्तिशालीले शक्तिहीनमाथि थिचोमिचो गर्ने, देखाउने, हैकम चालाउने र नियन्त्रणमा राख्ने परम्परागत प्रक्रिया चल्दै आएको हो । मत्स्यन्यायको सिद्धान्त अनुसार ठूलोले सानोलाई, बलियोले कमजोरलाई आफ्नो नियन्त्रणमा लिने प्रवृति स्वभाविक रूपले सृष्टिको प्रारम्भकालदेखि चलनचल्तीमा रहँदै आएको देखिन्छ । विभिन्न उद्देश्यले एक व्यक्तिले अर्को व्यक्तिलाई हिंसा गरेको हुन्छ । जस्तै कसैले आफ्नो बल प्रयोग गरी अर्कोलाई शारीरिक चोट पुर्‍याएको हुन्छ भने कसैले आफ्नो धनको सान देखाएर गरिबको शोषण गरिरहेको हुन्छ । कसैले आफ्नो यौनवासना मेटाउन कुनै महिलामाथि जबरजस्ती बलात्कार गरेको हुन्छ । हुन त सबै जीमात्माहरू आ-आफ्नो छुट्टै स्वतन्त्र अस्तित्व र पहिचान लिएर जन्मिएको हुन्छ । तर, शारीरिक रूपले स्त्रीभन्दा पुरुष बढी सवल हुने भएकाले बलियोले कमजोरमाथि हमला वा अधिपत्य जमाउने प्रवृति रहेको हो । बलियाले कमजोर व्यक्तिको संरक्षण गर्नुपर्ने प्रावधान अनुरूप पुरुषले महिलालाई संरक्षण गर्ने नाममा आफ्नो नियन्त्रणभित्र राख्ने व्यवस्था रहेको देखिन्छ । यसले गर्दा महिला सधैं पुरुषको नियन्त्रणभित्र रहने प्रवृतिले गर्दा महिलामाथि पुरुषको अधिपत्य स्थापित हुँदै आएको हो ।

लैगिंक समानताको अवधारणाले व्यापक रूपमा स्थापित हुने अवसर पाइसक्दा पनि पुरुष प्रधान मानसिकताले बलियो जरा गाँडेको समाजमा पुरुषले महिलालाई आफू समान अस्तित्व भएको बोध गर्न सकेको छैन । महिला समानता, समान सहभागिता जस्ता कुरा प्रत्येक देशले स्वीकार गरेको र देशको शक्ति संरचना तथा निर्णायक तहमा महिलाको समान सहभागिताको लागि प्रयास गर्दा गर्दै अझै महिला पुरुषको दाँजोमा पुग्न सकेका छैनन् । यसका लागि पुरुष प्रधान मानसिकता नै पहिलो कारक तत्व बनेको छ । यसमा परम्परागत सोच, अन्धविश्वास, अशिक्षा, अज्ञानता, बेरोजगारी र गरिबी पनि महिला हिंसाका कारक तत्व मान्न सकिन्छ । हिंसाबाट प्रभावित बन्न पुगेका महिलाले आफ्नो अस्तित्व, अधिकार तथा समानताको संरक्षणका लागि आवाज उठाउन नसक्नु पनि महिला हिंसा बढ्नुको कारण बन्न गएको देखिन्छ ।

महिला हिंसाको बढ्दो प्रकृतिले गर्दा महिलाको मानव अधिकारको मात्र हनन् भएको छैन परन्तु यसले महिलाको समानता, सहभागिता र स्वाभिमानमा ‘कू’प्रभाव परेको छ । महिला हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरमा ठूला प्रयास नभएका होइनन् । नीति, नियम, कानुन र कार्यान्वयनले मात्र समाजमा बलियो जरा हालेको पुरुष प्रधान मानसिकता र तदनरूप बनाइएका समाजिक मूल्य मान्यता, संस्कार सजिलैसँगै हट्न सक्दैनन् । त्यसका लागि मानिसमा समाजका सबै व्यक्तिहरूको छुट्टै पहिचान, स्वअस्तित्व र स्वाभिमान हुन्छ भन्ने ज्ञान, चेतना हुनु आवश्यक छ । साथै सबै व्यक्तिहरूमा आफ्नो कर्तव्य, अधिकार, स्वाभिमानको ज्ञान र चेतनाको प्रदुर्भाव हुन जरुरी छ । यसका लागि हामी सबैमा सकारात्मक सोंच र समभावको अभ्यूदय हुन आवश्यक छ । आत्मबोध विना सत्य, तथ्य कुराको ज्ञान हुन सक्दैन ।

