कुम्हालेहरूलाई पेसा जोगाउन समस्या

हिमालय टाइम्स
Read Time = 4 mins

संजीवकुमार मिश्रा
बारा । कुम्हालेहरूलाई आफनो पेसा जोगाउन समस्या भएको छ । कलैैया उपमहानगरपालिका-६ पर्साटोल घर हुनुभएका ५९ वर्षीय बहादुर पण्डितले बजारसँग प्रतिस्पर्र्धा गर्न नसकी पेशा जोगाउनै समस्या भएको बताउनुभयो । बजारमा आएको प्लाष्टिकका भाडाकुँडाले हाम्रो पेशा नै धरापमा पारेको उहाँले जानकारी दिनुभयो । चाइनिज समानहरूले बजार लिएपछि आफूहरूको पेसा नै जोखिममा परेको उहाँले बताउनुभयो ।

पहिला पहिला मानिसहरू प्लाष्टिकका भाडाकुँडालाई अशुद्ध मान्दथे र माटोको भाँडा मात्र प्रयोग गर्ने गर्थे । तर, अहिले आएर पटकपटक प्रयोग गर्न सकिने भनेर मानिसहरू माटोभन्दा प्लाष्टिकको भाँडातर्फ आकर्षित भएको भएकाले हाम्रो व्यवसाय नै धरापमा परेको उहाँले जानकारी दिनुभयो । प्लाष्टिकको भाँडोभन्दा शुद्ध र वातावरणको दृष्टिकोणले समेत माटोको भाडो राम्रो भए पनि पहिलाको भन्दा अहिले कमाइ कम र लगानी बढी भएको पण्डितले जानकारी दिनुभयो ।

पहिला सितैमा पाउने माटो पनि अहिले किन्नु पर्ने बाध्यता छ, उहाँले भन्नुभयो, ‘अहिले एक टेलर माटोको एक हजार रुपैयाँ तिर्नुपर्छ । त्यसैगरि पहिला चार सयमा पाउने दाउरा अहिले एक हजार पाँच सयदेखि दुई हजारसम्म पर्छ । दु्ई सयमा पाउने गुईठा अहिले एक हजार भन्दा बढी पर्छ । लगानी धेरै हुन्छ तर कमाइ कम भएको कारण पेशा जोगाउन गाह्रो भएको उहाँले बताउनुभयो ।’

अहिले त यो पेशाबाट जेनतेन गरि नून तेल र तरकारी मात्र पुग्छ । त्योबाहेक त माटोको भाडो बनाएर केही गर्न सकिएको छैन । पहिला पहिला कमाई राम्रो हुन्थ्यो र आफनो कमाइले नै केही जग्गा पनि जोडेको उहाँले बताउनुभयो । यही पेसाबाट छोरा छोरीलाई पनि पढाइयो तर अब यो पेसा गरेर जीवन धान्न धेरै गाह्रो भएको छ, उहाँले भन्नुभयो, ‘माटोको भाडो तयार गर्न माटो मुछ्नेदेखि लिएर बनाउने सुकाउने र आगोमा पकाएर तयार गर्न १५ दिन लाग्छ । गर्मी याममा माटोको भाँडो तयार गर्न सजिलो हुने तर जाडोको बेला माटोको भाँडा बनाएर बजारसम्म पु¥याउन महिनौ लाग्छ । श्रमअनुसार पैसा नपाएर हाम्रा सन्ततिहरूले पेसा छोड्दै गए । अब यो पेसा हामी बुढापाकाले मात्र जोगाएका छौँ । अहिले माटोको भाँडो लिएर बजारमा दिनभरि बस्दा पनि दुई सयदेखि पाँच सयसम्म कमाइ हुने गरेको उहाँले बताउनुभयो ।’

बिहाबारीको समयमा बिक्री बढ्छ र कमाइ पनि राम्रो हुन्छ तर त्यो क्षणिक मात्र हुन्छ । त्यसैले केही दिन कमाएर यो पेसाबाट जीवन धाउन गाह्रो हुने गरेको उहाँले दुःखेसो पोख्नुभयो । बजारमा आएको प्लाष्टिकको भाडा सस्तो र टिकाउ हुने भएको कारण माटाका भाँडा मान्छेले किन्नै छाडेको उहाँले जानकारी दिनुभयो । कुम्हालेहरूको पेशा पौराणिक भएर नै यो लोप हुने अवस्थामा पुगेको हो । समय सापेक्ष यसमा परिवर्तन र परिमार्जन हुन नसकेर नै पेसा नै समाप्त हुने अवस्थामा पुगेको उहाँले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?