नेपाली समाजमा महिलाको स्थितिमा विगत केही दशकअघिदेखि सकारात्मक परिवर्तन आएको देखिए पनि महिलामाथि हुने विभेद र हिंसाका शृंखलामा भने ठूलो परिवर्तन आएको देखिँदैन विश्वका प्रयाः सबै देशहरूमा महिला हिंसाको प्रक्रिया भने भिन्न-भिन्न देखा पर्दछ । तर, हिंसाबाट पीडित महिलाहरूको पीडा र मानसिक अवस्था भने उस्तै हुन्छन् ।

शताब्दियौंअघिदेखि विश्वका विकसित राष्ट्रका महिलाहरूले महिला हिंसाविरुद्ध, महिला अधिकार, समानताका लागि आवाज उठाउँदै, संघर्ष गर्दै, आफ्नो ज्यानको बाजीसमेत लगाउँदै आएका हुन् । त्यसको फलस्वरूप संसारका अधिकांश देशहरूमा महिला हिंसा रोक्नका लागि आवश्यक नीति नियम कानुन बन्ने तथा कार्यान्वायनमा आउने गरेका छन् । यति हुँदा हुँदै पनि महिलामाथि हुने हिंसाको रोकथाम र अन्त्य हुन सकेको छैन ।

पुरुष प्रधान मानसिकतालाई विस्तारै हटाउँदै र महिलाप्रतिको सामाजिक अवधारणा विशेषगरी पुरुषहरूको सोचमा सकारात्मक परिर्वन आउनु जरुरी छ । यस विषयमा स्वयं पुरुषवर्गले चिन्तन, मनन् गरी महिला–पुरुषबीचको सहअस्तित्वलाई स्वीकार गर्ने प्रयास गर्नु आवश्यक छ ।

महिला हिंसालाई पारिवारिक विषय मान्दै त्यसलाई अनदेखा गर्ने, पारिवारिक विषय बनाएर त्यसलाई पीडित पक्षले सो घटनालाई बाहिर ल्याउन नचाहने अथवा बाहिर ल्याउन नसकेकै कारणले महिला हिंसाको प्रवृक्ति घटना नसकेको देखिन्छ । महिलामाथि हुने र गरिने सबै प्रकारका हिंसा जघन्य अपराध हुन भन्ने कुरोमा सबैपक्ष सचेत हुन आवश्यक छ । पुरुष प्रधान मानसिकतालाई विस्तारै हटाउँदै र महिलाप्रतिको सामाजिक अवधारणा, विशेषगरी पुरुषहरूको सोचमा सकारात्मक परिर्वन आउनु जरुरी छ । यस विषयमा स्वयं पुरुषवर्गले चिन्तन, मनन गरी महिला-पुरुषबीचको सहअस्तित्वलाई स्वीकार गर्ने प्रयास गर्नु आवश्यक छ । समाजभित्र सबै व्यक्तिको मानव अधिकारको सुरक्षा र प्रतिस्थापन हुनपर्छ भन्ने चेतनाको अभिवृद्धि हुन आवश्यक छ ।

वर्तमान नेपाली समाजमा अध्यात्मपक्ष कमजोर र उपेक्षित बन्न पुगेको छ । जसले गर्दा मानिसहरूमा ज्ञान, कतव्र्य र विवेकको कमी रहेको पाइन्छ । ज्ञान र विवेकहिन व्यक्ति पशु समान हुन्छ भन्ने भनाइ छ । हुन पनि हो ज्ञान र विवेकको अभावमा मानिसले सत्य, असत्य, ठीक बेठिक कुरालाई छुट्याउन सक्दैन । त्यस्तो व्यक्तिबाटै हिंसा हुन सक्दछ । ज्ञान र विवेक नभएको व्यक्ति आफ्नो कर्तव्यप्रति सचेत हुँदैन । अध्यात्म, भौतिक ज्ञानको सन्तुलित प्रयोग, अनुशरणबाटै शान्त, स्वास्थ्य र समृद्ध समाजको विकास हुन सक्दछ । महिला हिंसा अन्त्य गर्न सबै मानिसको हृदयमा ज्ञान, चेतना र विवेकको प्रकाश ल्याउन हामीले अध्यात्मतर्फ उन्मुख हुनुवाहेक प्रभावकारी उपाय अर्को कुनै हुन सक्दैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?